‘डेल्टा’ले जस्तो भयावह स्थिति नल्याउँला

अन्तरवार्ता

डा.शेरबहादुर पुन
सरुवा रोग विशेषज्ञ तथा संयोजक
शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकु, क्लिनिकल रिसर्च युनिट
पछिल्लो समय कोरोनाको नयाँ भेरियन्ट ‘ओमिक्रोन’ फैलने क्रम तीव्र छ । नेपालमा पनि ओमिक्रोन भेरियन्ट समुदायमा फैलिसकेको छ । ओमिक्रोन छिटो फैलिने भएकाले धेरै मानिस संक्रमित भइरहेका छन् । हिजो मात्र पछिल्लो २४ घन्टामा १६ हजार ८८ जनामा परीक्षण गर्दा ५ हजार २९२ जना कोरोना भाइरसका संक्रमित थपिएका छन् । १० हजार ३६८ जनामा पिसिआर परीक्षण गरिएकोमा ३ हजार ४७२ जनामा र ५ हजार ७२० जनामा एन्टिजेन परीक्षण गर्दा १ हजार ८२० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । हालसम्म कोरोनाबाट मृत्यु हुनेको संख्या ११ हजार ७४३ पुगेको छ । बढ्दो कोरोना संक्रमितको ग्राफलाई यसका विज्ञले कसरी नियाली रहेका छन् ? ओमिक्रोन भेरियन्टले भयावह स्थिति ल्याउने सम्भावना कत्तिको छ ?लगायत विषयमा सरुवा रोग विशेषज्ञ डा.शेरबहादुर पुनसँग कुराकानी गरेका छौँ । डा. पुनसँग गरिएकोे कुराकानी यहाँ प्रस्तुत गरिएको छः
० ओमिक्रोनको जोखिम बढेको भनेर सरकारले पनि सतर्कता अपनाउन भनेको छ, यसबाट कसरी सावधानी अपनाउने ?
ओमिक्रोन आफैमा डेल्टा भेरिएन्टभन्दा कमजोर देखिएको भनेर प्रमाणित भइसकेको छ । त्यसकारणले पनि अहिले कोरोनाको दोस्रो लहरजस्तो अवस्था नआउन सक्छ । पहिलेको जस्तो समस्या नआउला भन्ने अनुमानसम्म गर्न सकिन्छ । अर्को कुरा कोरोनाविरुद्धको खोप लगाउने क्रम पनि जारी रहेकाले पनि हामीलाई यो भाइरससँग लड्न सहयोग गर्छ । त्यसले पनि दोस्रो लहरमा जस्तो अवस्था नआउला भन्न सकिन्छ । तर, यसो भनिरहँदा सतकर्ता भने अपनाउनै पर्दछ । अहिले पनि सबैजनाले खोप लगाएको छैन । खोप लगाएकाको तुलनामा नलगाएकाहरूलाई यसको जोखिम बढी हुने सम्भावना हुन्छ । ओमिक्रोनले ठूलो रूप नलिए हजारौँ, लाखौँ जनाले खोप लगाउनेछन् । त्यसैले पनि दोस्रो लहरको जस्तो एकदमै डराउने अवस्था अलि हुँदैन कि भन्न सकिन्छ, तर सतर्कता अपनाउने र खोपमा जोड दिने क्रम भने हुन जरुरी छ ।
० कम हुँदै गएको कोरोनाको जोखिम फेरि बढ्न थालेको छ । पहिलो चरणको कोरोना र अहिले देखिएको कोरोनाबीच के फरक छ ?
भाइरस त कोरोना नै हो । भाइरस भएकोले यसले छिन–छिनमै आफ्नो स्वरूप परिवर्तन गर्न सक्ने क्षमता राख्छ । अहिले भएको त्यस्तै हो । सामान्यतया यसलाई भाइरसको स्वरूप परिवर्तन भएको भनेर भन्न सकिन्छ । यो एउटा ‘जेनेटिकल्ली’ भएको परिवर्तनमात्रै हो । नयाँ भन्नेबित्तिकै के कारणले नयाँ भयो त भन्ने कुरा हो र यसले नयाँ खाले आफ्नो क्षमता विकास गरेको हुन्छ । जसले हाम्रो रोगप्रतिरोधात्मक क्षमतालाई दबाउँछ र आफू थप बलियो बन्छ । स्वरूप परिवर्तन भयो भन्नेबित्तिकै यसले केही न केही नयाँ खालको आफ्नो क्षमता त लिएर आउने नै भयो ।
जहाँसम्म ब्रिटिस भेरियन्ट (स्वरूप) को कुरा छ, यो चाहिँ युकेमा फैलिँदै जाने क्रममा ‘सिक्वेन्स्ली’ यसमा धेरै परिवर्तन देखिए । फलतः यसलाई न्यू भेरियन्ट भनियो । अनुसन्धानहरूमा देखिएअनुसार यो पुरानोभन्दा ६४ प्रतिशत बढी घातक हो भन्ने देखिएको छ । प्रमाणित भएअनुसार यो भाइरस पहिलेभन्दा घातक पनि हो नै रहेछ । सर्सर्ती हेर्दा केही नयाँ र पुरानोबीच यस्तै केही भिन्नता र समानता छन् । यद्यपि, भाइरस सधैँ भाइरस नै हो । कहिलेकाहीँ यसले आफ्नो स्वरूप परिवर्तन गर्नुलाई स्वाभाविक रूपमा लिनुपर्दछ ।
० यसअघि कोभिड १९ संक्रमण भएर निको भएकाहरूलाई नयाँ कोभिड लाग्ने सम्भावना हुन्छ किन हुँदैन ?
यो अहिले हामीसामु प्रश्नवाचक कुरा नै हो । यदि कुनै पनि भाइरस हाम्रो शरीरमा पहिल्यै छिरेको छ भने त्यहाँ एन्टीबडी बनेको हुन्छ । कोरोना भाइरसको सन्दर्भमा यसको परीक्षणस्वरूप दक्षिण अफ्रिकी भेरियन्टलाई हेरिएको छ । यसबारे अहिल्यै यही नै हो भनेर भन्न त सकिँदैन । र, अहिलेसम्म देखिएको पनि छैन । यो मानेमा यो अझै परीक्षणकै क्रममा छ । त्यसो भन्दैमा यसलाई पूरै बेवास्ता गर्न मिलेन । तर, कहीँकहीँ परीक्षणहरूमा देखिएअनुसार यो पुनः छिर्न भने सक्छ ।
० मानिसहरू डरत्रासमा रहेका बेला स्वास्थ्यकर्मीहरू अगाडि सरेर आफ्नो कर्तव्य पालना गरे । त्यस्तो जोखिम उठाएर काम गर्ने हिम्मत कसरी आउँदो रहेछ ?
डाक्टर, नर्स, कर्मचारी कसैले पनि डर लाग्यो, काम गर्दिनँ भनेनन् । परिवार र आफन्तले जोखिम हुन्छ काम नगर्नू भन्दा पनि कसैले आफ्नो कर्तव्य भुलेनन् । आफ्नै उदाहरण दिन्छु । मेरा काम नै बिरामीको सेवा गर्नु हो भनेर सम्झिएपछि मनबाटै डर हराउँदो रहेछ । महामारीमा जागिर छोडेर घरभित्र बस्नुपर्छ भन्ने सोच आउँदो रहेनछ । म दुई दशकदेखि सरुवा रोगको क्षेत्रमा काम गरिरहेको छु । हैजाले अस्पताल भरिएर घन्टामै ४०÷५० जनालाई डिस्चार्ज गर्ने बेलामा पनि आफ्नो कर्तव्य पूरा गर्नैपर्छ भन्ने लाग्थ्यो । संयोगवश २००३ मा सार्स–कोरोना भाइरस देखिँदा पनि मैले यही अस्पतालमा बिरामीको उपचार गरेको थिएँ । लामो समय सरुवा रोग नियन्त्रणमा काम गरेपछि अभ्यस्त पनि हुँदै गइने रहेछ । बिरामीलाई परामर्श दिन पाउँदा, नयाँ–नयाँ कुरा सिक्न पाउँदा त्रासभन्दा पनि उत्साहित थिएँ ।
० खोप लगाएका व्यक्तिहरू पनि किन कोरोना संक्रमित भइरहेका छन् ?
यो सबैभन्दा धेरै सोधिनेमध्ये एक मुख्य प्रश्न हो । खोप लगाएका व्यक्तिको नाक वा घाँटीसम्ममा संक्रमण गराउन सक्छ, तर फोक्सोमै क्षति पु¥याउने सम्भवना कम हुन्छ । खोप लगाउनु भनेको संक्रमित नहुनु होइन कि जटिल अवस्था आउने वा मृत्यु कम गर्दछ भनेर बुझ्नुपर्दछ हामीले । हामी खोप लगाएपछि केही हुँदैन भनेर बेवास्ता गर्छौँ यही कारणले गर्दा खोप लगाएका व्यक्तिमा पनि संक्रमण रहन्छ ।
० स्वास्थ्यप्रति सर्वसाधरणमा कतिको जागरुकता पाउनुभएको छ ?
कोरोनालाई सबैले आ–आफ्नै तरिकाले बुझे । भोग्नेले आफ्नो तरिकाले बुझे भने कोरोना नलाग्नेले आफ्नै तरिकाले बुझे । एकाथरी केही होइन सबै सामन्य हो भन्ने बुझे भने, अर्काे चाहिँ कोभिड खतरा हो भन्नेछन् । जसका आफन्तहरू बितेका छन् उनीहरू कोरोना खतरा हो भन्छन् । जो आइसोलेसनमा बसेर अलिअलि तातोपानी खाएर ठीकठाक भए उनीहरू खासै केही होइन भन्छन् । अर्काेतिर अहिलेसम्म संक्रमति भएका छैनन, ती चाहिँ कोरोना भनेको केही होइन, हावा हो भन्ने वर्ग देखिन्छन् । कोभिडको अर्काे लहर आएको खण्डमा यो वर्ग जोखिममा पर्दछ । खोप नलगाउने वर्ग पनि यही होला । अहिले बजारतिर जाँदा, त्यहाँ भीडभाड हेर्दा कहाँ कोरोना छ र ? भन्ने भान हुन्छ । हामीले यहाँ आइसियुमा बसेर हेर्दा कोभिड संक्रमितलाई निमोनिया भएर दुवै छात्ती संक्रमित भएर खत्तम भएको दैनिक देख्छौँ । त्यही कारण कोभिडलाई मान्छेले कसरी हेरेँ, कसरी भोगे त्यही आधारमा उनीहरूको सोच विकसित भएको पाइन्छ । यो नेपालमात्र होइन, विश्वकै समस्या हो । कोरोना पूर्ण रूपमा हटिसकेको छैन । यसका अनेकन लहर र उत्तराचढाव आउने क्रम जारी छ । स्वास्थ्यका न्यूनतम मापदण्ड पूर्ण रूपमा पालना गरौँ । सकेसम्म परिवारका सबैले खोप लगाऔँ । सरकारले पनि खोप ल्याएर भण्डारण मात्र गर्ने होइन कि जतिसक्दो चाँडो युद्धस्तरमा खोप लगाऔँ । बल्ल–बल्ल ल्याएको खोप ‘एक्सपाएर’ हुने स्थिति नआओस् ।
० कोरोना निको भएको, तर शारीरिक तथा मानसिक रूपमा तन्दुरुस्त हुन नसकेको गुनासो निकै सुनिन थालेको छ । यस्तो समस्या लिएर बिरामीहरू कत्तिको आउन थालेका छन् ?
पहिलो र दोस्रो चरणको कोरोनाको क्रममा यस्ता समस्या भएका व्यक्तिहरू धेरै नै आए । जस्तो कोरोना संक्रमणपछि निको भएका धेरैले थकित महसुस गरेको बताउँछन् । जिउ तातेजस्तो हुने, कमजोरी महसुस हुने, खोकी लागिरहने, मुटुको धड्कन बढ्ने वा अनियमित हुने, श्वासप्रश्वासमा समस्या हुने, निद्रा नलाग्ने, डर लाग्ने, कानमा आवाज आएजस्तो हुने गुनासो धेरै आउने गरेका थियो । कतिपयले त जे सुँघे गन्ध नै नआउनेजस्ता समस्या बोकेर आउने गर्दथे । धेरैले आफूलाई जिउँदै मरेतुल्य जस्तो भएँ भनेर भन्ने गरेका थिए । उनीहरूले अब जीवनमा केही गर्न सक्दिनँ कि ? भन्ने जस्तोगरी हरेस खाएका देखिन्थे । कोभिडअघि जुन स्फूर्ति र आँट थियो, त्यो हराएको जस्तो महसुस गर्नेहरू थिए । जीवन कतै कामै नलाग्ने भएको हो कि ? भनेर डिप्रेसनजस्तो देखिन्छ । यस्तो समस्या भएका धेरै थिए तर, यो ओमिक्रोन भाइरसको भने त्यस्तो खालको समस्या देखिएको छैन ।
० के–कस्ता लक्षण देखिए ओमिक्रोन संक्रमण हुन सक्छ ?
हाल यसको लक्षणबारे पूर्ण यकिन भएको छैन । तर, दक्षिण अफ्रिकाका चिकित्सकहरूको अनुभवअनुसार लक्षण त्यति कडा छैन । अत्यधिक थकान, टाउको र जीउ दुख्नेजस्ता समस्या देखेको भनिएको छ । निरन्तरको खोकी, ज्वरो÷उच्च तापक्रम, स्वाद वा गन्ध परिवर्तन हुने वा हराउने, नाकबाट पानी बग्ने, शरीर गल्ने (मध्यम वा गम्भीर स्तरको), हाच्छिउँ, घाँटी दुख्ने जस्ता लक्षणहरू हुन् ।
० कसरी जोगिने?
पहिलो त सकेसम्म आफूलाई संक्रमित हुनबाट जोगाउनुपर्छ। त्यसका लागि स्वास्थ्य सुरक्षाका मापदण्ड पालना गर्ने हो । अनावश्यक र काम नपरी घरबाट बाहिर ननिस्कने, बाहिर निस्किँदा मास्कको प्रयोग गर्ने, भीडभाडमा नजाने, भौतिक दूरी कायम गर्ने, सरसफाइमा ध्यान दिने गर्नुपर्छ । संक्रमितको सम्पर्कमा आएको थाहा हुनासाथ आफूलाई ’आइसोलेट’ गर्नुपर्छ । रुघाखोकी र ज्वरो आएको छ भने पनि आइसोलेसनमा बस्नुपर्छ । झोलिलो र स्वस्थ खानेकुरा खानुपर्छ । अक्सिजनको मात्रा याद राख्नुपर्छ । स्वास्थ्यमा जटिलता आए चिकित्सकको सल्लाह लिइहाल्नुपर्छ । उपचारको अभावमा ज्यान गुमाउने स्थिति नरहोस् भन्ने सुनिश्चित गर्न अक्सिजनलगायतका आधारभूत आवश्यकताको जोहो गर्न आवश्यक छ । जोखिम समूहमा रहेका सबैले अविलम्ब ‘बुस्टर’ खोप लगानुपर्छ ।
० संक्रमितको संख्या बढ्दै गए भयावह स्थिति आउने सम्भावना कत्तिको देख्नुहुन्छ ?
स्वास्थ्य अवस्था कमजोर भएका, खोप नलगाएका व्यक्तिहरू अझै पनि समुदायमा छन् । यिनै जोखिम समूहमा रहेका व्यक्तिहरू प्रभावित हुन सक्छन् । तर, अस्पतालहरूमा भर्ना हुने बिरामीहरूको संख्या ह्वात्तै बढेको भने छैन । डेल्टा भेरियन्टले जस्तो ल्याएको भयावह स्थिति ओमिक्रोनले नल्याउँला भन्ने मेरो अनुमान छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *