जनताको पीडामा दलहरूको बेवास्ता

समाचार

राजनीतिक दलहरूका कारण नेपाल समस्याग्रस्त मुलुक बनेको छ । नेपाल सरकारबाट जनताले पाउनु पर्ने सेवाहरू सजिलै र सहज तरिकाले पाउन सकिरहेको छैनन् । जताततै भिडभाड गरी सरकारी सेवा लिनको लागि लामो लाइनमा बस्न नेपाली जनता बाध्य छन् । सरकारी सेवा लिने र पाउने चक्करमा नेपाली जनताको धैरै समय र पैसा खर्च भइरहेको छ । साथै, अनेक भौतिक दुःखहरू पनि खेपिरहेका छन्् । सरकारी सेवा चाँडो लिनका लागि नेपाली जनता दलालहरूको सहयोग लिएर भ्रष्टाचारीहरूलाई घुस खुवाउन बाध्य पारिएका छन् । सरकार चलाएर लामो समय सत्तामा बसेका राजनीतिक दलहरूले ल्याएका गलत नीतिहरू कै कारण नेपाली जनता यतिबेला पीडित भइरहेका छन् । तर, पनि सत्तामा बसेका राजनीतिक दलहरूले त्यसमा सुधार गर्नको लागि ध्यान दिएका छैनन् । जनताहरू लामो कालदेखि नै सत्तामा बसेर नेताहरूले लादेका नीतिहरूको सिकार बन्दै आएका छन् । दलहरूमा संगठित भएकाहरू लगभग २० लाख छन् भने नेपाली जनता पौने तीन करोड छन् । तर, पनि नेपालमा कुकुरले पुच्छर हल्लाउने होइन कि पुच्छरले कुकुरलाई हल्लाउने काम भइरहेको छ । २० दलले लगभग २ करोड ८० लाख नेपाली जनतालाई घुमाएर पीडित तुल्याउँदै आएका छन् । नेपालमा अहिले स्थानीय तहको चुनाव हुन लागेको छ भने निकट भविष्यमा नै केन्द्र र प्रदेश संसदको चुनाव पनि आउँदै छ । नेपालका राजनीतिक दलहरू सबै यतिबेला चुनावको तयारीमा जुटेका छन् । नेपाली जनताले दलका नेताहरूसित उनीहरूको कार्यक्षमता माथि प्रश्न उठाउने यही नै उचित बेला हो । दलका नेताहरूले अहिलेसम्म गरेका सही र गलत कामहरूको लेखाजोखा गरी त्यसमाथि प्रश्न सोध्न नेपाली जनताले तयार रहनुपर्छ । चुनाव जितेपछि काठमाडौं पसेका नेताहरूले आफ्नो चुनाव क्षेत्रमा नाकमुख देखाउनको लागि घरदैलो कार्यक्रम लिएर आउने छन् अनि त्यही बेलामा उनीहरूसित प्रश्न सोध्न सकिन्छ । दलका नेताहरूले दिएको सही वा गलत जवाफहरूको आधारमा नेपाली जनताले अब भोट हाल्नु पर्छ । नेपाली जनताले चुनावी सभामा नेताहरूले व्यक्त गरेको प्रतिबद्धताको आधारमा कहिले पनि भोट हाल्नु हुन्न । नेताहरूलाई चिन्ने बेला यही हो र नेताहरूले नेपाली जनतालाई पैसामा किन्न खोज्ने बेला पनि यही नै हो, त्यसैले नेपाली जनताले एक थाल मासुभात र एक बोतल रक्सीको भरमा नेताको हातमा बिक्री हुने मूर्खता कहिले पनि गर्नु हुन्न । नेताहरूको कालो धन लिएपछि र तिनीहरूको नुन खाएपछि नेपाली जनताको कहिले भलो हुने छैन । त्यसैले चुनावमा भोट कसलाई र किन हाल्ने भन्ने कुरा गम्भीर र संवेदनशील विषय भएको हुँदा सबै नेपाली जनताले सोचेर मात्रै आफ्नो मताधिकारको प्रयोग गर्नुपर्छ । सबैभन्दा महत्वपूर्ण कुरा के छ भने आफूले हालेको मत राष्ट्र र सबै नेपाली जनताको हितमा छ कि छैन भन्ने कुरा हजार बार सोचे पनि कमै हुन्छ । हजारौ गल्तीहरू भए गरे पनि देशद्रोही, राष्ट्रघाती र विदेशीको दलाललाई भोट हाल्ने गल्ती कदापि पनि गर्नु हुन्न । गलत नेतृत्वले राष्ट्रलाई डुबाउन सक्छ भन्ने कुराको हेक्का भोट हाल्दा मनमा राख्नुपर्छ । विदेशीको दलाललाई भोट हाल्दा तपाईं हाम्रै आगाडि युक्रेन भन्ने मुलुकको हाल अहिले के भएको छ भन्ने कुरा नभुलौँ । महाशक्ति राष्ट्र रुस र अमेरिकाको संसारभर राजनीतिक प्रभुत्व कायम गर्ने प्रतिस्पर्धाको चेपुवामा परी युक्रेन ध्वस्त भएको छ । रुस छिमेकी मुलुक भएको हुँदा भूगोलका आधारले गर्दा पनि छिमेकी मुलुकसित मिलेर बस्नु पर्ने यक्रेनले अमेरिकाको उक्साहटमा लागेर रुसको वर्चस्वको विरोधमा लाग्दा अहिले युक्रेनको त्यो दूर्गति भएको छ । जनयुद्धलगत्तै डर, त्रास र आसले गर्दा मओवादी पार्टीलाई नेपाली जनतालाई चुनावमा ठूलो जित दिलाएका थिए । नेपाली जनतालाई त्यतिबेला माओवादी पार्टीबाट राष्ट्रको सुरक्षा हुनको साथसाथै नेपाली जनताले शान्ति पाउने आसा भरोसा जागेको थियो । तर, माओवादी पार्टीले नेपाली जनताको आसा र भरोसाालाई एक–पछि अर्को गरी भताभुङ पारिसकेका छन् । आज नेपालको सीमानाको सुरक्षा पनि दलहरूले गर्न सकिरहेको छैन भने नेपाली जनताका सबै प्रकारको सुःख, शान्ति, भरोसा र विश्वास भंग भइसकेको अवस्था छ । जनयुद्ध ताका एक ढिक्का भएको माओवादी पार्टी र नेताहरू तितरबितर भएर सानासाना गुट र समूहमा रुपान्तरण भएका छन् । माओवादी केन्द्रले भने पहिलेको साखलाई जोगाउँदै अहिले सत्तामा जेनतेन टिकेर बस्न सफल भएको छ । तर, कतिसम्म टिकेर बस्न सकिने हो भन्ने ठूलो प्रश्न उनीहरूको सामु पनि खडा भएको छ । जंगलबाट सहरमा छिरेका माओवादी नेताहरू र कार्यकर्ताहरू विभिन्न पेसामा लागेर अहिले सहरी जीवनमा घुलमिल भइसकेका छन् । उनीहरू अब फेरि जंगलमै फर्किएर जनयुद्ध चलाउन सक्ने अवस्थामा छैन । समाजमा घुलमिल भइसकेका हुनाले समाजको नियम कानुनअनुसार चल्न र व्यवहार गर्न बाध्य छन् । नेपाली जनतालाई तर्साएर वा धम्काएर अब उनीहरूले भोट लिन सक्ने अवस्था नेपालमा विद्यमान छैन । शन्तिपूर्ण तरिकाले नेपाली जनतालाई फकाई फुल्याई खुसी पारे मात्रै नेपाली जनताले उनीहरूलाई भोट हाल्ने छन् । तर, माओवादीको फण्डा फुटिसकेको हुनाले अरु राजनीतिक दलहरू सरह नै हुन र कुनै नयाँ नौलो वा फरक काम गरी देखाउन सक्दैन भन्ने कुरा नेपाली जनता सबैले राम्रैसित बुझिसकेका छन् । नेपाली जनताले दुईतिहाई मत दिएर सत्ता सुम्पेको एमाले र माओवादी गठबन्धन अहिले सर्वोच्चको आदेशबाट पहिले कै जस्तो दुई छुट्टा–छुट्टै पार्टी भएका छन् । दुईतिहाई मत पाएर सत्तामा हुँदा एमाले र माओवादीहरूले कुनै ठोस काम गरी देखाउन सकेन । तिनीहरू बीचको किचलो र मतान्तर बढ्दै गएकाले ओली सरकार चल्नै नसक्ने अवस्थामा पुगेपछि सर्वोच्च अदालतले नै हस्तक्षेप गरेको कानुनी सर्जरीबाट अलग भएका हुन् । अबको चुनावमा यिनीहरू के मुखले कुन बहानाबाजी बनाएर जाने हुन भन्ने कुरा अझ स्पष्ट भइसकेको छैन । आगामी चुनाव सहजै र भव्यरूपमा जित्ने दाबी भने एमाले र माओवादी केन्द्र दुवैले गरिरहेका छन् । यदि यही कुरा सत्य हो भने नेपाली कांग्रेसलगायत अन्य सबै पार्टीहरू पत्तासाफ हुने देखिन्छ । एउटा कुरा के स्पष्ट छ भने यिनीहरू अलग–अलग चुनाव लडेपछि एक–अर्काको भोट भने प्रशसस्तै काट्ने छन् । यस्तो हालतमा नेपाली कांग्रेसले आगामी चुनावमा बाजी मार्न सक्ने संभावना पनि ठूलो छ । अहिले गठबन्धन गरी सत्तामा भएका चारदलहरू चुनाव पनि गठबन्धन नै गरी लडेको अवस्थामा चुनावको नतिजा फरक आउन पनि सक्छ र त्यो नेपाली कांग्रेसको पक्षमा हुने देखिन्छ । दलहरूलाई भोट हालौँ–हालौँ जस्तो गरी दलहरूले नेपाल राष्ट्र र नेपाली जनताको हित हुने कुनै ठोस काम गरी देखाउन सकेका छैनन् । नेपाललाई समृद्ध र नेपाली जनतालाई सुखी बनाउन सक्ने परियोजनाहरू दलहरूले अहिलेसम्म ल्याउन सकेको छैनन् । नेपालमा परियोजनाहरूको छनोट गर्दा विदेशी सहयोगमा भए विदेशी कै तजबिजमा छानिन्छ भने नेपालको आफ्नो बजेट लगानीको परियोजना भए दलका शीर्ष नेताहरूको तजबिजमा छानिन्छन्् । देशको सन्तुलित विकास गर्नको लागि पछाडि परेका क्षेत्रहरू र दुःखी नेपाली जनताले बसोबास गरेका भेगहरूको पहिचान गरी त्यहाँ परियोजनाहरू लैजाने नीति बनाउन दलहरूले ध्यान दिन सकेको छैन । परियोजनाहरू बलियो नेता भएका क्षेत्रहरूमा बग्रेल्ती छन् भने कमजोर दल वा नेताहरू भएको ठाउँमा धेरै बेवास्ता गरिएका छन् । सबैभन्दा दुःख लाग्दो कुरा त के छ भने दलहरूले तय गरेका विकासको डेलिभरी गर्ने संयन्त्र अति प्रभावहीन छन् । बजेटमा तोकिएअनुसारको पुँजीगत खर्च तोकिएको समयमा खर्च गर्ने दलहरूले बनाएको संयन्त्र अहिलेसम्म बेकामे सावित भएका छन् । सबै काम आर्थिक वर्षको अन्तिम महिनामा त्यो पनि असारको झरीमा गर्ने चलन बसेको छ र त्यसलाई दलहरूले अहिलेसम्म सुधार्न सकेको छैन । अन्तिम समयमा हतारहतार गरेको परियोजनाहरूको कामहरू पहिलो नम्बरमा गुणस्तरको बन्दैन भने दोस्रो नम्बरमा धमिलो पानीमा माछा मार्न पल्केका नेताहरू र निजामति हाकिमहरूले मिलेर भ्रष्टाचार गरी बजेट सक्ने काम मात्रै अहिलेसम्म गर्दै र हुँदै आएका छन् । यसरी नेपालमा अहिलेसम्म गरिएका र भएका विकास परियोजनाहरू राष्ट्रको आम्दानी होइन कि सबै खर्च बढाउने खालका मात्रै छन् । अहिलेसम्म डेलिभरीको हिसाबले केन्द्रबाट प्रदेश वा तहहरूमा पठाइएका रु. १ को पुँजिगत लगानी बजेटको २० पैसा मात्रै लक्षित परियोजना र वर्गमा पुग्न सकेको अनुमान छ भने बाँकी सबै भ्रष्टाचारीहरू र तिनका मतियारहरूले खाने गरेका छन् । दलका शीर्ष नेताहरूले बजेट मात्रै प्रदेशहरू र तहहरूमा पठाउने, तर त्यसको डेलिभरी राम्रोसित भएको वा नभएकोबारे वास्ता राख्ने गरेका छैनन् । विकासको यस्तो हालत रहेको मुलुक नेपालमा दलहरूलाई भोट हाल्ने वा नहाल्ने भन्ने दुविधाले आम नेपाली जनताको मनमा डेरा जमाएको छ । लक्षित वर्गहरू र समूहहरूसम्म तोकिएको बजेटको सतप्रतिशत डेलिभरी गर्न नसकेसम्म दलहरूप्रतिको नेपाली जनताको धारणामा कुनै फरक आउने छैन र आम जनताको नजरमा दलहरू सधैं भ्रष्टाचारी नै ठहरिने छन् र दलहरू जनताको पीडालाई ध्यान दिँदैनन् भन्ने विश्वास आम जनताको मनमा कायम भइ नै रहने छन् ।
०००

Leave a Reply

Your email address will not be published. Required fields are marked *