एमसिसीले विभाजनको संघारमा पु¥यायो एकीकृत समाजवादीलाई

राजनीति

काठमाडौं । मिलिनियम च्यालेन्ज कर्पोरेसन (एमसिसी)का सम्बन्धमा उत्पन्न भएको विवादले एकीकृत समाजवादीलाई विभाजनको संघारमा पु¥याएको थियो । विभाजनको संघारमा पुगेको एकीकृत समाजवादीलाई त्यो दलका शीर्ष नेताहरूले आपसमा समझदारी कायम गरेर जोगाउने काम गरेका छन् । गत आइतबारको संसद् बैठकमा एमसिसी प्रस्ताव टेबुल हुने निश्चित भएपछि आफ्नो स्थिति स्पष्ट पार्नका लागि एकीकृत समाजवादीले पनि आइतबार बिहान नै सचिवालय बैठक गरेको थियो । उक्त बैठकले एमसिसीलाई टेबुल हुन अवरोध नगर्ने, तर एमसिसीको पक्षमा मतदान पनि नगर्ने दोहोरो र सन्तुलित निर्णय गरेको थियो ।

तर, आइतबार दिउँसो सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले एमसिसी प्रस्तावलाई टेबुल गर्नका लागि रोष्टममा पुगेर आफ्नो मन्तव्य व्यक्त गरिरहँदा माओवादी केन्द्रका नेताहरू देव गुरुङ, रेखा शर्मासँगै एकीकृत समाजवादीका नेता झलनाथ खनालले पनि उभिएर एमसिसीविरुद्ध चर्को नाराबाजी गरेका थिए । जबकी त्यही दिन बिहान बसेको सचिवालय बैठकले एमसिसी प्रस्तावलाई टेबुल हुनबाट रोक्नका लागि कुनै प्रकारको अवरोध खडा नगर्ने निर्णय गरेको थियो । पार्टी निर्णयविपरीत वरिष्ठ नेता खनाल त्यसरी एमसिसीको विरोधमा संसद् बैठकमा कुर्लिएको घटनाले एकीकृत समाजवादीमा ठूलो हल्लीखल्ली उत्पन्न गरेको थियो ।

यो हल्लीलाई शान्त पार्नका लागि पार्टी प्रवक्ता जगन्नाथ खतिवडाले एकै दिनमा दुई वटा वक्तव्य सार्वजनिक गरेका थिए । तर, प्रवक्ता खतिवडाले जारी गरेको दुई वटा वक्तव्यले पनि एमसिसीका सम्बन्धमा पार्टीभित्र उत्पन्न भएको विवाद र अन्योललाई समाप्त पार्न नसकेपछि महासचिव वेदुराम भुसालले पनि एमसिसीका सम्बन्धमा पार्टीको धारणा व्यक्त हुने गरी एउटा वक्तव्य सार्वजनिक गरेका थिए । महासचिव भुसालले जारी गरेको उक्त वक्तव्यमा एमसिसीको चर्को विरोध भएको भए पनि मतदानको क्रममा एमसिसीको पक्ष–विपक्ष कता मतदान गर्ने भन्ने सम्बन्धमा भने केही बोलेको थिएन । नेकपा एकीकृत समाजवादीमा एमसिसीलाई लिएर तीन वटा विचार अगाडि आएका थिए । एमसिसीका सम्बन्धमा मतदान हुँदा विपक्षमा मतदान गर्ने एउटा मत एकीकृत समाजवादीमा रहेको थियो भने पार्टीका सांसदलाई यस सम्बन्धमा स्व–विवेकले निर्णय गर्न दिने अर्को विचार आएको थियो । यसैगरी मतदान प्रक्रियालाई नै बहिस्कार गर्ने अर्को विचार पनि एकीकृत समाजवादीका चर्कोसँग उठेको थियो । र, एमसिसीका सम्बन्धमा उठेको यही फरक मतको कारण एकीकृत समाजवादी विभाजनको संघारमा पुगेको थियो विभाजनको संघारमा पुगेको पार्टीलाई दुर्घटनाबाट जोगाउनका लागि अस्ति सोमबार नेकपा समाजवादीले सचिवालय बैठकबाट एमसिसीको विपक्षमा मतदान गर्ने स्पष्ट निर्णय गरेको छ । तर, यो निर्णयप्रति एकीकृत समाजवादीका सबै शीर्ष नेताहरू सहमत भने छैनन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *