वीर अस्पतालमा बेथितिको चाङ

समाचार

काठमाडौं । स्वास्थ्य तथा जनसंख्यामन्त्री विरोध खतिवडाले केही साताअघि वीर अस्पतालका कार्यकारी निर्देशक डा.भुपेन्द्र बस्नेतलाई हटाउन खोजे । उनको ठाउँमा गुणराज लोहनीलाई सरुवा गरेर त्यहाँ पठाए पनि । तर, कांग्रेसी नेताहरूको आड पाएका बस्नेतलाई नहटाउन शेरबहादुर देउवादेखि रामचन्द्र पौडेलसम्मको फोन गयो विरोध खतिवडालाई । प्रधानमन्त्री र कांग्रेसका उच्च तहका नेताबाट फोन आएपछि विरोध आफ्नो निर्णयबाट व्याक भए ।
उनै भुपेन्द्र बस्नेतको पावरको अर्काे उदाहरण हो । स्वास्थ्य मन्त्रालयले गत कार्तिकमा एउटा सूचना प्रकाशन गरेको थियो । सूचनामा भनिएको थियो, ‘स्वास्थ्य सेवाअन्तर्गत देहायका समूह, उपसमूहको अधिकृत एघारौँ तहको पदमा बढुवा समितिको मिति २०७८–०९–२१ गतेको निर्णयअनुसार तपसिल बमोजिमको योग्यता क्रमका उम्मेदवारलाई कार्यक्षमताको मूल्यांकन प्रक्रियाद्वारा हुने बढुवाका लागि सिफारिस गर्ने निर्णय भएकोले नेपाल स्वास्थ्य सेवा नियमावली २०५५ को नियम ७६ र ७७ को प्रयोजनको लागि यो सूचना प्रकाशित गरिएको छ ।’ मन्त्रालयले प्रकाशन गरेको यो सूचना केही महिनापछि रद्ध भयो । लोकसेवा आयोगले आफैँले यो सूचना रद्ध भएको विज्ञापन छाप्यो । यसरी रद्ध भएको सूचनामै टेकेर बढुवा सिफारिस समितिले उनै बस्नेतलाई बढुवा ग¥यो एघारौँ तहमा । उनी कार्यक्षमताको मूल्यांकन प्रक्रियाद्वारा हुने बढुवाका लागि सिफारिस भएका थिए । उनलाई यसरी चोरबाटोबाट बस्नेतलाई बढुवा गर्नुको कारण थियो कोभिड अस्पतालमा ११औँ तहका हाकिम हुन्छन् । बस्नेत १०औँ तहका हुन् ।
बढुवा सिफारिस समितिमा लोकसेवा आयोगका सदस्य माधव बेल्बासे, दिनेश सिलवाल, मुख्यसचिव शंकरदास बैरागी, एक जना विज्ञ सदस्य र सदस्य सचिवका रूपमा स्वास्थ्य मन्त्रालयका सचिव डा.रोशन पोखरेल रहेका थिए । उनीहरू सम्मलित समितिको गत २१ पुसमा बसेको बैठकले डा.भुपेन्द्र बस्नेत बढुवा सिफारिस गरेको थियो । यसरी रद्ध भएको सूचनामै टेकेर बढुवा भएका बस्नेतविरुद्ध लोकसेवा आयोगमा उजुरी परेको थियो । सो उजुरीपछि सोमबार बढुवा सिफारिस समितिले आफ्नो गल्ती सच्चाएको छ । डा.भुपेन्द्र बस्नेतको बढुवा बदर गरिएको छ । लोकसेवा आयोग आफैँले रद्ध एउटा विज्ञापनमा बढुवा सिफारिस भएका बस्नेतको बढुवाविरुद्ध लोकसेवा आयोग र स्वास्थ्य मन्त्रालयमा उजुरी परेपछि बढुवा सिफारिस समितिले उनको बढुवा बदर गरेको हो ।
उसो त वीर अस्पतालभित्रको कीर्ते काण्ड यतिमै सीमित छैन । उनै डा.बस्नेत हाकिम रहेको कोभिड–१९ युनिफाइड केन्द्रीय अस्पताल वीर अस्पतालकी वरिष्ठ अस्पताल नर्सिङ अधिकृत डा. रिना श्रेष्ठको नर्सिङ उपाधि नै नक्कली भएको उजुरी अहिले सिंहदरबारस्थित प्रधानमन्त्री कार्यालय, राष्ट्रिय सर्तकता केन्द्र, स्वास्थ्य मन्त्रालय हुँदै अख्तियारमा पुगेको छ । मेवार युनिभर्सिटी भारतबाट पिएचडी उपाधि लिएकोमा सो उपाधि कीर्ते भएको भन्दै उजुरी हालिएको छ । नर्सिङ प्रशासनमा अनियमितता गरेको, सरकारी बिदा नलिई अध्ययनमा गएको, कार्यालय समयमा निजी कलेजमा पढाउन जाने गरेको, वीर अस्पतालबाटै विभिन्न निजी कलेजमा अनलाइनमार्फत पढाउने गरेको, करारमा नर्सको म्याद थपमा समेत घुस माग्ने गरेको आरोप लगाउँदै उनीविरुद्ध उजुरी दर्ज भएको छ । दायर गरिएको उजुरीमा उनको सम्पत्तिसमेत छानबिन गर्नुपर्ने उजुरीकर्ताहरूको आरोप छ । उता उनीनिकट नर्स भगवती थापालाई बिरामीको उपचारमा नपठाई बेरुजु शाखामा खटाएको समेत उनीमाथि आरोप छ । बिदाको दिनमा समेत सरकारी सवारीसाधन दुरूपयोग गरेको उनीहरूको आरोप छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *