अब के गर्छ जनमोर्चा

राजनीति

काठमाडौं । अहिले सरकारमा पाँच दलको गठबन्धन रहेको छ । यो गठबन्धनलाई आम निर्वाचनसम्म नै कायम राख्ने भनाइ गठबन्धनकै कतिपय नेताबाट आइराखेको छ । प्रतिगमन अझैं पूर्ण रूपमा नसच्चिएको भन्दै गठबन्धनलाई कायम राख्नुपर्ने तर्क उनीहरूको छ । तर, यो गठबन्धनलाई सत्ताको लागि कायम राख्नु पर्ने हो कि प्रतिगमन सच्चिन बाँकी रहेको कारण कायम राख्नु पर्ने हो भन्ने चाहिँ स्पष्ट भएको छैन । गठबन्धनलाई आम निर्वाचनसम्म नै कायम राख्नुपर्ने र गठबन्धनमार्फत नै निर्वाचनमा जानु पर्ने तर्क राख्ने नेताहरूमा सत्ताबाहेक अन्य महत्वपूर्ण मुद्दामा निरन्तर रूपमा फरक मत रहँदै आएको छ ।

यो मामिलामा अमेरिकी सरकारले नेपालको सडक स्तरोन्नति र विद्युत् प्रशारणका लागि भनेर अगाडि बढाएको मिलिनियम च्यालेन्ज कर्पोरेसन (एमसिसी)का सम्बन्धमा पनि गठबन्धनमा रहेका पाँच दलमा तीन फरक मत रहेको छ । र, सरकारको नेतृत्व गरिराखेको नेपाली कांग्रेस र सरकारको एउटा घटक जनता समाजवादी संसद् सचिवालयमा दर्ता भई अड्किएर बसेको एमसिसी प्रस्तावलाई संसद्बाट अनुमोदन गरेर कार्यान्वयनमा लैजान ढिलो गर्नु हुँदैन भन्ने पक्षमा छन् । सरकारकै दुई कम्युनिस्ट घटक माओवादी केन्द्र र एकीकृत समाजवादी एमसिसी प्रस्तावमा राष्ट्रहित विरोधी कतिपय बुँदा समावेश भएकोले ती बुँदालाई हटाएर आवश्यक संशोधन गरेर मात्र एमसिसीलाई अगाडि बढाउनुपर्छ भन्ने पक्षमा छन् । यसैगरी संसद्मा एक स्थान मात्र भएको राष्ट्रिय जनमोर्चा संशोधन गरेर पनि एमसिसीलाई स्वीकार गर्न सकिँदैन भन्दै एमसिसीलाई स्वीकार गरेको स्थितिमा आफू गठबन्धनबाट बाहिरिने चेतावनी दिइराखेको छ । एमसिसीका सम्बन्धमा यसरी फरक मत राख्ने दलहरू गठबन्धनलाई कायम राखेर चुनावी मैदानमा समेत संयुक्त रूपमा उतार्नु पर्छ भन्ने पक्षमा भने आफ्नो स्वार्थको कारणले गर्दा एक ठाउँमा उभिएका छन् । गठबन्धनको एउटा घटक दल राष्ट्रिय जनमोर्चाले कुनै पनि स्वरूपमा मिलिनियम च्यालेन्ज कर्पोरेसनलाई स्वीकारे आफू गठबन्धनमा नबस्ने चेतावनी दिँदै आएको छ । अब एमसिसीलाई लिएर माओवादी केन्द्र र एकीकृत समाजवादी लचिलो हुँदै स्वीकार गर्ने पक्षमा गएको स्थितिमा अब राष्ट्रिय जनमोर्चा गठबन्धनमा नै कायम रहन्छ कि बाहिरिन्छ भन्ने प्रश्न उठ्न गएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *