राजनीतिक दलप्रतिको वितृष्णाले जताततै स्वतन्त्र निर्वाचित काठमाडौंको परिणाम दलहरुका लागि खतराको घण्टी

समाचार

काठमाडौं । स्थानीय निर्वाचनको लगभग सम्पूर्ण परिणाम सार्वजनिक भई सकेको छ । यो निर्वाचनले नेकपा एमालेलाई धेरै पछाडि पार्दै नेपाली कांग्रेसलाई पहिलो स्थानमा पु¥याएको घटनालाई जनताको समर्थनसँग भन्दा पनि पाँच दलको गठबन्धनसँग जोडेर राजनीतिक विश्लेषण हुने गरेको छ । गत सोमबार कांग्रेस प्रवक्ता प्रकाश शरण महतले पनि यही कुरालाई पुष्टि गर्दै यो गठबन्धन आगामी आम निर्वाचनसम्म नै जाने दाबी उत्साहका साथ गरेका छन् । तर पाँच दलको गठबन्धनको तर्फबाट नेपाली कांग्रेसले पार्टी नेता प्रकाशमान सिंहकी पत्नी सिर्जना सिंहलाई काठमाडौं महानगरपालिकाको मेयरमा उम्मेदवारको रुपमा खडा गर्दा नेपाली कांग्रेसले निराशा भोग्नु पर्ने गरी परिणाम आएको छ । यसैगरी दलिय उम्मेदवारलाई पाखा लगाउँदै धनगढी उपमहानगरपालिकामा स्वतन्त्र उम्मेदवारी दिएका गोपाल हमालको विजयले ६ महिनापछि हुने आम निर्वाचनमा प्रधानमन्त्री पत्नी डा. आरजु देउवाको चुनावी राजनीतिमा असर पार्ने विश्लेषण अहिलेबाट नै हुन थालेको छ । नेपाली कांग्रेसले ३ सय भन्दा बढी स्थानीय तहमा विजय प्राप्त गरी रहँदा काठमाडौं महानगरमा कांग्रेसकी उम्मेदवार सिर्जना सिंहलाई पन्छाउँदै स्वतन्त्र उम्मेदवार बालेन शाहले प्राप्त गरेको विजयले नेपाली कांग्रेसलाई ठूलै धक्का दिएको हुनुपर्दछ । किनभने राजधानी जस्तो महत्वपूर्ण र संवेदनशील क्षेत्रमा समेत सरकारको नेतृत्व गरी राखेको कांग्रेसले मेयरमा पराजय भोग्नु परेको छ । यो निर्वाचन परिणामले नेपाली कांग्रेसको मात्र होइन, गठबन्धनमा रहेका अन्य दलहरुको प्रतिष्ठामा समेत अन्तर्राष्ट्रिय जगतमा धब्बा लाग्ने स्थिति बनेको छ । निर्वाचनको अन्तिम परिणाम आउनै लाग्दा कांग्रेसको तर्फबाट प्रवक्ता प्रकाश शरण महतले उत्साहित भएर गठबन्धन आम निर्वाचनसम्म नै जाने दाबी गरेका भएपनि गठबन्धनका कतिपय दलहरु नै गठबन्धनलाई निरन्तरता दिन सम्पन्न निर्वाचनको परिणामबाट उत्साहित देखिएका छैनन् । नेकपा एमालेबाट विभाजित भएर गठन भएको एकीकृत समाजवादीले सम्पन्न स्थानीय निर्वाचनमा नेपाली कांग्रेस र माओवादी केन्द्रले गठबन्धनको भावना र मान्यता विपरीत आफूलाई धोका दिएको आरोप लगाएको छ । एकीकृत समाजवादीले यो आरोप सम्पन्न स्थानीय निर्वाचनमा आफूले निराशाजनक परिणाम ल्याएपछि लगाएको अरोप लागेको छ ।
सम्पन्न स्थानीय निर्वाचनमा महानगरपालिकाहरुसँगै २०७४ सालमा विजय प्राप्त गरेको मध्ये लगभग एक सय भन्दा बढी स्थानीय तह नेकपा एमालेले गुमाएको छ । सय भन्दा बढी स्थानीय तह गुमाएको भएपनि नेकपा एमालेले प्रत्यक्ष मतदानबाट प्राप्त गरेको मत संख्यामा भने ठूलो अन्तर परेको स्थिति छैन । यसैगरी गठबन्धनका दलहरुले सम्पन्न निर्वाचनमा जुन प्रक्रिया अपनाएका छन्, त्यसले उनीहरु मध्येका कुन दलले कति मत प्राप्त गरे भन्ने सम्बन्धमा स्पष्ट आकडा आउने स्थिति छैन । किनभने गठबन्धनका दलहरुले नेकपा एमालेलाई केन्द्रमा राखेर एकल उम्मेदवारी दिने र त्यो उम्मेदवारको पक्षमा मतदान गरेका थिए । सम्पन्न आम निर्वाचनलाई लिएर काठमाडौंको परिणामले जसरी राजनीतिक दलसँगै आम जनतामा समेत नयाँ तरंग उत्पन्न गरेको छ । त्यो भन्दा ठूलो तरंग भरतपुर महानगरपालिकाको परिणामले उत्पन्न गराएको छ । नेपाली कांग्रेसका स्थानीय कार्यकर्ताले चर्को विरोध गरेको गठबन्धनको तर्फबाट माओवादी केन्द्रले भरतपुर महानगरका लागि उम्मेदवार बनाएकी रेणु दाहाल पराजित हुने अनुमान सहज रुपमा गरिएको थियो । तर यो अनुमानलाई पूर्ण रुपमा गलत सावित गर्दै धेरै भोटको मत अन्तरबाट रेणु दाहाल भरतपुर महानगरपालिकाको मेयर निर्वाचित हुने क्रममा रहेकी छन् । यो विषयमा रेणु दाहालको उम्मेदवारी प्रति असन्तुष्टि व्यक्त गर्ने कांग्रेसका स्थानीय कार्यकर्तादेखि एमालेका स्थानीय नेताले समेत गठबन्धनकी उम्मेदवार रेणु दाहाललाई मत दिएको परिणामले नै प्रष्ट पारेको छ । गत वैशाख ३० गतेको स्थानीय निर्वाचनलाई ध्यानमा राखेर ४८ घण्टा अगाडिबाट सबै प्रकारको प्रचार प्रसार बन्द गरिएको थियो । चुनावी प्रचार प्रसार बन्द भएको त्यही समयमा माओवादी अध्यक्ष प्रचण्डले भरतपुर महानगरपालिको केही स्थानमा गोप्य भ्रमण गरेर त्यो क्षेत्रका महत्वपूर्ण राजनीतिक व्यक्तिहरुसँग भेटवार्ता समेत गरेका थिए । यसैगरी समाचार सुत्रले जनाए अनुसार नेपाली कांग्रेसका जिल्ला सभापति राजेश्वर खनाल र माओवादी केन्द्रका नेता रामचन्द्र अधिकारीले असन्तुष्ट कांग्रेसी नेताहरुको घरदैलो कार्यक्रम संचालन गरेर रेणु दाहालको पक्षमा वातावरण बनाउने काम गरेका थिए । माओवादी अध्यक्ष प्रचण्डसँगै कांग्रेसका जिल्ला सभापति खनाल र माओवादी नेता अधिकारीले गरेको त्यही गोप्य भ्रमणको परिणाम स्वरुप रेणु दाहालले भरतपुर महानगराको मेयरमा सहज जित हात पारेको बताइन्छ ।
७५३ वटा स्थानीय तहमा एक साथ निर्वाचन सम्पन्न भएको भएपनि राजनीतिक दृष्टिले भने काठमाडौं महानगर र भरतपुर महानगरको मेयरको निर्वाचनलाई ठूलो कौतुहलतका साथ हेरिएको थियो । यो मामिलामा गठबन्धनले भरतपुर महानगरमा ठूलो सफलता प्राप्त गरेको छ भने यसैगरी सत्तारुढ पाँच दलिय गठबन्धन काठमाडौं महानगरमा भने एउटा स्वतन्त्र उम्मेदवारबाट सबभन्दा नराम्रोसँग पराजित भएको छ । यसैगरी जनकपुर, धरान र धनगढीको निर्वाचन परिणामले अहिलेको दलिय पद्दति र दलहरुले गरी राखेको गतिविधिलाई नै कठघरामा खडा गरेको र त्यसरी जनताको कठघरामा खडा भएका राजनीतिक दलहरु नालायक सिद्ध भएको प्रष्टसँग देखाएको टिप्पणी समेत हुन थालेको छ र यो अवस्थामा दलहरुले आफ्नो गतिविधिमा सुधार गरेर विकल्पको बाटोतिर नजाने हो भने जनताले नै विकल्प खोज्ने काठमाडौं महानगर, धरान, जनकपुर र धनगढी उपमहानगरमा भएको मेयरको निर्वाचन परिणामले स्पष्ट पारकोे टिप्पणी राजनीतिक क्षेत्रले गर्न थालेका छन् । र, यी नगरहरुमा भएको निर्वाचनको परिणामबाट राजनीतिक दल सचेत नभए उनीहरुलाई समाप्त पार्ने चेतावनी समेत दिएको बुझ्नुपर्ने टिप्पणी समेत हुँदै आएको छ । यसैगरी सम्पन्न निर्वाचनको परिणामप्रति असन्तोष व्यक्त गर्र्दै कांग्रेस र माओवादीले आफ्नो दलको उम्मेदवार प्रति गरेको व्यवहारलाई लिएर एकीकृत समाजवादीका नेताहरुले कडा असन्तोष व्यक्त गरी राखेका छन् । कांग्रेस र माअ‍ोवादीको व्यवहार प्रति असन्तोष व्यक्त गरेपनि गठबन्धनबाट आफ्नो पार्टी नबाहिरिने स्पष्ट पारेका एकीकृत समाजवादीका नेताहरुले अब पार्टीलाई कसरी अगाडि लैजाने भन्ने चाही स्पष्ट भएको छैन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *