पुँजीवादको सेरोफेरोमा दलहरु अलमलियो

समाचार

नेपालको राजनीतिक दलहरुलाई उनीहरुको राजनीतिक प्रतिबद्धता अनुसार तीन खेमामा बाँड्न सकिन्छ । पहिलो खेमामा पुँजीवादी दलहरु छन भने दोस्रो र तेस्रो खेमामा क्रमसस् सामजवादी दलहरु र साम्यवादी दलहरु पर्दछन् । नेकपा माओवादी साम्यवाद प्रति दृढसंकल्पित भएर नेपालको राजनीतिमा लागेको पार्टी हो । त्यो भन्दा केही तल समाजबाद प्रति दृढसंकल्पित भएर नेपालको राजनीतिमा लागेका बिभिन्न नाम भएका राजनीतिक दलहरु छन । त्यस मद्धे अहिले दृढताको साथ समाजवादी राजनीतिक लक्ष प्रति संकल्पित भएर अगाडि बढेको राजनीतिक दल शीर्ष नेता माधब कुमारले नेतृत्व गर्नु भएको एकीकृत समाजवादी पार्टी नै हो । अन्तिम राजनीतिक लक्ष साम्यवाद वा समाजवाद जे भएको भए पनि अहिले नेपालका कम्युनिष्टहरु पुँजीवादको सेरोफेरोमा नै रुमलिएर वा अलमलिएर बसेका छन । नेपालको तत्कालिन राजनीतिक परिस्थितले र विश्व भू(मण्डलीकरणले श्रृजना गरेको दबाबले गर्दा नेपालको कम्युनिष्टहरु सित स्पष्ट राजनीतिक लक्ष हुँदाहुँदै पनि त्यसलाई बिचमा नै थाती राखी सत्तासमिकरण गर्दै भागबण्डाको राजनीतिलाई बढवा दिएर राजनीतिक लचकताको साथ अन्तिम राजनीतिक लक्ष तर्फ अगाडि बढ्ने क्रममा छन । नेपाली काँग्रेस नेपालको राजनीतिक रंगमञ्चमा पुँजीवादी खेमाका राजनीतिक दलहरुको नेतृत्व गर्ने दल हो । पुँजीवादी दलहरुको अन्तिम राजनीतिक लक्ष भनेको संसदवाद नै हो । राजनीतिको यो विन्दुमा पुगेपछि पुँजीवादीहरु संसदकै सेरोफेरो रमाएर बस्छन भने समाजवादी र साम्यवादी दलहरु जनताले बोकाएको राजनीतिक भारी कती पनि नथाकी फूर्तिको साथ बोकेर लगातार अन्तिम साम्यवादी र समाजवादी लक्ष तर्फ बढेकबढेकै गर्छन । अन्तिम सम्यवादी लक्षमा पुग्दा नपुग्दा समाजवादीहरुले पनि साथ छाडीसकेका हुन्छन् । यतिबेला नेपालका कम्युनिष्टहरु ठुलो अन्योलमा छन । साम्यवादी लक्ष सम्म पुग्नसकिने हो की होइन भन्ने डर त्रासले गर्दा भित्रभित्रै कुण्ठित भएका छन । यहि कारणले गर्दा नेपाली कम्युनिष्टहरुको ठुलो जमात पुँजीवादको सेरोफेरोमा नै अलमलगरी संसदवादी पार्टीमा रुपान्तरित भएर राजनीति गर्दै बसेका छन । कतीले आफ्नो अन्तिम राजनीतिक लक्षलाई संसोधन गरी राष्ट्रिय पुँजीवाद बिकासको हौवा दिएर संसदवादको आफ्नो अन्तिम राजनीतिक लक्षलाई घटुवा पनि गरीसकेका छन । पुँजीवादका अन्तिम राजनीतिक लक्ष यहि नै भएको हुँदा पुँजीवादीहरु संसदकै सेरोफेरो सदासर्वदा अलमलिएर बस्ने गर्दछन । कम्युनिष्ट पार्टीहरु संसंदलाई बलियो बनाएर बस्ने राजनीतिक दल होइन । सच्चा कम्युनिष्टहरुको लागि पुँजीवाद भनेको सम्यवाद सम्म पुग्ने मार्गको एउटा बिसाउनी मात्रै हो । संसद एक रणनीतिक आश्रयस्थल मात्रै हो । सच्चा कम्युनिष्टहरुले त्यसैको सेरोफेरोमा अलमलिएर महत्वपूर्ण समय खेर फाल्नु हुँदैन । सच्चा कम्युनिष्टहरुले मनमा के हेक्का राख्नु पर्दछ भने जानु टाढा छ बिचमा बिश्राम गरे समयमा पुगिने छैन । उकालो चढ्नु कठिन हुन्छ तर उकालो चढी शिखरमा पुगे पछि प्राप्त गर्न सकिने जितको आनन्द अकल्पनिय हुन्छ । त्यसरी कठिन मेहनत गरी प्राप्त हुन वा प्राप्त गर्न सकिने आनन्दलाई नै परमानन्द भनिन्छ । सम्यवादी राजनीतिक लक्ष प्राप्त गर्न सके मात्रै नेपालको सच्चा कम्युनिष्टहरुलाई परमानन्द मिल्ने छ । नेपालको राजनीतिमा संसोधनवादीहरुको पनि बेलाबेलामा ठुलो चर्चा परिचर्चा चल्ने गरेको छ । साम्यवादी राजनीतिक अन्तिम लक्षलाई घटुवा गरी समाजवादी लक्ष राख्दै पुँजीवाद तिर ओर्लिनेहरुलाई संसोधनवादी वा प्रतिगमनकारी भन्छन । नेपालको राजनीतिमा गद्दार भनी गालीगरिएका ठुला कम्युनिष्ट नेताहरु पनि छन । एक जमानामा कम्युनिष्ट पार्टीका संस्थापक श्रद्धेय नेता स्वर्गिय पुश्पलाल श्रेष्टलाई पनि यस्तो आरोप लगाईएको थियो । नेपालको परिपक्षमा स्वर्गिय जननेता मदन भण्डारीले प्रतिपादन गर्नु भएको जनताको बहुदलीय जनवादलाई नै एमालेका नेताहरुले मार्क्सवाद र लेलिनवाद हो भनी भन्ने गरेका छन । तर समग्रमा भन्नु पर्दा यो साम्यवाद राजनीतिक लक्षमा भएगरेका संसोधन नै मान्नु पर्छ । संसारमा वास्ताविक रुपमै साम्यवादी मुलुक कुनै छैन । साम्यवादी मुलुक स्थापना गर्ने अभियानमा नेतृत्व गरी अग्रनी स्थान ओगटेको मुलुकहरु रुस र चीनमा एकल कम्युनिष्ट पार्टीको राज स्थापित भएका छन । रुसमा उल्टोपाल्टो भए पनि चीनमा भने अहिले सम्म कम्युनिष्ट पार्टीकै शासन सत्ता निरन्तर रुपमा चल्दै आएको छ । उक्त मुलुकहरुका कम्युनिष्टहरुले ज्ञान विज्ञानमा गरेका प्रगतीहरुकै कारण संसार भर कम्युनिष्टहरुको बर्चश्व कायम भएको थियो । नेपालका नेताहरुले सिंहापुर, मलेशिया, ईन्डोनेशियाले गरेको बिकासलाई उदाहरणको रुपमा बेलाबेलामा पस्किने गरेका छन । खास गरी सिंहापुरले गरेको बिकासबाट नेपालका ठुला नेताहरु ज्यादै नै प्रभावित छन । बेलाबेलामा नेपाललाई पनि सिंहापुर जस्तै बनाएर छाड्ने उदाहरण दिने गरेका छन । हालै आएर थाईलैंड, लावस, भियतनामले पनि बिकास र आर्थिक उन्नतीमा ठुलो फड्को मारेका छन । यो सबै मुलुकहरुको राजनीतिक व्यवस्थालाई हेर्दा त्यो साम्यवादी ढाँचाका नै छन । उक्त सबै मुलुकहरुमा एकल राजनीतिक पार्टीको राज लामो समय देखि चल्दै आएका छन । दलगत ढाँचामा चुनाव हुने भएता पनि उक्त मुलुकहरुमा अहिले सम्म मुलुकको नेतृत्व गर्ने पार्टी बदलिएको छैन । उक्त मुलुकहरुमा संधै एउटै पार्टीले मात्रै सत्तामा बस्दै आएको देखिन्छ । त्यसकारण यदि नेपालको बिकास सिंहापुरले गरेको झै गर्ने हो भने पहिले नेपालको राजनीतिक व्यवस्थालाई नै साम्यवादीकरण गर्नु पर्छ अर्थात एकल पार्टीको राजनीतिक नेतृत्व मुलुकले पाउने सुनिश्वता तुल्याउनु पर्छ । सत्ता र राजनीतिक भागबण्डाको लागि नेपालको राजनीतिक दलहरु गठबन्धन गरी एक ढिक्का हुन सक्छन भने अब नेपालको बिकासको लागि पनि दलहरु सबै एक ढिक्का बनेमा सुनमा सुगन्ध थपेबराबर हुन सक्छ । आखिर दलहरुका बिच ठुलो राजनीतिक मतमतान्तर वा मतभेद् केही छैन । फरक भनेको राजनीतिक दलहरु बिचको अन्तिम राजनीतिक लक्ष मात्रै हो । अहिले सबै दलहरुको राजनीतिक मिलन विन्दु संसद हो भने भोलीका दिन उक्त राजनीतिक विन्दुलाई सम्यावाद तिर धकेल्न पनि सकिन्छ । यहि नीति सिंहापुरले लिएको हुँदा सिंहापुरले गरेको बिकास संसार कै लागि उदाहरणीय बनेको छ । यस्तो राजनीति परिस्थिति नेपालमा बिकास गर्नको लागि यहाँका अहंकारी, लालची र अज्ञानी नेताहरु नै मुख्यरुपले बाँधा भएका छन । दक्षिण पूर्वी एशियाली मुलुकहरुले आफ्नै बलबुतामा यस्तो चमात्कारीक बिकास गरेका हुन । नेपालको सन्दर्भमा कुरा गर्दा नेपालका नेताहरुलाई आफ्नै श्रोत साधन र जनशक्ति माथि बिश्वास छैन । बिदेशीले बनाईदिएका नमुना बिकासहरुकै भरमा नेताहरुले लामो काल देखि नेपाली जनतालाई लण्ठाएर राखेका छन । बिदेशीको दान, अनुदान र ऋणको भरमा नेपालको बिकास गर्छौ भनी नेपाली जनताको टाउकोमा ऋण माथि ऋण थपी सुन्दर, शान्त र बिशाल मुलुक नेपाललाई दलका नेताहरुले चुर्लुम्मै ऋणमा डुबाईसकेका छन । यस्ता मुखमा रामराम बगलीमा छुरा भएका नेताहरु एक आपसमा मिल्न नसक्ने हुँदा मुलुकको बिकास ऋणको भुमरीमा डुबाउँदै नेपाललाई कंगाल तुल्याएर बर्बाद बनाउदै लगेका छन । नेपालका नेताहरुले बिदेशी सित मिलोमतो गरी बिदेशीको दलाल बनेर आफ्नै मुलुक नेपालको बिकास नगरी बस्दा मुलुकलाई त धोका भयो भयो तर नेपालीको भबिष्यको सन्ततीलाई पनि उसले नगरेको गल्तीको आधारमा ऋणमा डुबाएर बिदेशीको गुलाम बनाउदै लागेका छन । यस्ता बिदेशीका दलाल बनीसकेका दलहरुबाट नेपालको सुरक्षा र आर्थिक बिकास नहुने ठोकुवाका साथ भन्न सकिन्छ । नेपालको सुरक्षा र नेपाली जनताको शान्तिको लागि दलहरुकै विकल्प खोज्नु पर्ने राजनीतिक बाध्यता अहिले नेपाली जनताको काँधमा आईपरेको छ । नेपालमा अहिले स्थानिय चुनाव हुन लागेको छ भने केही महिना पछाडि संघिय संसदको चुनाव संविधानले तोकेको समय भित्रै हुने निश्चित छ । उक्त संविधान बनाउदा दलहरुले राजतन्त्र र राजावादीहरुलाई निषेद् गर्दै कुनैपनि राजनीतिक भूमिका दिने व्यवस्था राखेको छैन । नेपाली जनतालाई सोद्धै नसोधी नेपाललाई धर्मनिरपेक्ष राष्ट्र संविधानमा लेखकेका छन । नेपालको बिकास र राजनीतिमा बिदेशीको हस्तक्षेपलाई दलहरुले बढाएका छन । पश्चिमी मुलुकहरुको प्रभावमा परी नेपाललाई ईशाई धर्मको अड्डा बनाएका छन भने बिदेशी बैंकहरु र बिदेशी गैरसरकारी संस्थाहरुलाई मनोमानी रुपमा परियोजनाहरु छनौट गर्न र बनाउन दिएका छन । यस्ता दलहरुबाट नेपालको सुरक्षा हुन नसक्ने भएकाले अबको चुनावमा दलहरुकै विकल्प खोज्नु पर्ने राजनीतिक परिस्थित नेपालमा विद्यमान छ । पुँजीवादी अर्थतन्त्र र संसदिय व्यवस्थाको सेरोफेरोमा नेपालको आर्थिक उन्नती हुँदैन भन्ने कुरा अब ऐना हेरे झै छर्लङ्गै भएको छ । त्यसैले नेपाललाई सिंहापुर नै बनाउने हो भने दलहरु हालको संसदिय विन्दुवाट समाजवाद वा साम्यवाद तर्फ कदम बढाएर एकदलियतन्त्रलाई बढवा दिनैपर्छ । साथै बिदेशीको प्रभावमा परी नेपालमा कपीपेस्ट गरिएको संघिय गणतान्त्रिक लोकतन्त्रमा मौलिक थपघट गरी राजतन्त्र र राजावादीहरुलाई पनि कुनै न कुनै राजनीतिक भूमिका दिनै पर्छ । यहि परिवर्तनको सेरोफेरोमा नेपालको राजनीतिलाई अगाडि बढाउन सकेमा मात्रै नेपाल राष्ट्को सुरक्षा पनि बढ्ने, नेपालको मौलिक बिकास पनि हुने र नेपाली जनताको जीवनचक्रमा शान्ति र प्रसन्नता पनि छाउने देखिन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *