काठमाडौं । सुरक्षा संवेदनशीलता र महत्व कायम राख्ने राष्ट्रिय अनुसन्धान विभागको एआइजी बनाउन भएको दौडधुपमा हुतराज थापा, टेकेन्द्र कार्की, हरिहर पौडेल, कुलदेव थापा, ओम जोशीको प्रतिष्पर्धा निकै प्रचारित छ । नेकपा एमालेका अध्यक्ष केपी ओलीले विभागलाई काम गर्ने भनेर प्रधानमन्त्री कार्यालय मातहत ल्याएका थिए । विभागलाई ओलीले आफ्नो स्वार्थ अनुकूल चलाएका थिए । तर, त्यतिबेला पनि राष्ट्रिय अनुसन्धान विभागका डिआइजीहरू घमण्डी भएर संगठनले खटाएको ठाउँमा नपुगी ठूलो हुन खोज्नेमा हुतराज थापा नै प्रमुख हुन् । सुदूरपश्चिमको नाताले प्रधानमन्त्री देउवाका भतिजा भानु देउवाले ओम जोशीलाई उचाल्दै छन् । जबकी जोशी विभागमा कुशल अधिकृतमा गनिँदैनन् । उनलाई हटाउन नमिलेर टिकेका मात्र हुन् । दरबारभक्त भएर दुई पटक विभागको प्रमुख बनाइएका देवीराम शर्माका भाइ हरिहर पौडेल भने त्यो दौडमा सक्रिय छैनन् । जोशी र हुतराजको प्रतिष्पर्धामा दरिलो सम्बन्ध सत्ता गठबन्धनको रहेको छ । तर, एमसिसीले गठबन्धन भत्क्यो भने थापाको बिजोग हुन्छ । यादव रेग्मीले अदालत गएर पद बचाउँदा त्यो बेला एआइजी पद पड्काए । तर, उनीसहित यदु खरेल, गणेश अधिकारी र देवीराम शर्माजस्ता कूटनीतिक प्रशाकीय क्षमता भएका हाकिम भने होइनन् ।
अहिलेको लडाइँ रेग्मीको ठाउँमा तीन महिनापछि एआइजी को हुने भन्ने हो । गुप्तचरले बद्नामी सहनुपर्ने १२ भाइ प्रहरीमा पठाएर राम्रै काम ग¥यो । एक सूत्र भन्छ, ‘राष्ट्रिय अनुसन्धान बिग्रेको खुमबहादुर खड्का, गोविन्दराज जोशीको पालामा हो ।’ कांग्रेसको सूचना चुहाउँदा संसदीय दलको कार्यालयबाट खेदिएका भूमि पाठकले निरीक्षकबाट डिएसपी पड्काएजस्तो अहिले छैन । पाठक पोखरा, ललितपुर र काठमाडौंको प्रमुख भएर अहिले विभागभित्रै बसेका छन् । सहकर्मीहरूले नरुचाउने पाठकको खुलस्त व्यवहार छैन । बैगुनी स्वभावले त्यहाँ पनि सूचना लिन सक्दैन । प्रशासनकै डिआइजी सुनिल ढकाललाई अहिलेको दौडधुपतिर चासो नहुनुको कारण उनको कार्यकाल लामो नहुनु हो । ओली सरकारले गुप्तचरलाई गृहबाट हटाएर प्रधानमन्त्री कार्यालयमा लगेको कारण पनि राम्रो हुन सकेन । राष्ट्रिय अनुसन्धानलाई पार्टीका नेताको गुप्तचरी गर्न खटाएर राष्ट्रको संवेदनशीलता संरक्षण हुँदैन । अनुसन्धान विभागले सरकारलाई सघाउने हो । त्यसको सञ्चालन पारदर्शी हुँदैन । किनकि त्यो गुप्तचर हो ।