कर्मचारी नेतालाई छुने आँट कसको ?

समाचार

काठमाडौं । सिंहदरबारभित्रका केही कर्मचारीको दादागिरी कस्तो भने दरबन्दी छ प्यूठानमा, खेलोफड्को चल्छ सिंहदरबारबाट ।
कर्मचारी नेता बनेपछि न त भोला पोखरेललाई खटाइएको ठाउँमा जानुप¥यो, न त केदार देवकोटालाई ।
कर्मचारी समायोजन हुँदा यी दुवै नेताहरूको काठमाडौं बाहिर समायोजन भएको थियो । भोलालाई खोटाङको हलेसी गाउँपालिकामा खटाइएको थियो अनि केदारलाई पठाइएको थियो सिन्धुपाल्चोकको बलेफी गाउँपालिकामा । यी दुवै खटाइएको ठाउँमा गएनन्, भोलाले थर्काएर धम्काएर समायोजन उल्टाए भने केदारले कडा मानसिक रोगी भएको सिफारिस बनाएर काठमाडौंमा बसे ।
यस्तै नेताको संगत पाएका अर्काे कर्मचारी हुन रेवन्त गौतम, जो हालै मात्र माधव नेपालनिकट कर्मचारी संगठन छाडेर ओलीनिकट नेपाल निजामती कर्मचारी संगठनमा आवद्ध भएका छन् । गौतम पार्टी विभाजन हुनुअघि नेपाल निजामती कर्मचारी संगठनका महासचिव थिए । पार्टी विभाजनपछि माधव नेपाल समूहतिर खुलेका उनलाई सो संगठनले अध्यक्षको जिम्मेवारी दिएको थियो । माधव नेपालनिकट कर्मचारीहरूले ‘ज्वाइँलाई झैँ पालेर’राखेका ती कर्मचारी अन्ततः संगठनमाथि घात गर्दै ओली गुटमा प्रवेश गरेका छन् । यसरी गुट फेर्नुको कारण हो ओलीनिकटको कर्मचारी संगठनका अध्यक्ष केदार देवकोटाबाट आएको आर्थिक प्रलोभन । सहकारीको ऋणमा डुबेका र सो सहकारीको तारान्तारको ताकेताका कारण तनावमा रहेका ती कर्मचारीलाई ओलीसमूहले ऋणमुक्त बनाइदिने आश्वासन दिएसँगै उनी यताको माधव पक्षीय अध्यक्ष त्यागेर ओलीको सचिवालय सदस्य लिन राजी भएका हुन् ।
गौतमको दरबन्दी कर्मचारी समायोजन पूर्व जिल्ला समन्वय समिति प्यूठानमा । उनको समायोजन भएको थियो स्वर्गद्वारी नगरपालिका प्यूठानमा । त्यहाँ एक दिन पनि हाजिर हुन गएनन् बरु संगठनका महासचिव भएका कारण देखाएर काजमा सिंहदरबार सरुवा मिलाए । त्यहाँ बसेर सरुवाको धन्दा चलाए । आफू संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमा पत्नीलाई सडक कार्यालयमा जागिरको प्रबन्ध गरे । संगठनको हितमा शून्य काम गरेका, उनी दिनभर छोरा खेलाएर मात्र बस्ने गरेको कर्मचारीहरू नै सुनाउँछन् । उनको गत असार मसान्तमै काज सकिएको स्वर्गद्वारी नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत बमबहादुर केसीले बताउँछन् । केसीका अनुसार काज सकिए पनि उनी कार्यालयमा हाजिर हुन गएका छैनन् । बरु साउन र भदौ बिदा लिए र त्यसयता मिलाएर सामान्यमै बसेका थिए । माधव नेपालतिर खुले पनि दिनभर माधव नेपालनिकट र साँझ परेपछि यताको गोप्य सूचना केदार देवकोटाको कानमा पु¥याइएको थाहा भएपछि उनलाई संगठनले पटक–पटक स्पष्टीकरण सोध्यो । चित्त बुझ्दो जवाफ नदिएका कारण कारबाहीको तयारी गरिरहँदा उता छिर्न भ्याएका छन् ।
यसरी उनी ओली गुटतिर खुल्नुको पछाडि उनी आर्थिक रूपमा तन्नम हुनु प्रमुख कारण रहेको बताइन्छ । कर्मचारी स्रोतका अनुसार रेवन्तले एउटा सहकारीबाट मोटो ऋण लिएका थिए । सो ऋण चुक्ता गर्न नसकेपछि सो सहकारीले समयमा ऋण चुकाउन भन्दै पाँच पटकसम्म पत्राचार गरिसकेको बताइन्छ । सहकारीबाट तारान्तारको ताकेतापछि अप्ठ्यारोमा परेका उनको ऋण ओलीनिकट कर्मचारी संगठनले चुकाइदिने प्रतिवद्धता भेटेसँगै सो संगठनतिर खुलेका माधव नेपाल पक्षीय कर्मचारीहरूको दावा छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *