अध्यक्षको विवादले पार्टीलाई पु¥यायो विभाजनको संघारमा

राजनीति

काठमाडौं । जनता समाजवादीका दुई अध्यक्ष उपेन्द्र यादव र बाबुराम भट्टराईबीचको विवाद अहिले उत्कर्षमा पुगेको छ । गत माघमा सम्पन्न भएको राष्ट्रियसभा निर्वाचनमा कसैसँग छलफलसमेत नगरी पार्टीको तर्फबाट उम्मेदवार खडा गरेको भनेर सुरु भएको यो विवाद अहिले लगभग विभाजनको संघारमा पुग्न थालेको छ । पार्टीको नेतृत्व तहमा उत्पन्न भएको यो विवादका सम्बन्धमा छलफल गरेर निकास दिनका लागि अध्यक्ष उपेन्द्र यादवले यही शुक्रबार कार्यकारिणी समितको बैठक बोलाएका छन् । लामो समयदेखि अर्का अध्यक्ष बाबुराम भट्टराईले पार्टीमा उत्पन्न भएको विवादका सम्बन्धमा छलफल गर्न केन्द्रीय कार्य समिति तथा कार्यकारिणी समितिको बैठक बोलाउन चर्को दबाब दिँदै आएका थिए । यो विवादका मामिलामा पार्टीका वरिष्ठ नेता अशोक राई भट्टराईको पक्षमा देखिएका छन् । अशोक राईले समर्थन गरेकै कारण ३५ सदस्यीय कार्यकारिणी समितिमा अध्यक्ष भट्टराई बहुमतमा पुगेको बताइन्छ ।
समाचार सूत्रका अनुसार अध्यक्ष यादवको कार्यशैलीको कारण नेतृत्व तहमा विवाद उत्पन्न भइरहँदा एमसिसी मुद्दाले पनि जनता समाजवादीको नेतृत्वमा अर्को विवाद उत्पन्न गरेको छ । कार्यकारिणी समितिका अध्यक्ष बाबुराम भट्टराई अमेरिकाले नेपालको विद्युत् प्रशारण र सडक स्तरोन्नतिका लागि अगाडि बढाएको ५० करोड डलरको एमसिसी परियोजनालाई तत्काल स्वीकार गर्नुपर्ने पक्षमा लामो समयदेखि अडान राख्दै आएका थिए भने अध्यक्ष उपेन्द्र यादवले भने अहिलेसम्म एमसिसीका सम्बन्धमा मुख खोलेका छैनन् । त्यस कारण एमसिसीको सम्बन्धमा मतदानको अवस्था हुँदा जनता समाजवादीमा पनि धक्का लाग्न सक्ने देखिएको छ । अध्यक्षद्वय उपेन्द्र यादव र बाबुराम भट्टराईका बीचमा यही शुक्रबार बस्ने कार्यकारिणी समितिको बैठकमा सहमति बन्न नसके पार्टी विभाजित हुनसक्ने टिप्पणी जनता समाजवादीकै शीर्ष नेताहरूले गरेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *