कृषि मन्त्रालयमा साँढे र राँगाको व्यापार

समाचार

काठमाडौं । अहिले काम विशेषले तपाई कृषि मन्त्रालयतिर पुग्नुभयो भने त्यहाँ रासायनिक मलभन्दा बढी चर्चा सुनिने बस्तु छ,‘साढे,राँगो र घाँस ।’
चीनसँग घाँस निर्यात सम्झौता गरेको नेपालले अमेरिकाबाट ६ वटा साँढे नेपाल भित्राइसकेको छ भने हालै दक्षिणी छिमेकी मुलुक भारतसँग राँगो सम्झौतामा हस्ताक्षर गरेर मन्त्री महेन्द्र राय यादव स्वदेश फर्किएसँगै अहिले कृषिमा यी तीन वटा बिषयबस्तुले व्यापक चर्चा पाएको हो । कृषकलाई रसायनिक मलसमेत समयमा दिन नसकेर आलोचित हुँदै आएको कृषि मन्त्रालयले यी तीन सम्झौतालाई बर्षकै ठूलो उपलव्धीको रुपमा चर्चा गर्न थालेको छ । एमसीसी अनुमोदनसँगै अमेरिकाबाट ६ वटा साढें नेपाल भित्राइसकिएको नेपाल सरकारले भारतबाट राँगो किन्ने तयारी तिव्र गतिमा अघि बढाएको छ । कृषि मन्त्रालय स्रोतका अनुसार, हालै प्रधानमन्त्री शेरबहादुर देउवासँगै भारत भ्रमणमा गएर फर्किएका मन्त्री महेन्द्र राय यादवले भारतसँग ‘हाइव्रिड राँगो’ खरिद सम्झौतामा हस्ताक्षर धस्काएर फर्किएका छन् । भारतसँग ३० वटा राँगा खरिद गर्न लागिएको मन्त्रालयले जनाएको छ ।
यस अघि नेपालमा एमसीसी अनुमोदन भएकै साता दिन नबित्दै अमेरिकाबाट १ करोड २५ लाख तिरेर ६ वटा साँढे भित्राइसकिएको छ । ती साँढेलाई पोखरास्थित राष्ट्रिय प्रजनन केन्द्रमा राखिएको छ । अमेरिकाबाट सात वटा साँढे किन्ने सम्झौता भएकोमा बाटोमा एउटा साँढेको मृत्यु भएको कृषि मन्त्रालयले बताएको छ । अहिले भारतसँग ३० वटा मुर्रा प्रजातिका राँगा खरिद गर्ने प्रक्रिया अघि बढाइएको छ । उता उत्तरी छिमेकी मुलुक घाँस निर्यात सम्झौता भएको छ । नेपालमा पाइने तीन प्रकारका साइलेन–हेलज, मकै र नेपियर (हाइब्रिड घाँसको जात) हरियो र सुक्खा घाँस चीन निर्यात गर्ने सम्झौतामा हस्ताक्षर भएको कृषि मन्त्रालयले जनाएको छ । यी तीनैथरी सम्झौतालाई मन्त्रालयले ठूलो उपलव्धीको रुपमा प्रचार गर्न थालेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *