काठमाडौं । कोरोना संक्रमण फैलिएसँगै सरकारले स्वास्थ्य सुरक्षाको लागि खोपको व्यवस्थापन गरे पनि आम नेपालीले सबै खोपको डोज प्रयोग गरेका छैनन् । कतिपय मानिसले खोप लगाए पनि बिरामी परेको आरोप छ । सार्वजनिक स्थलमा या सार्वजनिक यातायातमा यात्रा गर्ने मानिसहरूले प्रेसर चेक नगरी खोप लगाउँदा बिरामी परेको आवाज उठाउने गरेका छन् । खोप पनि सर्वसुलभ नपाइने रहेछ भन्ने गुनासो व्यापक रुपमा उठ्न पनि थालेको छ । अहिले मौसम अनुकूल नभएका कारण कतिपय मानिस बिरामी परेका छन् । अहिले सरकारी तथा निजी बैंकमा जानका लागि खोप कार्ड देखाउनुपर्ने बाध्यता छ ।
के यो मानव अधिकार हनन भएको त हैन ? कतिपय नेपालीले खोप लगाएका छैनन् । खोप नलगाएको व्यक्तिलाई सार्वजनिकस्थल प्रवेशमा निषेध गर्न खोजिएको हैन ? साना बालबालिकाले पनि खोप लगाएका छैनन् भने सरकारले साना बालबालिकालाई २ महिनापछि खोप दिने भनेको छ । वृद्धवृद्धा, आमाबुबा, दिदीबहिनीले पनि गाउँबस्तीको कुना काप्चामा खोप लगाउन पाएका छैनन् । सरकारले खोप लगाउ भन्छ, खोप कार्ड सरकारी कार्यालयमा अनिवार्य गरेको छ, खोप कार्ड बिना बैंकिङ क्षेत्र, न्यायालय, प्रहरी कार्यालय, सरकारी अड्डा, मन्त्रालयजस्ता ठाउँमा जानको लागि निषेध गरेको अवस्था छ । कतिपय मानिसले खोप लगाए पनि खोप कार्ड शाखामा राखेका छैनन् । खोप कार्ड पाएका छैनन् । खोप कार्ड नदेखाए सार्वजनिकस्थल र कार्यालयभित्र प्रवेश निषेध गरेको अवस्था छ । के नेपालमा सबै मानिसले खोप लगाएका छन् त ? सबै मानिसलाई आफ्नो स्वविवेकले खोप लगाएका छन् । खोप कार्ड नदेखाए सार्वजनिक स्थलमा प्रवेश गर्नु नदिनु भनेको यो मानव अधिकारको हनन् जस्तै हो । अहिले यस्तो कुरा सार्वजनिक स्थलमा भइरहँदा मानव अधिकारवादी संस्थाले केही बोलेको छैन । आम नेपालीलाई सार्वजनिक स्थलमा हिँडडुल गर्न नदिनु भनेको आमनेपालीलाई बञ्चित गराउनु जस्तै हो । अहिले खोप कार्ड बिना सार्वजनिक स्थलमा प्रवेश गर्नलाई खोप कार्ड खोज्नु यो चाहिँ मानव अधिकार हनन् भएको गुनासो आम नेपालीको छ । अहिले सरकारले जोरबिजोर प्रणाली माघ १४ गते रातिबाट हटाएको छ । सार्वजनिक यातायातमा व्यापक मानिस भेडाबाख्रा जसरी हुलेर सवारी चलाइएको छ । सवारीको अनुगमन राज्यले गर्नुपर्ने हुन्छ । सिट क्षमताभन्दा यात्रु बढी राख्न दिनु उचित हुँदैन । आम नेपाली बिहान कार्यालयको समय र बेलुकाको समयमा व्यापक भीड गरी घर अफिसमा ओहोरदोहोर गरिराखेका छन् । यातायात व्यवसायीले व्यापक भीड गरी यातायात चलाएका छन् । यसको अनुगमन गृह मन्त्रालयले तथा ट्राफिक प्रहरीले गर्नुपर्नेमा गरिएको छैन । जोरबिजोर प्रणाली हटाए पनि भीड जम्मा पारेको छ, अनि खोप कार्डको बहाना पारी आम नेपालीलाई दुःख दिएको छ । सरकारले भीडलाई कम गर्न सभा सम्मेलन, मठ मन्दिर, भोज भतेरमा जान बन्देज लगाए पनि यसमा कसैले ध्यान दिएको छैन । सवारी साधन सबै खुला गर्ने, सिट क्षमताभन्दा बढी व्यक्ति यातायातमा नराख्ने, राखेमा कारबाही गर्ने, सवारी साधनमा यात्रा सेनिटाइजरको प्रयोग गर्न लगाउने, यात्रुले अनिवार्य मुखमा मास्क लगाउने, सामाजिक दूरी कायम गराउनेजस्ता विषयलाई ध्यान नदिएर खोप कार्ड देखाउनुपर्ने व्यवस्था गरेर आम नेपालीलाई दुःख दिएको पाइन्छ ।
सरकारी तथा निजी कार्यालयहरूमा आ–आफ्नै नियम लागू भएका छन् । बैंकभित्र सेवाग्राही घन्टौँसम्म बस्नुपरेको छ । बैंकका क्यास काउन्टरमा कर्मचारी थोरै बस्ने, अन्य कर्मचारी गफ गर्ने, मोबाइल चलाउने गर्दा सेवाग्राही लाइनमा बस्नुपर्ने अवस्था छ । सरकारी कार्यालयमा कर्मचारी हाटा गर्ने र सेवाग्राहीको काम अलपत्र बनाउने काम हुने गरेको छ । जनताले तिरेको करबाट तलबभत्ता खाने र कामको सिन्को नभाँच्ने प्रवृत्ति सरकारी तथा बैंकिङ क्षेत्रमा चल्ने गरेको छ ।
