सशस्त्र प्रहरीका प्रमोद साहको ३ करोडको हवेली

समाचार

काठमाडौं । सशस्त्र प्रहरी मुख्यालयमा सवारी शाखा प्रमुखका रुपमा झण्डै विगत ४ वर्षदेखि कार्यरत र अनेक घोटालामा संलग्न एसपी प्रमोद साहलाई पुरस्कारस्वरुप बढुवा दिन लागिएको छ । सवारी शाखाका प्रमुख भई कार्यरत रहँदा उनले वर्षौंदेखि थन्किएका पुराना सवारी साधनहरु लिलाम बढाबढमा बेची आयका रुपमा नदेखाई कवाडीलाई खुसुक्क बेचेर करोडभन्दा बढी घोटाला गरे । वर्षौंदेखि जम्मा भएका पुराना गाडी र गाडीका पुर्जाहरु सातवटा १०÷१२ चक्के ठूला ट्रकमा मुख्यालयबाट सतुंगलस्थित मर्मत सम्भार केन्द्रमा लगी थन्काउने भनी प्रमोदको निर्देशनमा बाहिर निकालियो । तर ती ट्रकहरु कहिल्यै सतुंगलस्थित केन्द्रमा पुगेनन् । ती सबै सामानहरु सतुंगल छेउमा रहेका कवाडी पसल र सम्पर्कमा रहेका अन्य मानिसलाई जिम्मा लगाएर प्रमोदले करोडौं घोटाला गरे । ६ वटा गाडीका सामान बाटैमा बेचेर आफ्नै खल्ती भरेका भएपनि एउटा गाडी भने मर्मतसम्भार केन्द्रमा लगी सामान बुझाएको भर्पाई लिए । एसपी प्रमोदले दश वर्ष अघिदेखिका गाडीका पार्टपुर्जा र सामानहरु बेचेर खाँदै आएका छन् । सवारी शाखामै बसेर उनले सानेपामा ३ करोडभन्दा बढीको घर समेत खरिद गर्न भ्याएका हुन् ।
यो त उनले गरेका अनगिन्ति घोटालामध्येका एक दृष्टान्त मात्र हो । प्रमोदले गरेका अनियमितता र बदमाशीका बारेमा सशस्त्र मुख्यालयमै निकै चर्चा हुन थालेपछि एसएसपी पालको संयोजकत्वमा छानवीन समिति पनि बन्यो । समितिले प्रमोदले गरेका कतिपय घोटाला र अनियमितताको बारेमा प्रष्ट उल्लेख गरी प्रतिवेदन कानुन शाखालाई बुझायो । सशस्त्र नेतृत्वलाई रिझाएर बसेका प्रमोदलाई सामान्य स्पष्टिकरण सोधेर सवारी शाखाकै केही प्रहरीहरुको सरुवा गरी प्रतिवेदनलाई त्यत्तिकै थन्काइएको छ ।
मातहतका प्रहरीहरुलाई बिदा छाड्दा पनि प्रमोदले शुभलाभलाई प्राथमिकतामा राख्ने गरेका छन् । गाउँबाट आउँदा उनलाई राम्रो चामल, दाल, घिउ, मह आदि ल्याइदिन लगाउँछन् । गाउँतिर राम्रो चामल, दाल, घिउ, मह पाईला नि ? भन्दै कोशेली ल्याइदिनेलाई सहजै महिनौंसम्म बिदा छाड्ने र नदिने वा नजान्नेहरुलाई किन चाहियो बिदा भन्दै दुरुत्साहित गर्ने गर्छन् । उनी निकट एक महिला प्रहरीलाई त लगातार महिनांैसम्म बिदा छाडेपछि विवाद नै भएको थियो । तलका प्रहरीमाथि शोषण गरी माथिकालाई रिझाउन खुब सिपालु प्रमोद अहिले बढुवाको अन्तिम चरणमा रहेका छन् ।
सिमा सुरक्षादेखि जनधनको संरक्षण गर्नुपर्ने प्रमुख दायित्व भएको र यसकै लागि राज्यले करोडौं खर्चिएको प्रहरी हाकिम जब घोटाला गर्ने र शुभलाभ हासिल गर्ने बाहेक अरु सोच्नै सक्दैन भने त्यो मुलुक र जनताको भलाई कसरी होला ? तर सशस्त्र प्रहरी बलले यस्तै मानिस र प्रवृत्तिलाई प्रोत्साहन दिन्छ भन्दा सुन्नेलाई भन्दा गर्नेलाई लाज जस्तो भएन र ?

Leave a Reply

Your email address will not be published. Required fields are marked *