पथ र मति भ्रष्ट नेपालका राजनीतिक दलहरू

लेख

नेपाली जनतालाई अहिले ‘न्याउरी मारी पछुतो’ भएको छ । नेपालका राजनीतिक दलहरूले फैलाएको भ्रमको सिकार सबै नेपाली जनता भएका छन्् । नेपाली जनताले राजनीतिक दलहरूले चलाएको कूप्रचारमाथि विश्वास गरी सबैले राजतन्त्रको साथ छोडी दलहरूलाई साथ दिएका थिए । नेपालबाट राजतन्त्र त गयो, तर नेपालमा दलहरूले भने अनुसारको लोकतन्त्र कहिले आएन । नेपाल सदाकालको लागि दलहरूले षडयन्त्र गरी बनाएका अस्थिर र बिलासी अनेक सरकारहरूको चपेटामा लगातार पर्दै गयो । फलस्वरुप नेपाल राष्ट्र दलहरूले भनेको जस्तो कहिले समृद्ध भएन र नेपाली जनता पनि कहिले सुखी भएनन् । नेपाली जनता दलहरूको कारण सदाबहार अन्योलता र नैराष्यताको सिकार बन्दै रह्यो । ‘१२ वर्षमा खोला पनि फर्किन्छ’ भन्ने नेपाली जनतालाई विश्वास भएको हुँदा धर्यतापूर्वक दलहरूको गतिमति फर्किन्छ कि भनेर एक वर्ष होइन, दुई वर्ष होइन, लगातार ३० वर्ष पर्खेका छन् । तर, दलहरूको आचरणमा कुनै फरक आएको छैन । उनीहरू झन्झन् भ्रष्ट र अपराधी प्रवृत्तिका बन्दै गएका छन् । दलहरूले नेपालको विकास गर्न सकेन र नेपाली जनतालाई पनि खुसी बनाउन सकेन भनी नेपाली जनतालाई कुनै पछुतो छैन । पछुतो नेपाली जनतालाई दलहरूको बहकाउमा आएर नेपाल राष्ट्र र नेपाली जनताको सदासर्वदा हित चाहने राजतन्त्रलाई फाल्न दलहरूलाई सहयोग गरेकोमा भएको छ । अखिर विगत ३० वर्षको दौरानमा दलहरूले राजतन्त्रविरुद्ध लगाएका सबै आरोपहरू असत्य थिए भन्ने कुरा नेपाली जनताले राम्रैसित बुझिसकेका छन् । बितेको ३० वर्षको दौरानमा दलहरू के हुन् भन्ने कुरा पनि नेपाली जनताले राम्रैसित बुझ्न पाएका छन् । बुझ्दै जाँदा दलहरू र दलहरूले ल्याएको संसदीय व्यवस्था अरु केही नभएर ‘अलीबाबा चालिस चोरको संगठन’ झै देखिएका छन् । नेपालको राजनीतिक दलहरूलाई नेपाली जनताको हित हुने खालको राम्रो काम गर्नको लागि कुनै चेतना नै छैन त्यसैले नराम्रो कामहरू पनि दलहरूले नगरे हुन्थो भन्ने नेपाली जनताले चाहना राखेका छन् । तर, उल्टै नेपालका राजनीतिक दलहरू बेलगाम घोडाले झै एकपछि अर्को अपराधहरू र भ्रष्टाचारहरूको शृंखला बनाउदै अगाडि बढेको बढेकै छन् । दलहरूले ल्याएको लोकतन्त्र अहिले लुटतन्त्रमा रुपान्तरण भइसकेको छ । दलहरूले नेपाल राष्ट्रको हित नहेरी नेपालको आयस्रोतहरूले नै धान्न नसक्ने गरी महँगो राजनीतिक संरचना तयार पारी लागू गरेका छन् । यसको मुख्य उद्देश्य आफ्ना सबै राजनीतिक कार्यकर्ताहरूलाई रोजगारी दिलाउनु नै रहेको देखिन्छ । नेपालमा उत्पादन औद्योगहरू खोल्दै आत्मनिर्भर मुलुक बनाउन बिस्तारै, तर निरन्तर लागेका राजतन्त्रलाई फालेर बाँदरजस्ता दलहरूलाई सत्ता बुझाएपछि नेपाली जनताको भागमा हड्डी नै हड्डी परेको छ भने मासु जति दलहरूले छानी छानी आफ्नो भागमा पारेका छन् । दलहरूको मनमा नेपाली जनतालाई बेरोजगार बनाएर पनि शान्ति भएको छैन त्यसैले दलहरूले वैदेशिक रोजगार नीति ल्याएर आफ्ना राष्ट्रद्रोही कामहरूको विरोध गर्ने सबै सक्षम नेपालीहरूलाई छानीछानी विदेशीको पाउ मोल्न र दुःख गरी कमाएको पैसा यता नेपालमा दलहरूको भोगविलासको लागि पठाउन बाध्य पारेका छन् । एउटा ढुंगाले दुईटा चराहरू कसरी मार्ने भन्ने कुरा सबैले नेपालका राजनीतिक दलहरूबाट सिक्नु पर्छ । नेपालमा अब उद्योग विकास गर्ने टन्टा दलहरूले लिँदैन किनकि त्यसो गरेमा नेपाली जनताले नेपालमा नै रोजगारी पाउँछन् र विदेशी आयात व्यापार घटेर नेपाल चाँडै आत्मनिर्भर मुलुक पनि बन्न सक्छ । नेपाल राष्ट्र आत्मनिर्भर मुलुक भएमा र सबै सक्षम नेपाली जनताले नेपालमा नै रोजगारी पाएमा दलहरूको मनपरीतन्त्रको सत्ता पनि टिक्ने छैन । अहिलेको जस्तो मोज पनि दलहरूले गर्न पाउने छैन । विदेशीको ऋण अनुदान सहयोगदेखि लिएर विदेशीको सेवा गरी नेपाली युवाहरूले कमाएर पठाएको विप्रेशन समेतमा दलहरूकै हलीमुहाली चल्दै आएको छ । यतिसम्म दलहरूले गरेको अत्याचार नेपाली जनताले सहेका नै छन्, तर अब नाकभन्दा माथि पानी जान थालेकाले नेपाली जनतालाई सास फेर्ननै कठिन हुन थालेको छ । दलहरूले नेपालको सरकारी घरजग्गाहरू, मठ मन्दिरहरूको घरजग्गाहरू, पुरानो इतिहासिक दरबारहरू र त्यसको परिसरभित्रका घरजग्गा सबै कौडीको भाउमा नाफाखोर दलाल माफिया तस्कर व्यवसायीहरू र व्यापारीहरूको हातमा बेचेर खान थालेका छन् । हालै घटेको नारायणहिटी राजदरबारको घरजग्गा अपचलन काण्ड सबैभन्दा पछिल्लो उदाहरण हो । योभन्दा पहिले दलहरूले घटाएको सबैभन्दा ठूलो र महँगो १४३ रोपनीको ‘राष्ट्रकै मुटु’ मानिने बालुवाटरकै ललिता निवास सरकारी घरजग्गा काण्डको अपराधीहरूलाई जोगाउनको निमित्त दलहरूले धेरै कसरत गरे पनि पूर्णरुपले ढाकछोप गर्न भने सकिरहेको छैन । बालुवाटार ललिता निवासको सरकारी घरजग्गा अपचलन काण्डलाई उजागार ओली सरकारले नै गरेको भएता पनि त्यस्तै मिल्दोजुल्दो अनेक सरकारी घरजग्गा काण्डहरू घटाउनमा ओली सरकारकै नाम जोडिका छन् । ओली सरकारको पालामा स्वर्गीय राजा वीरेन्द्रको नाममा भएको सबै घरजग्गा र अन्य जायजेथाको संरक्षण गरी परोपकारी कार्यमा लगाउन बनेको नेपाल ट्रष्टमा घटेको छ । नेपालका प्रधानमन्त्री स्वयं नै अध्यक्ष रहने व्यवस्था भएको उक्त संस्थामा नियम कानुन नै संशोधन गरी नेपाल ट्रष्टको नाममा रहेको जग्गा जमीन र जंगलको अपचलन मिलोमतोमा गरिएका छन् । पाँच वर्षको लागि चुनिएको ओली सरकार तीन वर्ष टिके पनि भ्रष्टाचार भने लगभग चारदशक लामो अवधि पुग्ने गरी गरेका छन् । छोटो अवधिका लागि चुनिएको ओली सरकारले ३५ वर्षको लागि दलाल व्यवसायी यती समूहसित सम्झौता गरी नेपाल ट्रष्टको घरजग्गा, जमीन र जंगल लिज सम्झौता गरी व्यापारिक नाफा कमाउने उद्देश्यले उपयोग गर्न सक्ने अनुमति दिएका छन् । यस्तो अनेक अनियमित कार्यगरी सरकारी घरजग्गा, जमीन र जंगल साथै मठ मन्दिरका घरजग्गा, जमीन र जंगलहरू लामो समयका लागि उद्देश्यअनुसार उपयोग नहुने गरी नाफाखोर दलाल माफिया तस्कर व्यापारीहरू र व्यवसायीहरूको हातमा पुगेका छन् । ओली सरकारको पालामा भएका यस्ता अनेक गैरकानुनी निर्णयहरूकै कारणले नेपालमा खाली घरजग्गा, जमीन र जंगलहरू सबै नाफाखोर, दलाल, माफिया, तस्कर व्यापारीहरू र व्यवसायीहरूको कब्जामा गइसकेको हुँदा नेपालीको सन्तानले भविष्यमा खुला आकास, खुला धर्ती र हरियोपरियो भएको जंगलहरू केही देख्न नपाउने भएका छन् । दलहरूको सरकारले ३०० फिट माथिसम्मको आकाश र ३० फिट मुनीसम्मको जमीन सबै नाफाखोर दलाल माफिया तस्कर व्यापारीहरू र व्यवसायीहरूको अधिकारमा भटाभट दिइसकेका छन् । काठमाडौंको खुला आकाश र ३० फिट तलसम्मको जमीनको भाग सबै अपराध मनोवृत्ति भएका नाफाखोर दलाल माफिया तस्कर व्यापारीहरू र व्यवसायीहरूले कव्जा गरी सकेको हुँदा नेपालीका सन्तानले अब आउने भविष्यमा त्यसको उपयोग गर्न सक्नेछैन । परिमाण स्वरुप नेपालमा आर्थिक असमानता फैलिने छ र स्वतन्त्र बजार अर्थनीति असफल हुनेछ । साथै नाफा कमाउनेहरूले सार्वजनिक स्रोत साधनहरूको अधिक उपयोग गर्दा वातावरणलाई पनि नोक्सानी हुने देखिन्छ । नेपाल सरकारले इतिहासिक दरबारहरू, धार्मिक स्थलहरू, मठ मन्दिर र धर्मशालाहरू, पवित्र धार्मिक स्थलहरू र वन जंगलहरू लिजमा दिने काम तुरुन्तै बन्द गर्नुपर्छ । जे जति पहिले दिने काम भएका छन् त्यसलाई पनि उल्टाएर राष्ट्रको उपयोगमा ल्याउनु पर्छ । व्यापारीकरण गर्ने भन्दैमा प्रधानमन्त्री निवास बालुवाटारको वरिपरि सटर बनाउन दिन सकिन्न । भोक लाग्यो भन्दैमा कोप्रामा भात कसैले पनि खानु हुँदैन । नेपालको इतिहास नै मेटाउने हिसाबले इतिहासिक सम्पदाहरू नाफाखोर दलाल माफिया तस्कर व्यापारीहरू र व्यवसायीहरूलाई कुनै बाहानामा पनि उपयोग गर्न दिनु हुन्न । दलहरूको आचरण ठीक नभएको र सजिलै पैसामा बिक्ने भएको हुँदा सबै क्षेत्रमा दलालहरू हाबी हुँदै गएका छन् । अब आएर हिन्दूहरूको धार्मिक स्थलहरू, मठ मन्दिरहरू, इतिहासिक सम्पदाहरू सबै लिजमा लिएर त्यसलाई तोडफोड गरी भ्रष्ट पारी बद्नाम गराउन खोज्दै छन् । अहिले आएर नेपाली जनता राजतन्त्रलाई फाली दलहरूलाई सत्ता सुम्पेकोमा पछुतो मान्दैछन् । नेपाली जनताले राजालाई फालेर पथ र मति भ्रष्ट भएका दलहरूलाई सत्तामा ल्याउने काम ‘चोरलाई चौतारो दिएर साधुलाई शुलीमा चढाएको’ जस्तो भएको महसुस गर्न थालेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *