रुपक सापकोटा र सुजाता हिस्स

समाचार

काठमाडौं । सम्पन्न १४ औं महाधिवेशनमा प्रकाशमान प्यानलबाट उपसभापतिमा उम्मेदवारी दिएकी र सभापतिको मामिलामा भने आफ्ना दाजु शेखर कोइरालालाई छाडेर शेरबहादुर देउवालाई समर्थन गरेकी सुजाता कोइरालाको मन्त्री हुने ठूलो इच्छा रहेको थियो । यो इच्छालाई घूर्कीको रुपमा व्यक्त गर्ने क्रममा सुजाताले पार्टी तथा सरकारमा कुनै जिम्मेवारी नपाए छोरी सँगै लण्डनमा पलायन हुने घूर्की समेत देखाउने गरेकी थिइन् । र, प्रधानमन्त्री देउवालाई रिझाउनका लागि शेखर र शशांक कोइरालाले गठबन्धनको चर्को विरोध गर्दा सुजाता कोइरालाले भने रामचन्द्र पौडेलकै स्तरमा आएर गठबन्धनको पक्षमा चर्को वकालत गर्ने गरेकी थिइन् । तर गत साता प्रधानमन्त्री देउवाले आफूले नेतृत्व गरेको मन्त्रिपरिषदको सामान्य परिवर्तन गर्दा नेतृ सुजाता अट्न सकिनन् ।
प्रधानमन्त्री देउवाले मिलिनियम च्यालेन्ज कर्पोरेशनदेखि सरकारलाई सहयोग गरे वापत सांसद सदस्य नभएपनि वरिष्ठ अधिवक्ता हरि बन्दीलाई न्याय, कानुन तथा संसदीय व्यवस्था मन्त्री बनाएर पुरस्कृत गरेका छन् । यसैगरी न्याय कानुन तथा संसदीय व्यवस्था मन्त्रालयको जिम्मेवारी सम्हालिराखेका दिलेन्द्र बडुलाई उद्योग वाणिज्य तथा आपूर्ति जस्तो भीम काय र आकर्षक मन्त्रालयको जिम्मेवारी दिएका छन् । प्रधानमन्त्री देउवाले हरि बन्दीलाई समावेश गरेर मन्त्रिपरिषदको सानो विस्तार गर्दा कांग्रेस नेतृ सुजाता निराश हुनुपर्ने अवस्था आएको थियो भने गत साताको बिहीबार नै सरकारले विभिन्न बीस मुलुकमा राजदूति नियुक्ति गरेको घटनालाई लिएर सभामुख अग्नी सापकोटा पनि त्यसैगरी निराश हुनुपर्ने अवस्था आएको थियो । बीस मध्ये बाह्र राजदूतको राजनीतिक नियुक्ति गरिएको थियो भने आठ जनालाई कुटनीतिक क्षेत्रमा रहेका उच्च अधिकृतहरुको नियुक्ति भएको थियो । तर राजनीतिक आधारमा गठबन्धनका दलहरुले भागबण्डा गरेर १२ जना राजदुत नियुक्ति गर्दा सभामुख अग्नी सापकोटाका छोरा रुपक सापकोटाले राजदुत हुने अवसर प्राप्त गर्न सकेनन् । सभामुख सापकोटा माओवादी अध्यक्ष प्रचण्डको सिफारिसमा आफ्ना छोरा रुपक चीनका लागि राजदूत हुनेमा ढुक्क थिए । अध्यक्ष प्रचण्ड र एकीकृत समाजवादीका अध्यक्ष माधघव नेपाललाई आफूले पु¥याएको सहयोगको कारण छोरा सापकोटाले चीनका लागि राजदूत बनाएर आफूलाई अध्यक्ष प्रचण्डले पुरस्कृत गर्ने विश्वास सभामुख सापकोटाको रहेको थियो । तर चीनका लागि राजदूतमा अध्यक्ष दाहालले धादिङका विष्णु पुकार श्रेष्ठलाई सिफारिस गरेपछि सभामुख अग्नी सापकोटा र उनका छोरा रुपक सापकोटा हिस्स हुने अवस्थामा पुगे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *