काठमाडौं । अहिले काठमाडौं उपत्यकाभित्रका अधिकांश घर, जग्गाहरु आर्थिक मन्दीको कारण देखाएर किनबेचमा मन्दी आएसँगै अहिले अधिकांश जग्गा प्लटिङ्ग गर्नेहरुले दुईदेखि चार रोपनी किन्ने र प्लटिङ्ग गरेतापनि अधिकांश स्थानमा ऐलेनी जग्गा भएको ठाउँमा मात्रै प्लटिङ गर्दै आएका छन् । जस्तै काठमाडौं उपत्यकाभित्र जग्गा प्लटिङ गर्नेमा ललितपुर, भक्तपुर र काठमाडौंका छेउछाउका भागहरु प्रमुख रहेका छन् । यस्ता ठाउँहरुमा अधिकांश जग्गा प्लटिङ गर्ने बिचौलियाहरुले ऐलेनी जग्गा प्लटिङ गर्ने र नापी हालसाविक गर्न लगाउने जस्ता कामहरुमा भूमाफियाहरु लागिपरेका छन् । ऐलेनि जग्गा मिसाएर प्लटिङ्ग गरी हालसाविक गरेर बिक्रीवितरण गर्ने ठूलो गिरोह सक्रिय रहेको बताइन्छ । यसरी जग्गा प्लटिङ हुने यरिया भने यस प्रकार रहेका छन् । काठमाडौंभित्र शाँखु, मूलपानी, जर्सिङपौवा, गोकर्ण, नाङ्लेभारे, कागेश्वरी, फुटुङ, तार्केश्वर, टोखाझोर, थानकोट यरियाको दहचोक, चन्द्रनिगरी नगरपालिकात्रिका अधिकांश ठाउँहरु, दक्षिणकालीको फर्किङ, कितृपुर एरियाभन्दा बाहिरका विभिन्न ठाउँहरु प्रमुख रहेका छन् । त्यसैगरी ललितपुरका सुनाकोठी, ढुकुछाप, लुभु, लेले, चापागाउँका छेउछाउ, गोदावरीनगरपालिकाभित्र पर्ने कुनाकाप्चाहरुका ऐलेनी जग्गा पनि भूमाफियाहरुले नापी र मालेपोत कार्यालयका कर्मचारीसँगको मेलेमतोमा हालसाविकको नाममा कित्ता काट गरी कब्जा गरिराखेको विशेष स्रोतको भनाइ छ । यस्तै भक्तपुर जिल्लाका अधिकांश ठाउँहरु जस्तै नगरकोट, चागुनारायण, ताथली, नलिनचोक, लाकुरी भन्ज्याङ यरियादेखि डोलेश्वर महानगरदेव मन्दिरआसपासका क्षेत्रभित्र पर्ने अधिकांश पाखापखेरा, खोल्साखोल्सी, थुम्को, ढिस्को, पाटीपौवा, मन्दिर, ढुंगेधारा, कुवा, पधेरो, सानातिना खोलालगायत ऐलानी भएका ठाउँहरु खोजी भूमाफियाहरुले हाल साविक गर्ने नाममा माल र नापीका कर्मचारीसँग मिलेर ऐलानी जग्गा कब्जा गरी विक्रीवितरण गर्ने गरेको स्रोतको दावी छ । यसैगरी स्थानीय सरकार बने तापनि अधिकांश वडा अध्यक्षदेखि गाउँपालिका अध्यक्ष, नगरपालिकाका प्रमुख र महानगरका मयेरहरुको समन्वयमा भूमाफियाहरुले फाइदा उठाइरहेका छन् । यस्ता ऐलानी जग्गा प्लटिङ गर्नेहरु अहिले स्थानीय सरकारका जनप्रतिनिधिहरुको आम्दानीको स्रोत बन्ने गरेको पाइन्छ । यसरी खुलेआम रुपमा आफ्नो गाउँपालिका, नगरपालिका र महानगरपालिकाभित्रको ऐलानी जग्गा भूमाफियाले कब्जा गर्दा समेत स्थानीय सरकार भने चुपचाप बसिरहेको अवस्था छ । यसरी नै स्थानीय जनप्रतिनिधिहरुले वास्ता नगर्ने हो भने केही वर्षभित्र उपत्यकालगायत देशका विभिन्न ठाउँमा रहेका ऐलानी र सार्वजनिक स्थलमा बनाइएका मठमन्दिरहरु लोप हुँदै जाने अवस्था छ । त्यसैगरी उपत्यकाभित्रका सार्वजनिक जग्गा र वनजंगल समेत केही वर्षमा समाप्त हुने देखिन्छ । यस्तो अवस्थामा स्थानीय सरकार प्रमुख र सम्बन्धित नियकाले ध्यान दिनुपर्ने देखिन्छ ।