व्यापारीको चंगुलमा सरकार गृहले दुई दिनमै उल्ट्यायो निर्णय

समाचार

काठमाडौं । सरकार मन्त्री र सचिवले कम व्यापारीहरूले बढी चलाउँछन भन्ने एउटा उदाहरण हो यो चाहिँ । होइन भने मन्त्रालय, मन्त्री र सचिवले गर्ने निर्णेय बच्चाको भाँडाकुटी खेलजस्तो हो र ? दुई दिन अघि एउटा निर्णय गर्ने अनि त्यो निर्णयको मसी सुक्न नपाउँदै फेरि अर्काे निर्णय गर्ने ! यस्ता कच्चा खेलले महत्वपूर्ण मानिने गृह मन्त्रालय त्यहाँका मन्त्री र सचिवले नभई व्यापारीहरूले चलाएको प्रष्ट हुन्छ । यस्तो किन भनिएको हो भने दुई दिनअघि अर्थात् गत शुक्रवार मात्र गृह मन्त्रालयले भिजिट भिसामा खाडी मुलुक र मलेसिया जान रोक लगाउने निर्णय गरेको थियो । १० माघदेखि लागू हुने गरी गत शुक्रबार गरिएको सो निर्णयलाई दुई दिनपछि अर्थात् आतबार नै गृह मन्त्रालयले संशोधन गरेको छ ।
यसअघि गृहले ओमिक्रोन भेरियन्टको संक्रमण स्वदेश तथा विदेशमा तीव्र रूपमा फैलिरहेकाले खाडी मुलुक तथा मलेसिया जानेहरू बिचल्लीमा परेको भन्दै मन्त्रालयले सोही दिनदेखि लागू हुने गरेर भिजिट भिसामा भ्रमण जान रोक लगाउने निर्णय गरेको थियो । गृहले अब सरकारी निकायका प्रतिनिधि, अन्तर्राष्ट्रिय कारोबार गर्ने बैंकका तथा वित्तीय संस्थाका प्रतिनिधि, अन्तर्राष्ट्रिय गैरसरकारी संस्थाका प्रतिनिधि भई भ्रमण जानेहरू, नेपालमा सामान आयात–निर्यात गर्ने व्यावसायिक संस्थाका प्रतिनिधिहरूलाई सम्बन्धित कार्यका लागि प्रस्थान अनुमति दिने भएको छ । यस्तै कम्तीमा २ अन्य मुलुकमा पर्यटकको रूपमा भ्रमण गरिसकेका यात्रुहरू, वैदेशिक रोजगार व्यवसायको बजार प्रवद्र्धनका लागि जाने म्यानपावर व्यवसायीहरू, बिरामी कुरुवा (३ पुस्ताभित्र), वार्षिक न्यूनतम ६ लाख रूपैयाँ करयोग्य आय भई कम्तीमा आधा रकम बैंक खातामा बचत भएका र नेपालको कर प्रणालीमा आबद्ध भएका व्यक्तिहरूलाई पनि प्रस्थान अनुमति दिइने जनाएको छ । यसबाट के प्रष्ट हुन्छ भने ठूला व्यापारीहरूका दबाबमा परेर गृहले आफ्नो निर्णय दुई दिनमै उल्टाएको देखिन्छ ।
उता अध्यागमन विभाग त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका हाकिम एकाएक गायब भएपछि गृह मन्त्रालयसम्म हलचल पैदा भएको छ । त्यहाँका हाकिमको भूमिकामा छन्, पुष्पराज शाही । उनी गत बिहीबारदेखि सम्पर्कविहीन भएपछि गृह मन्त्रालयसम्म हलचल मच्चिएको हो । गृह मन्त्रालय र कार्यालयका कर्मचारीलाई समेत थाहा पत्तो नदिई उनी गायब भएपछि गृहमा हलचल मच्चिएको छ । तर, गृह स्रोतले उनी पक्राउ परेको दाबी गरेको छ । मानव तस्करीमा संलग्न भएको अभियोगमा उनलाई मानव बेचविखन ब्युरोले नियन्त्रणमा लिएर बयान लिएको स्रोतको दाबी छ । उनैलाई बयान लिएपछि गृहमन्त्रालयले खाडी मुलुकमा भिजिट भिसा प्रतिबन्ध लगाउँदै शुक्रबार नै विज्ञप्तिमार्फत सार्वजनिक गरेको थियो । सो विज्ञप्ति दुई दिन नबित्दै गृहले संशोधन गरेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *