काठमाण्डौमा बसेर जिल्लाको राजनीति गर्ने होइन जिल्लामा नै भिजेको नेताको खाँचो छ

अन्तरवार्ता

३० वैशाखको स्थानीय तहका निर्वाचनका लागि राजनीतिक दलहरुले थोरै मात्र महिलालाई प्रमुखमा रुपमा मैदानमा उतारेका छन् । तिनैमध्ये रसुवाको नौकुण्ड गाउँपालिकाको अध्यक्षमा एमालेले सिर्जना लामालाई मैदानमा उतारेको छ । यस अघि कान्छी महिला उपाध्यक्षको रुपमा एक कार्यकाल चलाइसकेकी सिर्जना नौकुण्डबासीको चाहना अनुसार नै आफू अध्यक्षको रुपमा मैदानमा होमिएको सुनाउँछिन् । जनतामाझ भिजेकी र स्थापित भएकी नेतृ सिर्जना लामा जनतालाई काठमाण्डौमा बस्ने नभई जिल्लामा नै भिज्ने नेताको खाचो रहेको सुनाउँछिन् ।
चुनावको तयारी र प्रचारप्रसारका लागि घरदैलोमा हिँडिरहनु भएको छ । कस्तो प्रतिक्रिया पाउनु भएको छ ?
जनतामा जाँदा सकारात्मक प्रतिक्रिया आएको छ । जनतामा अथाह उत्साह छ । विकासका लागि सिर्जना लामा भन्ने छ । नौकुण्ड गाउँपालिकाको विकास र समृद्धिको लागि मेरो नै आवश्यकता रहेको स्थानीयहरुको जोडबल रहेको छ । विकास गर्नका लागि अरुले गर्न सक्दैन भन्ने आम नौकुण्ड गाउँबासीको बुझाइ छ । जनस्तरमा मैले सोचेको भन्दा पनि राम्रो उत्साह पाएको छु ।
० पहिलो कार्यकालमा के गर्न सक्नुभएन र फेरि दोस्रो कार्यकालका लागि उपाध्यक्षबाट अध्यक्षमा उमेदवारी दिनुप¥यो ?
पहिलो कार्यकालमा गर्न नसकेको भन्ने होइन । दीर्घकालीन सोचका साथ नौकुण्डको विकास र समृद्धिका लागि हामीले जग तयार गरेका हौं । अब यसलाई पूर्णता दिनका लागि एक कार्यकाल चाहियो । अधूरा रहेका काम सम्पन्न गर्ने दायित्व मेरो काँधमा बोकाउन खोज्नुभएको छ स्थानीयवासीहरुले । नौकुडको भविष्य र जनताको अपेक्षालाई हेरेर पनि अब एक पटक कार्यकाल भयो भने यी सबै काम गर्न सक्थेँ । नौकुण्डलाई हेर्न र गर्व गर्न लायक बनाउने भनेर उम्मेद्धारी दिए । समग्र आवश्यकतालाई बुझेर अध्यक्षका लागि उमेदवारी दिएको छु ।
तपाईका चुनावी एजेण्डाहरु के के छ ?
नौकुण्डमा २९ वटा विद्यालय छन् । यस्तै सामुदायिक बिद्यालयहरु कक्षा १–५ सम्म तत्काल आइसीटीको प्रयोग गरि अग्रेंजी माध्यमबाट सञ्चालन गर्ने र मातृभाषाको प्रयोग तथा स्थानीय पाठ्यक्रम निर्माण गरि कक्षा सञ्चालन गर्ने साथै प्लस टु सम्म निशुल्क शिक्षा सुनिश्चित गर्ने, कक्षा ५ र ८ को अन्तिम परीक्षा पालिकास्तरिय लिने र उत्कृष्ट बिद्यालय ,विद्यार्थी र शिक्षकलाई सम्मान गर्ने, बालबिकास कक्षाहरु ब्यवस्थित गर्ने, नौकुन्ड गाउँपालिकामा एउटा सामुदायिक क्याम्पस सञ्चालनको लागि पहल गर्ने,शिक्षा ऐन तथा शिक्षा नियमावली अनुसार बिद्यालय प्र अ नियुक्ति गर्ने र बिद्यालय व्यवस्थापन समिति गठन गर्ने, पहिलो बर्ष कुनै एक माबी बिद्यालयलाई लिइ नमुना बिद्यालयको रूपमा प्रोजेक्ट सञ्चालन गर्ने र उक्त बिद्यालयमा अङ्ग्रेजी,गणित,अकाउण्ट,शिक्षा,बिज्ञानजस्ता बिषय अङ्ग्रेजी माध्यमबाट पढाउने, शिक्षकको तहगत दरबन्दी मिलानमा प्राथमिकता दिने, शिक्षक नियुक्ति गर्दा राजनीतिक हस्तक्षेप नभई सक्षम,योग्य ब्यक्ति निस्पक्ष ढंगले नियुक्ति गर्ने, शिक्षकलाई पेशागत तालिम प्रदान गर्ने, प्रत्यक बिद्यालयमा अतिरिक्त क्रियाकलाप ३÷३ महिनामा सञ्चालन गर्ने, बिद्यालय ब्यवस्थापन समिती र शिक्षक अभिभावक संघलाई आफ्नो काम कर्तव्य र अधिकार सम्बन्धी क्षमता बिकास तालिम प्रदान गर्ने, ५ वटा माध्यमिक बिद्यालय ( निर्कुभुमे,गौतम बुद्ध ,नारायण मा बि,बागेश्वरी ,गोसाइँकुण्ड ) हरुमा छात्रबासको निर्माण तथा सन्चालन गर्ने, प्रत्येक बिद्यालयमा इन्टरनेटको ब्यवस्था गर्ने, प्रत्येक बिद्यालयमा स्वच्छ खानेपानी ,सुरक्षीत खेल मैदान , घेराबार, ब्यवस्थित शौचालयको ब्यवस्था गर्ने, छात्राहरुको लागि निशुल्क सेनिटरी प्याड बितरण गर्ने, बिद्यालयमा बालक्लब तथा स्काउट ट्रुप सन्चालन गर्ने, प्राबिधिक तथा उच्च शिक्षा अध्ययन गर्ने जेहेन्दार तथा गरिब विद्यार्थीहरुलाई शैक्षिक अनुदान प्रदान गर्ने, बिषयगत सुधारको लागि कोचिङ क्लास सन्चालन गर्ने, बौद्ध बिद्यालय स्थापनामा जोड दिने, सत प्रतिशत महिला साक्षारता घोषणा गर्ने, आमा शिक्षा कार्यक्रम सन्चालन गर्ने, सुत्केरी आमाहरुको लागि सुत्केरी पोषण, झोला कार्यक्रम ल्याउने, एकल महिलाहरुको लागि जिबिकोपार्जन कार्यक्रम सन्चालन गर्ने, आमा समूह गठन तथा परिचालन गरि आमाहरुको माग र आवश्यक्ता अनुसार विभिन्न सीप बिकास तालिम सन्चालन गरि बिउँ पूंजी अनुदान प्रदान गरि ब्यवसायी ÷उद्यमी बनाउने, उपभोक्ता समितिमा आमा ÷महिलाहरुको अर्थपूर्ण नेतृत्वमा गठन गरि सम्झौतामा सय प्रतिशत छुट दिने, आमाहरुको स्त्री रोग तथा पाठेघर सम्बन्धि समस्या गाउँ मै भिडियो स्कृनिङ सहितको स्वास्थ्य शिबिर सन्चालन गरि निशुल्क अप्रेसन ÷ उपचार गराउने, आमा÷ महिला सहकारी बनाई आमाहरुले उत्पादन गरेको कृषिजन्य उत्पादन खरिद गरि बजारिकरण गर्ने, गर्भवती आमा स्वास्थ्य बिमा कार्यक्रम सन्चालन गर्ने, बिकासमा महिला,समृद्धिमा पहिला कार्यक्रम सन्चालन गर्ने, हिंसामा परेको महिलाहरुलाई उद्दार ,कानुनी सहयोग तथा महिला संरक्षण कोष सन्चालन गर्ने, न्यायमा महिलाको सरल पहुँचको लागि महिला सहायता कक्ष सन्चालन गर्ने, स्वच्छ भान्छा स्वस्थ जीवन कार्यक्रम सन्चालन गर्ने, उत्कृष्ट ब्यवसायी आमा÷ महिलालाई सम्मान गर्ने स्वास्थ्यको लागि पार्च्याङमा अस्पताल बन्दै छ । त्यसको निर्माण छिटो भन्दा छिटो गरेर त्यहाँ एमबीबीएस डाक्टर सहितको सुविधा दिएर त्यहाँ आइसियु बेड भेन्टिलेटर बेड समेतको सेवा प्रदान हुने गरी सञ्चालन गर्ने ।
५ शैयाको अस्पताललाई बढाएर १५ देखि २५ शैया सम्म बनाउने । हाल ३ वटा बर्डथिन सेन्टर सञ्चालनमा रहेका छन् जसलाई हामी ६ वटै वडामा लैजाने योजनामा छौं । दीर्घ रोगीहरुका लागि भनेर हामी तीन तीन महिनामा स्वास्थ्य शिबिर गर्ने । मुटुरोग, मिर्गौला र पाठेघर र आँखाको लागि शिविर सञ्चालन गर्ने ।
युवाहरुको लागि स्वरोजगार बढाउनको लागि दक्षता अनुसार आफ्नै गाउँमा काम गर्ने व्यवस्था गर्ने । युवाहरुलाई तालिम दिएर गाउँमा नै व्यवसायी वनाउने, उहाँहरुलाई अनुदान दिने । बाहिर भएका युवाहरुलाई स्वदेश फर्काएर माथिल्लो भेगमा धेरै नै जडिबुटीहरु छन् त्यसलाई प्रसोधन, उत्पादन गर्ने लगायतका चुनावी एजेण्डा छन् ।
० अघिल्लो पटक काग्रेसले विजयी गरेको पालिका हो नौकुण्ड यो पटक तपाईले जित्ने हाधार के के छन् ?
म सँग स्पष्ट भिजन छ । योजना छ । शिक्षाको र प्लानको हिसावले अगाडि छु । रसुवाको नौकुण्डमा पार्टीको संगठन धेरै नै बलियो छ । हिजो काग्रेसले जितेको ठाउँ हो तर, काग्रेसले जित्दा उनीहरुले के कती काम गरे भन्ने कुरा आम नौकुण्ड बासीलाई राम्रोसगँ थाहा नै छ । काग्रेस अहिले नेकपा एमालेसँग डराएर गठबन्धन गराएको छ । यसले हामीलाई कुनै प्रभाव पार्दैन । जनतालाई अहिले काठमाण्डौमा बस्ने होइन जिल्लामा नै भिज्ने नेताको खाचो छ । गाउँमा नै रहेर जनताको दुख सुख बुझ्ने जनप्रतिनिधि आवश्यक छ । त्यस्तै काग्रेसहरुले अहिले गठबन्धन गरेर महिलालाई पछाडि पार्ने काम गरिरहेको छ । अव म महिला प्रमुख हो । त्यसैले महिलाहरुको हक हितको लागि लड्न म तयार छु । मसँग सबै महिला, युवा वर्ग सबै पार्टीहरुको साथ छ, नौकुण्ड बासीको साथ रहेको छ यही कारणले काग्रेसलाई पराजय गराएर नेकपा एमालेको उम्मेद्धारको रुपमा मैले जित्नेमा निश्चिन्त छु ।
० तपाँई जिल्लामा भिज्नु भएको नेतृ जनतामाझ जाँदा के कस्ता प्रतिकृया पाउनुभएको छ ?
अहिलेसम्म उपाध्यक्ष भएर काम गरियो । गाउँ गाउँ डुलियो, घर घरमा पुगियो । स्थानीयबासीको प्रतिक्रिया छ,तपाईले राम्रो काम गर्नुभएको छ अब प्रमुख पद पाए पछि हामीलाई झन गर्व हुनेछ,तपाईले अझैं राम्रो गर्नुहुनेछ । हामी भोट हालेर जिताउँछौ भनेर बचन दिनुभएको छ । उहाँहरुले भन्नुभएको छ कि उपाध्यक्ष भएर पनि यति धेरै काम गर्नु भएको छ । त्यसैले हामी अध्यक्षमा जिताउछौं । तपाई जस्तो नेतृ हामीलाई आवश्यक रहेको छ । पार्टी नभनेर व्यक्ति हेर्नु पर्छ, पार्टी फरक भए पनि हामी तपाईलाई नै चुन्छौं भनेका छन् ।
० अन्त्यमा मतदातालाई के भन्नु हुन्छ ?
पछिल्लो राजनीति घटनाक्रमसँगै जनताले चाहेको कुरा भनेको आधारभुत आवश्यकताहरु जस्तैः शिक्षा, स्वास्थ्य, गास, बास, कपास, यातायात तथा रोजगारीका कुराहरु रहेका छन् । मतदाताहरुको आवश्यक्ता अनुसार भिजनअनुसार म आएको छु । आजको आवश्यकता भनेको नेतृत्वमा सक्षम व्यक्तिको खाँचो रहेको छ । नौकुण्डको लागि मजस्तो सक्षम, अनुभवी र युवा नेतृत्वको खाँचो रहेको छ । अहिले काँग्रेसहरुले पैसाले नै जित्छु, पैसा भए पछि सबै हुन्छ, जनता सवै मेरो पक्षमा लाग्छन् भनेर खुलेआम बोल्दै हिडिरहेका छन । त्यसलाइ चिरेर स्पष्ट भिजन र योजना लिएर सुर्य चिन्हका साथ म मैदानमा आएको छु । विगतमा मेरो काम हेरेरै मलाई नै मतदान गर्नुहुनेछ भन्नेमा म विश्वस्थ छु ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *