स्थानीय सरकारले विकासको कामभन्दा नामकारण र भ्युटावर बनाउन बिताए ५ वर्ष

समाचार

सावित्री खत्री
काठमाडौं । आगमी वैशाख ३० गते सरकारले स्थानीय चुनाव गराउँदै छ । निर्वाचन आयोगले निर्वाचनको लागि चाहिने सामग्रीदेखि विभिन्न किसिमका मतपत्र छाप्ने तयारी गरिराखेको छ । निर्वाचन आयोगले निर्वाचन अधिकृत यही चैत २९ गतेभित्र सबै जिल्ला, प्रदेश तथा ७५३ स्थानीय तहमा कर्मचारी खटाउने तयारी थालेको छ । राजनीतिक दलभित्र पनि स्थानीय चुनावमा कसलाई नेता बनाउने भन्ने माहोल बढेको छ । राजनीतिक दलभित्र स्थनीय नेता छान्न होडबाजी चल्दै छ । तर यो होडबाजीबीच एक्लै चुनावमा जानुपर्छ भन्दै प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले भन्ने गरेका छन् । निर्वाचन आयोग ‘सेटिङ’मा चल्ने गरेको आरोप उनले लगाएका छन् । उता गठबन्धनमा आबद्ध दलहरूले स्थानीय, प्रदेश र संघीय चुनावमा तालमेल गरेर जानेबारे छलफल गरिरहेका छन् ।
स्थानीय जनप्रतिनिधि बन्नलाई विभिन्न दलका राजनीतिक समर्थक, कार्यकर्ता टिकटको लागि शक्तिकेन्द्र धाउने क्रम पनि बढ्दै गएको छ । गएको स्थानीय चुनावमा वाम तालमेल गरेर तत्कालीन एमालेले स्थानीयस्तरमा बहुमत प्राप्त गरेको थियो । तर स्थानीय सरकारले खासै राम्रो काम गरेको छैन । स्थानीय जनतालाई कोरोनाकालमा दिनुपर्ने सेवा र विकासका योजना दिन सकेनन् । स्थानीय जनतालाई करको भारी बोकाएका छन् । स्थानीय सरकारले राम्रो भिजन र राम्रो विकासको खाका ल्याउन सकेनन् । खाली विभिन्न जिल्ला, प्रदेश सरकारले राज्यकोषको दुरूपयोग गरी भ्युटावर बनाउनेदेखि स्थानीय तहदेखि वडा, गाउँपालिका, महानगर, उपमहानगरका जनप्रतिनिधिले गाडी मोटरसाइकल खरिद गर्ने, तलब खाने, विकास योजनाको नाममा जताततै सडक खन्ने र विभिन्न नामकरण गर्नेभन्दा अन्य काम गर्न सकेका छैनन् । अहिले महानगर, उपमहानगरका मेयरभन्दा पनि स्थानीयस्तरको वडाध्यक्ष राजा भएका छन् । वडाले आफ्नो मनखुसी गरेको छ । महानगर, नगरपालिकाले भनेको गाउँपालिका र वडाका अध्यक्षहरूले मान्ने गरेका छैनन् । गाउँपालिकाभित्र विभिन्न जडीबुटी, खनिज पदार्थ, बालुवा, गिटी, ढुंगा इत्यादि भए पनि सदुपयोग हुन सकेको छैन ।
खाली चुनावमा भएको र खर्च गरेको उठाउने र आगामी चुनावलाई खर्च जोहो गर्नेभन्दा अन्य काम स्थानीय जनप्रतिनिधिले गर्न सकेका छैनन् । विभिन्न राजनीतिक दलका स्थानीय जनप्रतिनिधिले घोषणापत्रअनुसारको काम कुनै पनि प्रदेश र स्थानीय तहदेखि केन्द्रसम्म गरेका छैनन् । विकासको नाममा राजनीति गञ्जागोल बनाउने, आफ्नै पार्टीको सरकार गिराउने र सत्तामा पुगेपछि आफैं राजा बन्ने गरेका छन् । विकासको नारा दिएर ठूलठूला भ्रष्टाचार गर्ने माफियालाई पोसाउने र फोस्रा नारा लगाउने, जनताका बीचमा भए÷नभएका कुरा बोल्ने काम नेकपा एमाले, नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्रलगायतका अन्य दलहरूले गर्दै आएका छन् । नेपालमा नयाँ उद्योग सञ्चालन गर्न विभिन्न प्रदेशमा आ–आफ्नै पहिचान बोकेका जिल्ला, प्रदेश छन् । तर, यस्तो कुरामा विकास ल्याउने योजना छैन । नेपाली कांग्रेस पार्टी पुरानै धरातलमा रहेको छ । माओवादीले यो काम पूरा गर्न सक्दैन भन्ने विश्वास नेपाली जनतामा थियो र एमालेले सबै नेपालीको लागि विकासको योजना ल्याउँछ, जनताले सुख पाउँछन्, नेपाली विदेशिनु पर्दैन भन्ने थियो । नेपालमा उद्योग सञ्चालन गर्ने पार्टी एमाले हो भन्ने मान्यता नेपाली जनताले राखेका थिए । तर एमालेका अध्यक्ष केपी ओली आफूले चलाएको सरकारमा ४२ महिनामा झण्डै अर्बाैंको भ्रष्टाचार गरेर, गुटबन्दी बनाएर, संसद् विघटन गराएर आफू राजा बन्न खोजे ।
तर अहिलेको दुनियाँमा राजा महाराजा बनेर एकछत्र राज गर्ने दिन गइसकेको छ । केपी ओली सत्तामा पुगेपछि नेपाली जनताले राम्रो आशा र भरोसा राखेका थिए । तर ओलीकै अरौटे–भरौटेले एमाले पार्टी ध्वस्त पारिदिए । अझै एमाले अध्यक्ष ओली भन्दै छन् कि एमालेले बहुमत ल्याउँछ । के एमाले कार्यकर्ता पहिलाको जस्तो अवस्थामा छैन । एमाले पार्टीभित्र नियम, सिद्धान्त, ज्येष्ठता, क्षमतावान, पार्टीमा निरन्तर लागेका व्यक्ति विस्थापित हुँदै गएका छन् । एमाले पार्टीमा अहिले काम नगर्ने बेइमानी फटाह, भ्रष्टाचारी, एमालेको सूर्य चिह्न भजाएर खाने पार्टीको रूपमा स्थापित भएको छ । एमालेको सूर्य चिह्न भजाएर खाने गरेका छन् । पहिला तत्कालीन महासचिव मदन भण्डारीको नाम भजाएर खाने गरेका थिए । अहिले सूर्य चिह्न भजाएर खाने गरेका छन् । सबै पार्टीमा यस्तै अवस्था छ । नेपाली कांग्रेस पार्टीका नेताहरू विभिन्न चिह्न बोकेर खाने गरेका छन् । माओवादीमा माओत्सेतुङको नाम भजाएर खाने गरेका छन् । पञ्चायत व्यवस्थामा पृथ्वीनारायण शाहको नाम भजाएर पञ्चायती नेतालेजस्तै अहिले राजतन्त्रको नाम भजाउँदै छन् भने नेपालमा प्रजातन्त्र स्थापनाकालदेखि गणतन्त्र स्थापनाकालसम्म आइपुग्दा विकासभन्दा देशप्रेमी नेताको नाममा मोजमस्ती गर्ने राजनीतिक प्रवृत्ति मौलाउँदै गएको छ । अहिले स्थानीय निर्वाचनमा विकासमुखी जनप्रतिनिधि चुन्नुपर्नेमा विभिन्न राजनीतिक दलका नेतामुखी जनप्रतिनिधि चुन्ने काम हुँदै छ । यस्ता कुरामा स्थानीयवासीले ध्यान दिन जरूरी देखिन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *