निर्वाचनका लागि चार हजार बढी कर्मचारी

Uncategorized

काठमाडौं । स्थानीय तह निर्वाचनका लागि नुवाकोटमा कर्मचारी र सुरक्षाकर्मी गरी चार हजारभन्दा बढी परिचालन भएका छन् । कर्मचारी, म्यादी प्रहरी, नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेना गरी चार हजार ४०८ जनालाई खटाइएको हो ।

एक हजार ४३५ कर्मचारी, एक हजार ३२५ म्यादी प्रहरी, ८१८ नेपाल प्रहरी, ३५० सशस्त्र प्रहरी, १२ स्थानीय तहमा कम्तीमा ४० जना रहने गरी नेपाली सेनाको टोली ४८० खटाइएको प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद रिसालले जानकारी दिनुभयो ।

उहाँका अनुसार कर्मचारीसँगै सबै प्रकारका सुरक्षाकर्मी पनि कार्यक्षेत्रमा पुगिसकेका छन् । नेपाली सेनाको टोली हरेक मतदानस्थलबाट २०–२५ मिनेटको दूरीमा रहने र असहज अवस्था भएमा उक्त समयभित्र मतदानस्थलमा पुग्ने गरी व्यवस्था मिलाइएको उहाँले बताउनुभयो ।

म्यादी प्रहरी र नेपाल प्रहरी भने मतदानस्थलमै खटाइएको छ ।जिल्ला सुरक्षा समितिले अतिसंवेदनशील, संवेदनशील र सामान्य भनेर मतदानस्थलको वर्गीकरण गरेको छ ।

सोही वर्गीकरणका आधारमा सुरक्षाकर्मी परिचालन गरिएको छ । सहायक प्रमुख जिल्ला अधिकारी वेदप्रसाद अर्यालका अनुसार जिल्लामा १३२ निर्वाचनस्थलमध्ये अतिसंवेदनशील ५०, संवेदनशील ५३ र सामन्य २९ मतदानस्थल रहेको छ । भौगोलिक विकटता, विगतका निर्वाचनमा भएको घटनाको मूल्याङ्कन, जातीयता, सांस्कृतिक तथा साम्प्रदायिता, आपराधिक व्यक्तिको प्रयोग हुनसक्नेजस्ता आधारमा वर्गीकरण गरिएको उहाँले बताउनुभयो ।

बाह्र स्थानीय तहको ८८ वडामा रहेको सबै मतदानस्थलमा बुधबारसम्म कर्मचारी पुगेर मतदानस्थल निर्माण तथा व्यवस्थापन गर्न सुरु गरिसकेको जिल्ला निर्वाचन कार्यालयका प्रमुख जयप्रसाद गौतमले जानकारी दिनुभयो । उहाँकाअनुसार टाढाका मतदानस्थलका कर्मचारी मङ्गलबार नै पुगेको र सदरमुकाम र नजिकका मतदानस्थलका कर्मचारी बुधबार बिहान कार्यस्थलमा पुगेका थिए । नुवाकोटमा स्थानीय तहको निर्वाचनका लागि दुई हजार दुई उम्मेदवार चुनावी मैदानमा छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *