अवकाशको चारदिन अघि बढुवा

समाचार

काठमाडौं । सरकारले चार दिनपछि अवकाशमा जान लागेका एक जना सहसचिवलाई सचिव पदमा बढुवा गरेको छ । मन्त्रिपरिषद्को नियमित बैठक बस्ने दिन शुक्रबार होइन । मन्त्रिपरिषद्को नियमित बैठक सोमबार र बिहीबार बस्दै आएको छ, तर एक जना सहसचिवलाई सचिवमा बढुवा गर्नका लागि अस्ति शुक्रबार मन्त्रिपरिषद्को बैठक डाकियो र सोही बैठकले शंकरप्रसाद खराललाई सहसचिबाट सचिवमा बढुवा गर्ने निर्णय ग¥यो । लोकसेवा आयोगका अध्यक्ष माधव रेग्मीको अध्यक्षतामा बसेको बढुवा सिफारिस समितिले पहिलो नम्बरमा रामेश्वर दंगाल, दोस्रो नम्बरमा मुकुन्दप्रसाद निरौला र तेस्रो नम्बरमा खरालको नाम सिफारिस गरेको थियो । सरकारको निर्णयानुसार गत शुक्रबार सचिवमा बढुवा भएका खराल (हिजो) मंगलबारै अवकाशमा गइसकेका छन् । त्यसदिनको बैठकले उनलाई सचिवमा बढुवा नगरेको भए उनी सहसचिव पदमै अवकाश हुन्थे । मन्त्रिपरिषद्ले पालो मिचेर तेस्रो नम्बरका खराललाई सचिव बनाएर राज्यकोषमा भार थपेको छ । कनिष्ठ सहसचिवलाई ४ दिन भए पनि सचिव बनाएर घर पठाउने उद्धेश्यले अकस्मात मन्त्रिपरिषद्को बैठक डाकेर उनलाई सचिवमा बढुवा गरेको हो । जागिरे जीवनको लामो समय लोकसेवा आयोग, योजना आयोग, आन्तरिक राजस्व विभागमा बिताएका खरेल हिजैबाट अवकाशमा गएका छन् । खरेल २०४४ साल साउन १ मा सेवा प्रवेश गरेका थिए । उनी २०६९ फागुन २६ मा सहसचिवमा पदोन्नति भएका थिए । उनै खरेलका लागि अघिल्लो साता बसेको मन्त्रिपरिषद्को बैठकले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा सचिवको दरबन्दीसमेत थपेको थियो । सचिवमा बढुवा भएका खरेल पदस्थापनसमेत नभई अवकाशमा गएका हुन् । चार दिनका लागि मात्रै सचिव बढुवा भए पनि खरालले पूर्वसचिवको सामाजिक प्रतिष्ठा प्राप्त गर्नेछन् भने उनको पेन्सनपट्टा सचिवबाट सेवा निवृत्त भएको बन्ने छ । यद्यपि, दुई–चार दिन सेवा अवधि बाँकी रहेकालाई बढुवा गरेर पदस्थापन गर्न, उसले कार्यभार सम्हाल्न नपाउँदै सेवा निवृत्त हुने हुँदा यसरी गरिने बढुवाको औचित्य पुष्टि गर्न गाह्रो हुन्छ । कर्मचारीहरूको इच्छाअनुसार मन्त्री र सरकारहरूले कसरी निर्णय गर्दछन् र राज्यकोषमा भार थप्छन् भन्ने उदाहरण खरेल एक्ला पात्र होइनन् । हालै राष्ट्रिय परीक्षा बोर्डको अध्यक्ष नियुक्त भएका महाश्रम शर्मा एक दिनका लागि सचिव बढुवा भएका थिए । उनले सचिव भएर हाजिर गर्न पनि पाएनन् । उनको हकमा त अझैं दिउँसो उनी सेवा निवृत्त भएर बिदाइँ भए । साँझ बसेको मन्त्रिपरिषद् बैठकले राति १२ बजेसम्म उनी सचिवमा बहाल गरेको थियो । सहसचिवबाट उनलाई सचिवमा उकालिँदा एकातिर प्रतिष्ठा पाए अर्काेतिर पेन्सनपट्टा । त्यही सचिव बनाइएको कारण अहिले राष्ट्रिय परीक्षा बोर्डको अध्यक्ष खान सजिलो बनाइयो । महाश्रम शर्मा झैं अर्थ मन्त्रालय र मातहतका विभागमा लामो समय काम गरेका सूर्य आचार्य पनि उसैगरी बढुवा भए । उनी तीन दिनका लागि सचिव बढुवा भएका थिए । यसअघिको सरकारले दुई सातापछि अवकाशमा जान लागेका वीरबहादुर राईलाई सचिवमा बढुवा गरेको थियो । सहसचिवमै घर जाने राईलाई नियम मिचेर सचिवमात्र बनाइएन अवकाशको केही सातापछि नै लोकसेवा आयोगमा पठाइयो । उनी पनि पदस्थापन नै नभई अवकाशमा गएका थिए । उसैगरी श्री आचार्यका लागि पनि नियम मिचेर केही साताका लागि सरकारले सचिव बनाएको उदाहरण छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *