सरकारी कार्यालयमा वडापत्र लागू भएको छ ?

समाचार

काठमाडौं । सरकारी कार्यालयमा ठूलो–ठूलो बोर्डमा लेखिएको नागरिक वडापत्र झुण्ड्याएर राखिए पनि सो वडापत्रभित्र लेखिए बमोजिम सेवाग्राहीले सुविधा पाएका छैनन् । बिना झन्झट काम समयमाा सम्पन्न होस् भनेर यो बोर्ड झुण्डिए पनि सेवाग्राहीले सेवा पाएका छैनन् । यस्तै सरकारी कार्यालयमा अनलाइनबाट काम सम्पन्न हुन्छ भने पनि त्यो लागू भएको छैन । सेवाग्राहीले सेवा लिनका लागि घन्टौँ समय पर्खिनुपर्ने अवस्था छ । कहिले नेट ह्याङ भएको भन्ने, कहिले कम्युटरको समस्या देखाउने, कहिले कर्मचारी विदामा बस्ने, कहिले कर्मचारी फिल्डमा जानुपर्ने बहाना बनाएर सेवाग्राहीको काम टाल्दै आउने गरेका छन् । सरकारी कार्यालयमा वडापत्रमा लेखिए बमोजिम सेवाग्राहीले सेवा पाउन सकेका छैनन् ।
सरकारी कार्यालयमा योभन्दा पनि सेवाग्राहीलाई भनेर ‘हेल्प डेक्स’ राखिएको छ । ‘हेल्प डेस्क’मा समेत कर्मचारी बस्ने गरेका छैनन् । प्राविधिक काम नजानेका कर्मचारीहरू ‘हेल्प डेक्स’मा राखिने गरेकाले कम्प्युटरको प्रयोग नहुने, बिग्रने, काम नलाग्ने अवस्थामा रहेका छन् । कतिपय सरकारी कार्यालयमा प्रयोग हुने समान काम लाग्ने अवस्थामा छैनन् । सरकारी कार्यालयमा सरसफाइसमेत राम्रो हुने गरेको छैन । सरकारी कार्यालयको शौचालयदेखि कार्यालयको भवन सफा हुने गरेको छैन । खासगरी मालपोत कार्यालय, नापी कार्यालय, कम्पनी रजिस्ट्रारको कार्यालय, यातायात कार्यालय, कर कार्यालय, भन्सार विभाग तथा भन्सार कार्यालयजस्ता भिडभाड हुने कार्यालयमा सरसफाई एकदमै न्यूनस्तरको हुने गर्दछ ।
सरकारी कार्यालयमा रहेका सामान मर्मतसम्भार नभएका कारण जताततै बिजोगको अवस्था छ । सरकारी कार्यालयमा राखिएको पुराना समानले भरिभराउ छ । बिग्रिएका गाडी, सोफा, टेबुल, दराज, कम्प्युटर, ल्यापटप, कुर्सी टेबलजस्ता सामान सरकारी कार्यालयमा छरपस्ट अवस्थामा देखिन्छ । राज्यकोषबाट सरकारी कार्यालयमा प्रयोग गरिने सामान किन्न र मर्मत सम्भार गर्न राज्यकोषबाट बजेट छुट्याएको भए पनि सरकारी कार्यालयमा मर्मत नभएर जताततै राखिएको अवस्थामा देख्न सकिन्छ । यस्ता कुरामा सरकारले अनुगमन गरेको छैन । राज्य सञ्चालक मुकदर्शक बनेका छन् । कर्मचारी वर्ग कार्यालय आउने र हाटा गरेर जाने गरेका छन् । कर्मचारीले पाउने सेवा सुविधा पाएका छन्, ओभर टाइम खाएका छन् । कर्मचारीले लगाउने ड्रेसदेखि गाडी सुविधासम्म पाएका छन् । मिटिङ भत्ता पाएकै छन्, मिटिङमा खाजा–नास्ता पचाएकै छन् । तर, सेवाग्राहीले पाउने सुविधा पाएका छैनन् । साना कर्मचारीले अधिकृतलाई टेर्दैनन् । सेवाग्राहीले कार्यालय प्रमुखभन्दा कार्यालय सहयोगी ठूलो भएको गुनासो गर्दै आएका छन् ।
राजनीतिक दलनिकट नेताको चाकडी गर्ने, कर्मचारी युनियनका नेताको सहयोग माग्ने, समयमा कार्यालय उपस्थित नहुनेजस्ता कारणले सेवाग्राही मारमा परेको अवस्था छ । यसरी हेर्दा सेवाग्राहीले कहिले सेवा पाउने हुन् थाहा छैन । कर्मचारीभित्र सबै राजनीतिक पार्टीको कार्यकर्ता भएका कारण कर्मचारीले समयमा सेवाग्राहीको काम नगर्ने राजनीतिक आस्थाको कारण कर्मचारीले एक अर्काको कुरा काट्ने गरेका छन् । राजनीतिक दलका मन्त्रीले पनि छानीछानी कर्मचारी रोज्ने गरेको कारण कर्मचारीले काम गरेका छैनन् । राजनीतिक दलको सरकारलाई पनि कर्मचारीले गन्न छाडेका छन् । किनकि सरकार कतिखेर परिवर्तन हुन्छ, कुन पार्टीको सरकार बन्ने हो, कतिखेर सरुवा हुने हो भन्दै कर्मचारीले काम गर्न छाडेका छन् । कर्मचारीले मात्र नभएर सुरक्षा निकायले शान्ति सुरक्षामा समेत ध्यान दिएका छैनन् । सुरक्षा निकायभित्र पनि कतिखेर कहाँ सरुवा भइन्छ, कुन पार्टीको सरकार बन्छ, कुन पार्टीले कति पैसा माग्छ भन्दै कौतुहलता सुरक्षा निकायमा हुने गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *