प्रधानमन्त्रीको निशानामा सभामुख सापकोटा

राजनीति

काठमाडौं । सभामुख अग्नी सापकोटाले राजीनामा गर्नु पर्ने अथवा सापकोटाले विकल्प दिनुपर्ने भन्दै प्रमुख प्रतिपक्ष नेकपा एमालेले गत भदौदेखि नै संसद अधिवेशन चल्न दिएको छैन । पछिल्लो समयमा सभामुख सापकोटाको भूमिकालाई लिएर प्रमुख प्रतिपक्ष नेकपा एमालेसँगै प्रधानमन्त्री शेरबहादुर देउवासमेत असन्तुष्ट बन्न थालेका छन् । एमसिसीको मामिलामा सभामुख सापकोटाले संवैधानिक दायरा र पदीय हैसियतलाई उल्लंघन गर्दै नेकपा माओवादी केन्द्रको सक्रिय कार्यकर्ताको भूमिका निर्वाह गरी राखेको भन्दै प्रधानमन्त्री देउवाले सभामुख सापकोटाप्रति असन्तुष्टी र आक्रोश व्यक्त गर्न थालेका छन् ।
गत माघ १६ गतेका लागि तय भएको संसद बैठक एमसिसीका सम्बन्धमा छलफल गरेर अगाडि बढाउने भन्दै दश दिनका लागि स्थगित गरिएको थियो । दश दिनका लागि स्थगित भएको संसद बैठक आज सञ्चालन हुन गइराखेको छ । तर, सभामुख सापकोटाले दुई वर्ष अगाडि नै दर्ता भएको एमसिसी प्रस्तावका सम्बन्धमा सकारात्मक वातावरण बनाउनेभन्दा माओवादी कार्यकर्ताको रूपमा आफूलाई प्रस्तुत गर्र्दै दलीय सहमति नभएसम्म र संशोधन नभएसम्म यो प्रस्तावलाई अगाडि नबढाउने अडान लिएर उनले पदको दुरूपयोगसमेत गर्न थालेको आरोप प्रधानमन्त्री देउवाले लगाउन थालेका छन् । संसदमा दर्ता भएको एमसिसी प्रस्ताव कस्तो छ भन्ने निर्णय गर्ने अधिकार सांसदलाई मात्र रहेको र यसका लागि यो प्रस्ताव छलफलमा आउनु पर्ने विचार प्रधानमन्त्री देउवाको रहेको छ । अब एमसिसीलाई अगाडि बढाउने मामिलामा प्रधानमन्त्री देउवाले सभामुख सापकोटालाई समेत आफ्नो निशाना बनाउने सम्भावना देखिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *