विभिन्न संघ–संस्थाहरू सक्रिय हुन आवश्यक छ

अन्तरवार्ता समाचार

कोरोना संक्रमणको तेस्रो लहर तीव्र रूपमा फैलिएपछि सरकारले शुक्रबार रातिदेखि काठमाडौं उपत्यकामा सवारी साधनमा जोरबिजोर प्रणाली लागू गरेको छ । उपत्यकाभित्र विभिन्न सेवामा कटौती गरेको प्रशासनले सवारी साधनमा लगाएको जोरबिजोर प्रणालीको भने सर्वत्र विरोध हुने गरेको छ । यसपटक मात्रै होइन, हरेक लहरमा सरकारले एकपटक जोरबिजोर लागू गरेकै छ । तर, जतिपटक स्थानीय प्रशासनले जोरबिजोर प्रणाली लागू गर्छ प्रत्येकपटक आलोचना हुन्छ । सामान्य बुझाइमा सवारी साधनको संख्या धेरै भयो भने यसमा यात्रा गर्नेहरूले दूरी कायम गर्न सक्छन् । तर, संख्या कम हुँदा सवारी साधनमा अझ बढी भीड हुन्छ । यति हुँदाहुँदै पनि जोरबिजोर लागू गर्नुको कारण के हो ? ललितपुरका प्रमुख जिल्ला अधिकारी घनश्याम उपाध्यायलाई कोरोनाको अवस्था, रोकथामको लागि भएको प्रयास, साथै सुरक्षा अवस्थाको बारेमा गरिएको कुराकानीको अंशः
० ललितपुर जिल्लामा कोभिड संक्रमण रोक्नका लागि के–कस्ता कामहरू भइरहेका छन् ?
कोभिड १९ नयाँ भेरियन्ट ओमिक्रोनको संक्रमण बढ्दै गएको अवस्थामा सिसिएमसीको सिफारिस, नेपाल सरकारको मन्त्रिपरिसदको निर्णय, स्वास्थ्य मन्त्रालयको मार्गदर्शन र स्थानीय परिस्थितिका आधारमा काठमाडौं, भक्तपुर र ललितपुर जिल्ला प्रशासनहरूले एकरूपता कायम गर्ने गरी पछिल्लो आदेश जारी भएको छ । कोरोना रोकथाम, नियन्त्रण, उपचारलाई सरल सहज बनाउनको लागि र नागरिकलाई यसको जोखिमबाट बचाउनको लागि आदेश जारी भएको छ । जिल्लाभित्र जोर गते जोर र बिजोर गते बिजोर नम्बर प्रणालीमा सञ्चालन गर्ने, सिट क्षमताभन्दा बढी यात्रु नराख्ने, सबै यात्रुलाई मास्क अनिवार्य गर्ने, सवारी साधनको ढोकामा र सवारी साधनभित्र यात्रुले प्रयोग गर्ने गरी सेनिटाइजरको व्यवस्था गर्ने, चालक तथा सहचालकले मास्क र फेस–सिल्ड लगाउनु पर्ने, सवारी साधनलाई दैनिक रूपमा निसंक्रमित गर्नुपर्ने, सार्वजनिक यातायातमा कुनै यात्रुले मास्क नलगाई आएमा चालक वा सहचालकले बढीमा पाँच रूपैया लिई मास्क उपलब्ध गराउनु पर्ने, मास्क नलगाउने व्यक्तिलाई सवारी साधनमा प्रवेश गर्न नदिने । लामो दूरीमा चल्ने सार्वजनिक यातायातमा बीच बाटोमा थप यात्रु नचढाउने गरी सुरुदेखि अन्तिम गन्तव्यसम्म यातायात सञ्चालन गर्ने र यात्रुहरूको विवरण जिल्ला कोभिड– १९ संकट व्यवस्थापन केन्द्र (डिसिसिएमसी) लाई उपलब्ध गराउने, लामो दूरीमा चल्ने सार्वजनिक यातायातका यात्रुहरूलाई सम्भव भएसम्म एन्टिजेन परीक्षण गर्ने व्यवस्था मिलाउने, राष्ट्रिय राजमार्गहरूमा सञ्चालित होटेल तथा रेष्टुरेन्टहरूले जनस्वास्थ्यका मापदण्डहरू पालना गरी भिडभाड नहुने व्यवस्था मिलाई आलोपालो गरी सेवा दिनेजस्ता नियम लागू गरिएको छ । यसमा चार ओटा पक्षहरू महत्वपूर्ण रहेको छ । पहिलो कुरा यसले अवतजावतलाई नियन्त्रण गर्न खोजेको छ । जस्तो सवारी साधनमा जोर बिजोर प्रणाली, २० जनाभन्दा बढी भेला भएर विवाह, ब्रतबन्धजस्ता सामाजिक कार्यमा रोक लगाइएको छ । यस्ता कार्य गर्दा पनि खोप कार्ड अनिवार्य चाहिने । दास्रो पक्ष भनेको खोपलाई प्रभावकारी बनाउनको लागि खोप अभियान बढाएका छौँ । जिल्लाभित्रको १२ देखि १८ वर्ष उमेर पुगेको समूहको लाई ९० प्रतिशत लगाइसकेका छौँ । १८ वर्षदेखि माथिकोलाई पनि करिब ९५ प्रतिशत कोरोना खोप लगाइसकेका छन् । तेस्रो पक्ष भनेको यी आदेशको प्रभावकारी कार्यान्वयन हो ।
० जिल्लामा कोरोनाको अवस्था कस्तो छ ?
पछिल्लो २४ घन्टामा ललितपुरमा हिजोको मितिमा ६ सय २ जना संक्रमित छन् । जसमा २९ सय ३५ जनाले परीक्षण गरेका थिए । हालसम्म ५९ हजार १ सय ३९ जना जम्मा संक्रमित छन् । जसमा ५३ हजार ६ सय १२ जना निको भएका छन् । त्यसमध्ये ४१ सय १ जना सक्रिय छन् । त्यसमध्ये १ सय ८७ जना हस्पिटलको आइसोलेसनमा छन्, ९ जना भेन्टिलेटरमा छन्, २९ जना आइसियूमा छन् । हालसम्म ५८९ जनाको निधन भएको छ । हामीले पछिल्लो समय खोपलाई प्रभावकारी बनाएका छौँ । दुवै खोप लगाएको ५ महिना कटेका तथा फ्रन्टलाइनमा खटेकाहरूलाई बुस्टर डोज २९ हजार ५ सय ५२ जनाले लगाइसकेका छन् । फाइजर १२ देखि १७ वर्षका ५७ हजार ८ सय ३८ जनाले लगाएका छन् । ३ लाख ९९ हजार जनाले पहिलो डोज लगाएका छन् भने २ लाख ४८ हजार जनाले दोस्रो डोज लगाएका छन् ।
० जिल्लामा कोरोना संक्रमितहरूको व्यवस्थापन कसरी भइरहेको छ ?
जिल्लामा भएका अधिकांश संक्रमितहरू होम आइसोलेसनमा हुनुहुन्छ । केही हस्पिटलमा हुनुहुन्छ । यहाँ नगरपालिकाले ठूलो संख्यामा कोरोना भएमा करिब १ सय ५० जना व्यवस्थापन गर्नसक्ने गरी सुविधा सम्पन्न आइसोलेसन व्यवस्था गरेको छ । साथै पाटन अस्पतालमा पनि व्यवस्था रहेको छ ।
० जिल्लाको शान्ति–सुरक्षाको अवस्था अहिले कस्तो छ ?
अहिले समग्र जिल्लाको शान्ति–सुरक्षाको अवस्था ठीकै छ । सामान्य नै छ । अहिले कोरोना भाइरसको तेस्रो लहरका कारण यहाँका मानिस तरंगित नै छन् । जिल्लाको शान्ति–सुरक्षाको अवस्था चुस्त–दुरुस्तै छ । सामान्य नै छ ।
० निजामती सेवा प्रवेशका लागि तपाईंलाई कुन कुराले प्रेरित ग¥यो ?
पारिवारीक पृष्ठभूमि निजामती सेवामा हुनुहुन्थ्यो । मलाई पारिवारीक वातावरणले नै प्रेरणा दिएको हो । बुबा सार्वजनिक सेवामा हुनुहुन्थ्यो । सोही कारणले मलाई प्रेरणा मिल्यो ।
० निजामतीतर्फ नयाँ पुस्ता कत्तिको आकर्षण भएको मान्नुहुन्छ ?
आकर्षण छ, छैन भन्ने पनि होइन । नेपालको सार्वजनिक क्षेत्रमा कर्मचारी छनोटको प्रणाली लामो छ । धैर्यता हुनुपर्छ धैर्यतासहित रुचि हुने व्यक्ति सार्वजनिक सेवामा प्रवेश गरेको छ । रुचि मात्र हुने, धैर्यता नहुनेले सार्वजनिक सेवामा प्रवेश गर्न सकेको देखिन्न ।
० निजामती सेवामा किन चाँडो–चाँडो सरुवा भइरहन्छ ? यसले कार्यसम्पादनमा कस्तो प्रभाव पार्छ ?
सरुवाले प्रभाव पार्छ नै । जो आए पनि जिल्लाको नेतृत्व लिएर आउने मान्छेले जिल्लाको सबै वस्तुगत विवरण, भूगोल, आर्थिक, सामाजिक, राजनीतिक, सांस्कृतिक सबै परिवेश बुझिसकेपछि मात्रै उसले आफ्नो क्रियाकलाप मिसन–भिजन प्रदर्शन गर्ने बाटो बनाउँछ । भूगोल नै नबुझेको मान्छे जिल्लामा आएर तत्कालै कुनै निर्णय गरेर अगाडि बढ्न सक्दैन ।
० ललितपुरमा राजनीतिक दलहरूबाट भइरहेका अवरोध तथा नारा जुलुसहरूलाई हस्तक्षेप गर्न किन सक्नुभएन ?
हामीले अहिले राजनीतिक दलहरूलाई पनि अनुरोध गरेका छौँ । सभा, जुलुस नगर्नु भनेर । त्यसपछि अलि कम भएको छ । र हामीले यो सबैको विषय हो, सबै जिम्मेवार नै हुनुपर्छ, अहिले जुलुस, सभा गर्ने अवस्था होइन भनेर अनुरोध ग¥यौँ । अनुमति कसैलाई दिएका छैनौँ । र हस्तक्षेपको कुरा, एउटा माग राखेर जुलुस निकालेको छ त्यहाँ प्रहरीले लाठी चार्ज गर्ने कि नगर्ने ? शान्तिसुरक्षा, अपराध नियन्त्रणको प्रश्न त होइन, एउटा स्वास्थ्य मापदण्ड पालना गर्न अपनाउने अभियान हो, उहाँहरूलाई हामीले भनेका छौँ, मानिराख्नु भएको पनि छ, कोरोना नियन्त्रण गर्न राजनीतिक दल, नागरिक समाज, आम जनता सबैको दायित्व हो, त्यो सबैले आआफ्नो भूमिका दायित्व बुझेर नियम पालना गर्नुहुनेछ भन्ने मैले विश्वास लिएको छु । अब आउने दिनमा त्यस्ता गतिविधिहरू नहोला भन्ने अपेक्षा गरेका छौँ ।
० सवारी साधन सञ्चालनमा अहिले जोर–बिजोर प्रणाली लागू गरिएको छ, यसको खास कारण के हो ?
पछिल्लो समय बढ्दै गएको कोरोनाको तेस्रो लहरमा संक्रमित हुनेको संख्या बढ्न थाल्यो । भीडभाड हुँदा यसले संक्रमण फैलाउन सहयोग गर्ने भएकाले हामीले चलचित्र घर, खेलकुदका कार्यक्रमहरू, सभा सम्मेलन, पार्टी भोजजस्ता सम्भावित भीड हुने क्षेत्रमा कडाइ ग¥यौँ । अन्य सरकारी तथा अत्यावश्यक बाहेकका निजी सेवा पनि ५० प्रतिशत अकुपेन्सीमा चल्न थालेको अवस्था छ । त्यसैले सबै सेवा आधा सञ्चालन भइरहेको अवस्थामा यातायात सेवामा पनि जोरबिजोर प्रणाली लागू गरिएको हो ।
० जोरबिजोरले गाडीको संख्या त आधा कम गर्ला । तर गाडीको चाप घटाउँदैमा मानिसको चाप घट्छ र ?
हामीले सवारीमा जोरबिजोर लागू गर्नुभन्दा पहिले धेरै सरकारी तथा निजी क्षेत्रका सेवामा कटौती गरायौँ । जस्तो, सरकारी सेवा आधा मात्रै सञ्चालनमा छ, निजी क्षेत्रमा पनि संक्रमण बढिसकेपछि केही सेवा बन्द भएका छन्, खेलकुद गतिविधि र सिनेमा हल बन्द भइसकेका छन् । सामाजिक सांस्कृतिक गतिविधिहरू जस्तै विवाह, ब्रतबन्ध गर्दा पनि संख्या तोकेर नियन्त्रण गरिएको छ, धार्मिक तीर्थस्थल पनि बन्द छन् । यस्तो अवस्था जोरबिजोर प्रणाली लागू गर्दा यी काम नपर्ने क्षेत्रका मानिसहरूको गतिविधि नियन्त्रण हुन्छ । कारबाहीमा पर्ने डरले पनि उनीहरू हिँडडुल गर्दैनन् । त्यसैले जोरबिजोर प्रणालीले सवारी साधन मात्रै होइन, मान्छेको चाप पनि घट्छ भन्ने हाम्रो बुझाइ हो ।
० अन्त्यमा केही भन्न चाहनुहुन्छ ?
अहिलेको मुख्य कुरा भनेको कोभिड–१९ को संक्रमणबाट हामी सबै जोगिने र अरूलाई जोगाउनु नै हो । कतिपयले स्वास्थ्य सुरक्षाको मापदण्ड पालना नगर्ने र सरकारले गरिदिएन भनेर आरोप, आक्षेप लगाउने गरेको पनि पाइन्छ । त्यसकारण आफैँले स्वास्थ्य सुरक्षाको मापदण्ड पूर्ण रूपमा पालना गरेको छ कि छैन हेर्ने । त्यसपछि आफ्नो घर–परिवारमा पालना गर्न लगाउने, छरछिमेकमा गर्न लगाउने । समुदायमा रहेका विभिन्न संघ–संस्था, क्लबहरू छन् यतिबेला सक्रिय हुन आवश्यक छ । यो बेला भनेको समाजसेवा, मानवसेवाका लागि अवसर पनि हो भनेर हामीले बुझ्न जरुरी छ, योभन्दा अरू कुनै महत्वपूर्ण समय आउँलाजस्तो मलाई लाग्दैन । किन भने अहिले हाम्रो परिवार, छरछिमेक, समाजमा मानिसहरूको ज्यान गइरहेको छ । योभन्दा ठूलो मानवसेवा अरू हुन सक्दैन । यसमा सबै संवेदनशील भएर स्वास्थ्य मापदण्ड आफूले पालना गर्ने, अरूलाई पनि गर्न लगाउने र सहयोग गर्ने काममा सक्रिय हुनुपर्छ भन्ने मेरो चाहना हो । आफैँ असल कामसहित सकारात्मक सोच लिएर अघि बढे मुलुकलाई नै फाइदा पुग्नेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *