मोदी भ्रमण: आर्थिक कुटनीतिको सम्भावना ?

समाचार

विश्वमा शक्तिशाली मुलुकको हैसियत राख्ने छिमेकी मुलुक भारतका प्रधानमन्त्री नरेन्द्र मोदी नेपालको सांस्कृतिक धरोहर लुम्बिनीमा आएका थिए । बुद्ध जयन्तीको अवसर पारेर सांस्कृतिक भ्रमणका रुपमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी लुम्बिनी आएका थिए । उनको भ्रमणको अवसरमा प्रधानमन्त्री शेरबहादुर देउवा र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले लुम्बिनीमा ‘इन्डिया इन्टरनेसनल सेन्टर फर बुद्धिस्ट कल्चर एण्ड हेरिटेज’को संयुक्त शिलान्यास पनि गरे । भारतीय वायुसेवाको हेलिकप्टरमा आइपुगेका मोदीलाई प्रधानमन्त्री शेरबहादुर देउवाले स्वागत गरेका थिए ।
प्रधानमन्त्री नरेन्द्र मोदीको यो भ्रमणलाई लिएर विभिन्न टिकाटिप्पणी गरिएको छ । यसै भ्रमणका दौरान नेपाल–भारतबीच ६ वटा सम्झौतापत्रमा समेत हस्ताक्षर भएको छ । भारतीय प्रधानमन्त्रीले नेपाल र भारत सांस्कृतिक रुपले एकदमै निकट भएको र दुई मुलुकबीच कुनै भिन्नता नरहेको दाबी पनि गरेका छन् । उनले नेपाल भ्रमणलाई राजनीतिक भ्रमण नभई अध्यात्मिक भ्रमणजस्तो अनुभूति हुने गरेको कुरा पनि व्यक्त गरेका छन् । छिमेकी मुलुक भारतको प्रधानमन्त्रीको सांस्कृतिक भ्रमणका रुपमा लुम्बिनी भ्रमण गरेतापनि यसलाई नेपालले सांस्कृतिक र आर्थिक कुटनीतिको अवसरका रुपमा लिनुपर्दछ । पर्यटन पनि आर्थिक कुटनीतिकै एक पक्ष हो । भारतीय प्रधानमन्त्रीले दुईपटक नेपालको सांस्कृतिक भ्रमण गरेका छन् । यसले भारत मात्र नभई विश्वसामु नेपालको मुक्तिनाथ र लुम्बिनीलाई प्रवद्र्धन गर्ने काम गरेको छ । भारतीय प्रधानमन्त्रीको यो सांस्कृतिक भ्रमणलाई पर्यटन प्रवद्र्धनमा प्रयोग गरी सरकारले आर्थिक कुटनीतिमा विशेष काम गर्न सक्दछ ।
भारतीय प्रधानमन्त्री २०७५ सालको वैशाखको अन्तिमतिर हिमाली जिल्ला मुस्ताङमा धार्मिक भ्रमणको रुपमा मुक्तिनाथ प्ुगेर पुजाआजा गरेका थिए । सरकारले विश्वमै प्रभाव पार्ने मुलुकको प्रधानमन्त्रीको मुक्तिनाथ भ्रमणलाई उपयोग गर्न सकेन । प्रधानमन्त्री मोदीले मुक्तिनाथ भ्रमण गरेको अहिले करिब ४ वर्ष बितिसक्दा पनि सरकारले उनको भ्रमणलाई आर्थिक कुटनीतिको अवसरको रुपमा उत्पादनशील बनाउन सकेन । यसमा सरकार र सरकारका निकायहरु असक्षम साबित भइसकेका छन् । प्रभावशाली प्रधानमन्त्रीको भ्रमणले विश्वभर नै प्रभाव पार्ने थियो । तर यसको सही प्रचारप्रसारलाई महत्व नदिँदा विश्वले यसबारे जानकारी नै पाउन सकेन । यद्यपि, भारतीय नागरिकहरुले समेत भारतीय प्रधानमन्त्रीको मुक्तिनाथ भ्रमणका बारेमा खासै जानकारी पाउन सकेनन् । भारतीय प्रधानमन्त्रीको भ्रमणलाई नेपाली कुटनीतिक निकायहरुले विश्वमा विभिन्न माध्यमबाट प्रचारप्रसार गर्ने र नेपालको पर्यटनबारे पर्याप्त जानकारी दिने काम गर्न सकेनन् । प्रभावशाली नेताको नेपाल भ्रमणलाई नेपालको हितअनुरुप प्रयोग गर्न नसक्दा नेपालको कुटनीति निरीह साबित भइसकेको थियो ।
हालै बुद्धको जन्मस्थल नेपालको ऐतिहासिक र सांस्कृतिक भूमि लुम्बिनीमा भारतीय प्रधानमन्त्री भ्रमणका लागि आएका छन् । उनले लुम्बिनीमा जन्मिएका सिद्धार्थले भारतको बोधगयामा ज्ञान प्राप्त गरेको भन्दै नेपाल–भारत सम्बन्ध हिमालजस्तै अटल र हिमालजस्तै पुरानो रहेको बताएका छन् । भारतीय प्रधानमन्त्रीले नेपाली भूमि लुम्बिनीका बारेमा यसरी प्रचारप्रसार गरिरहँदा अब नेपालले यो भ्रमणलाई कसरी अवसरमा परिणत गर्छ त्यो त आगामी समयले नै देखाउनेछ । सांस्कृतिक रुपमा नेपाल र भारत एकै रुपमा देखापर्ने गर्दछ । नेपाल र भारतको संस्कृतिलाई हिन्दु धर्म र परम्पराले पनि बेजोड रुपमा बाँधेको छ । धार्मिक आस्थाका साथ वर्षेनी हजारौं भारतीय पर्यटकहरु नेपालको जनकपुर, पशुपतिनाथ, मुक्तिनाथजस्ता स्थानहरुमा भ्रमणका लागि आउने गर्दछन् । नेपालका लागि यो एउटा अवसर पनि हो । अझ व्यापक रुपमा प्रचारप्रसार गर्ने र बिना झन्झट भारतीय पर्यटकहरुलाई नेपाल आउने व्यवस्था गर्न सके हिन्दुहरुको ठूलो जनसंख्या रहेको भारतबाट नेपालमा धार्मिक भ्रमणका लागि आउनेको संख्या अझ ठूलो हुन सक्दथ्यो । भारतीय प्रधानमन्त्रीको यसरी धार्मिक स्थलको भ्रमणले एक किसिमले भारतीय नागरिकहरुलाई नेपाल भ्रमण गर्न अझ लालायित बनाएको आशा गर्न सकिन्छ ।
नेपालको आर्थिक कुटनीतिको हिस्सा रहेको पर्यटनलाई अझ मजबुत बनाएर सरकारले भारतीय प्रधानमन्त्रीको भ्रमणबाट धेरै फाइदा उठाउन सक्दछ । नेपालको धार्मिक सम्पदाहरुलाई विश्वमा चिनाउने यो अर्काे माध्यम पनि बन्न सक्दछ । अधिकाशं मुलुकका नागरिकले अझै पनि लुम्बिनीलाई भारतको भुभाग ठान्ने गर्दछन् । तर यसै अवसरमा नेपालले लुम्बिनी नेपालको हो भन्ने कुरालाई अगाडि प्रस्तुत गर्न सक्नुपर्दछ ।
भारतीय प्रधानमन्त्रीको २०७५ सालको मुस्ताङको मुक्तिनाथ भ्रमण र २०७९ सालको लुम्बिनी भ्रमणले नेपालको पर्यटकीय इतिहासमा इटा थप्ने काम गरेको छ । यसरी भारतीय प्रधानमन्त्रीबाट भएका नेपालको धार्मिक तथा सांस्कृतिक भ्रमणलाई पर्यटनसँग जोडेर नेपाल सरकारले आफ्नो आर्थिक कुटनैतिक क्षमता प्रस्तुत गर्नुपर्ने हुन्छ । विगतका दिनमा यस कुरामा कमजोर देखिएको नेपाल सरकारले यस पटकको भारतीय प्रधानमन्त्रीको लुम्बिनी भ्रमणलाई पक्कै पनि अवसरको रुपमा लिनेछ भन्ने आशा गर्न सकिन्छ । यसलाई अवसरमा परिणत गरी भारतीय तथा विदेशी पर्यटकहरुलाई नेपालको सौन्दर्य, भौगोलिक विविधता मात्र नभई धार्मिक पर्यटनको रुपमा आकर्षित गर्न सकिन्छ । मिश्रित धार्मिक परम्परा रहेको नेपालको संस्कृति र धार्मिक स्थलहरुलाई पर्यटकीय आकर्षणका रुपमा विश्वमा चिनाउन ठूला राजनीतिक भ्रमणहरुले महत्वपूर्ण भूमिका खेल्ने गर्दछन् ।
भारतीय प्रधानमन्त्रीको भ्रमणले विश्वमा नै महत्व राख्ने गर्दछ । भारतीय प्रधानमन्त्री मोदीको भ्रमणले नेपाली धार्मिक तथा सांस्कृतिक सम्पदालाई विश्वसामु चिनाउन र पर्यटनको विस्तार गर्न मद्दत गर्दछ । तर नेपाल सरकार र कुटनीतिक निकायले आर्थिक कुटनीतिको रुपमा यसलाई कसरी अवसरमा परिणत गर्न सक्छन् भन्ने कुरा भने हेर्न बाँकी छ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *