पुरानो डिमान्ड लेटरलाई नयाँ बनाएर स्वीकृति दिँदै

समाचार

काठमाडौं । श्रम, रोजगार तथा समाजिक सुरक्षा मन्त्रीले भिजिट भिसामा पठाउने विभिन्न मेनपावर तथा बिचौलियालाई कारबाही गर्ने योजना बनाएर मार्सल टिम बनाएपछि अहिले भिजिट भिसामा विभिन्न देश पु¥याएर अलपत्र पारिएकाहरूको धमाधम विभाग र मन्त्रालयमा उजुरी पर्न थालेको छ । वैदेशिक रोजगार विभागले पनि यस्ता व्यक्तिको खोजबिन गर्ने तयारी गरिराखेको अवस्था भने केही व्यक्ति पक्राउ परेको अवस्था छ ।
विभिन्न देशमा अलपत्र परेका व्यक्तिलाई सम्पर्कमा आउनसमेत सूचना जारी गरेको छ । अर्काेतिर श्रममन्त्री किसान श्रेष्ठलाई फसाउने योजनासमेत भएको समाचार स्रोतले बताएको छ । अहिले श्रममन्त्री वरिपरि घुम्ने, मन्त्रीलाई सहयोग गरेको बहानामा श्याम र भुवन भन्ने व्यक्तिले मन्त्रीलाई घुमाई रहेका छन् । पहिले बाइकमा हिँडने भुवन र श्याम अहिले गाडी चढेर सिंहदरबार वरिपरि घुम्ने गर्दछन् । कर्मचारी वृत्तबाट पनि सहयोग नभएको वैदेशिक रोजगार विभागअन्तर्गतको ताहाचाल कार्यालयमा कार्यरत एक कर्मचारीले बताए । विभिन्न मुलुकबाट रोजगारीको माग भएको भन्दै मेनपावर कम्पनीले पुरानै सूचनालाई नयाँ मिति राखेर सूचना प्रकाशित गर्ने र श्रम स्वीकृति लिने काम पनि हुँदै आएको छ । अधिकांश मेनपावर कम्पनीले त्यस्तो गर्ने गरेको कर्मचारी स्रोत बताउँछ । विशेषगरी खाडी मुलुक साउदी अरेबिया, कतार, दुबई, मलेसिया, बहराइनजस्ता मुलुकमा रोजागरीको माग आएको भन्दै पैसा असुलेर विदेश पठाउने र बिचल्ली बनाउने काम हुँदै आएको छ । मन्त्रीहरू यस विषयमा बेखबर बन्दै आएका छन् । यसको समाधानका लागि मन्त्रीमात्र नभई कर्मचारी वृत्तले पनि सहयोग गर्नुपर्दछ । पीडित युवायुवतीको उजुरी अहिले वैदेशिक रोजगार विभागको दराजमा थन्किनेबाहेक अरु केही भएको छैन । वैदेशिक रोजगार विभागमा कार्यरत कर्मचारीले मेनपावरसँग साँठगाँठ गरी उजुरी दबाउने काम गर्दै आएका छन् ।
मेनपावर कम्पनीले पूर्वस्वीकृति र अन्तिम स्वीकृति कति जनाको निकाल्छन्, त्यसै आधारमा शाखाका प्रमुखलाई महिनावारी दिने गरेका छन् । महिनावारी नदिएको खण्डमा पूर्वस्वीकृति र अन्तिम स्वीकृतिमा गडबढी गरिदिने काम कर्मचारीले गर्दै आएका छन् । अहिले ताहाचाल कार्यालयमा सेटिङ मिलाउन भीड लाग्ने गरेको छ । पूर्वस्वीकृति र अन्तिम स्वीकृति लिनका लागि विभिन्न मेनपावर कम्पनीका कामदारको उपस्थिति रहने गरेको छ । यस्ता विषयमा मन्त्रीले खबरदारी गरेका छैनन् । विदेश जाने कामदारलाई बिचौलियाले तानातान गरिराखेका छन् । यस्तै ताहाचाल कार्यालयमा जीवन बिमा गराउने भन्दै विभिन्न इन्सुरेन्स कम्पनीको बार्ड राखी इन्सुरेन्स कम्पनीले समेत ठगीधन्दा चलाउँदै आएका छन् । बिमाको नाममा ठगी गर्नेहरूको भीड लाग्ने गरेको छ ।
यस्ता विषयमा अनुगमन गर्ने कुरामा मन्त्रीले ध्यान दिएका छैनन् । विदेश जान युवायुवतीलाई भाषाको समस्या पर्ने गर्दछ । भाषाको नाममा पैसा असुल्ने प्रवृत्ति पनि त्यत्तिकै मौलाएको छ । यस्तै कल्याणकारी कोषमा समेत जथाभावी पैसा असुल्ने गरेको पाइन्छ । मन्त्री भने मार्सल बनाएर विदेश पठाउने मेनपावर कम्पनीलाई कारबाही गर्छु भन्दै हाटहुटी मात्रै गरेको देख्न पाइन्छ । यस्ता कुरामा मन्त्रीले ध्यान दिन जरुरी छ । वैदेशिक रोजगार विभागदेखि मन्त्रालयमा भुवन र श्यामजस्ताको हालीमुहाली चल्ने गरेको छ । यसको रोकथाम हुन सकेको छैन । यसरी विदेशमा भिजिट भिसामा युवायुवती बिचल्ली पार्नेमा ट्राभल एजेन्सीदेखि विभिन्न संघ संस्थाका प्रतिनिधिको संलग्नता रहेको छ । यस विषयमा विभागका महानिर्देशकले ध्यान दिएका छैनन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *