एमालेमा ‘भाइ फुटे गँवार लुट’

समाचार

सबिन बस्नेत
काठमाडौं । नेपालका वामपन्थी शक्तिहरुबीच एकआपसमा समझदारी हुन नसक्दा यसको फाइदा नेपाली कांग्रेसलाई पुगेको छ । नेपालीमा एउटा उखान छ, ‘भाइ फुटे, गँवार लुटे’ । यो उखान नेपालको वामपन्थी शक्तिहरुमा चरितार्थ भएको छ । वामपन्थी शक्ति छिन्नभिन्न भएपछि डेमोक्रेटिक शक्तिले फाइदा लिएको छ । स्थानीय चुनावमा वामपन्थी शक्तिहरु दोस्रो, तेस्रो भएका छन् । यो भनेको आगामी संघीय र प्रदेश चुनावलाई पनि घाटा हो । वामपन्थी नेतामा बढी घमण्ड र अहम सिर्जना भएको छ । वामपन्थी सरकारमा गएपछि देशको विकास चारैतिरबाट हुन्छ, भ्रष्टाचार हुँदैन, महंगी नियन्त्रण हुन्छ भन्ने भनाई आम नेपाली जनतामा थियो । तर वामपन्थी सरकारका नेताले राज्यसत्ताको आडमा भ्रष्टाचार गरी अकुत सम्पत्ति कमाएका छन् । झण्डै दुई तिहाईको नेतृत्व गरेको वामपन्थी सरकारका प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी ओली, नेताहरु माधव नेपाल र प्रचण्डले सरकारको उछितो काटेका थिए । ओलीले पार्टीका वरिष्ठ नेताहरुलाई पाखा पारेर आफैं वामपन्थी पार्टीको नेता बन्ने, आँफै प्रधानमन्त्री बन्ने र कानून विपरीत चाहिंदो÷नचाहिंदो राजनीतिक नियुक्त गर्ने, संसद विघटन गर्नेदेखि मध्यवर्ती चुनाव गर्नेसम्मको घमण्ड देखाएर पार्टीभित्रै विकृति फैलाए । सर्वाेच्च अदालतले संसद ब्यूँझाएर एमाले, माओवादी अलग गरिदिएपछि एमालेका नेता माधव नेपाल, झलनाथ खनाल, वामदेव गौतमलाई केपी ओलीदेखि उनका बिचौलियाले तथानाम गाली गर्ने, सामाजिक सञ्जालमा गाली गलौज गरी बद्नाम गराउने काम गरे । केपी ओलीले पार्टीका वरिष्ठ नेताहरुलाई वार्ता भन्दै विभिन्न होटल रेस्टुरा, गेष्ठ हाउसमा बोलाउने र घन्टौं घण्टा कुराएर आफु उपस्थित भएनन् । पार्टीभित्र छलफल र बहस समेत गरेनन् । उल्टै माधव खेमाका १० भाइले माधव नेपाललाई फकाएर ल्याउने भनेको भन्दै ओलीले भनेका थिए । तँ रोए झैं गर, म कुटे झैं गर्छु भनेझैं मााधव नेपाललाई ओलीले बाइपास गरेर पार्टीमा बस्न नसक्ने स्थिति बनेपछि एकीकृत समाजवादी पार्टी गठन गरेर कांग्रेसका नेता तथा सभापति शेरबहादुर देउवालाई सहयोग गरे । सभापति देउवालाई प्रधानमन्त्री बनाइदिए ।
माधव नेपाल, प्रचण्ड, जसपाका उपेन्द्र यादव तथा जनमोर्चाको सहयोगले शेरबहादुर देउवा प्रधानमन्त्री बने । अहिले गठबन्धन गरेर स्थानीय तहमा पनि गठबन्धन गरेर चुनाव लडेका थिए । तर स्थानीय निर्वाचनमा नतिजा भने भिन्नै देखिएको छ । स्थानीय निर्वाचनमा एकीकृत समाजवादी पार्टीलाई नेपाली कांग्रेस र माओवादी केन्द्रले घात गरेको छ । हुनतः नेपालको पनि संगठन गतिलो र बलियो नभएकै कारण अहिले स्थानीय चुनावमा सीमित सिटमै चित्त बुझाउनु परेको हो । माओवादी केन्द्रले केही स्थान बढाएको छ भने कांग्रेसले गठबन्धनको फाइदा उठाएको छ । नेकपा एमालेले पनि हार खानुपारेको अवस्था छ । नेकपा एमालेका अध्यक्ष केपी ओलीले गर्दा एमालेभित्र भाँडभैलो भएको हो । पार्टीलाई एक ढिक्का बनाउनुभन्दा पनि आफ्ना वरिपरि र गुनगान गाउने व्यक्तिलाई स्थानीय निर्वाचनको जनप्रतिनिधि बनाएको आरोप ओलीमाथि लागेको छ । पुराना क्षमतावान, निष्ठावान कार्यकर्तालाई पछाडि पारेर अन्य पार्टीबाट आएका र एमालेलाई भजाएर खान,े एमालेको नाममा मनपरी गर्ने, पार्टीका नेतालाई गुमनाम बनाउने, संगठनको काम नगरेका व्यक्तिलाई स्थनीय चुनावको टिकट दिएको थियो । पहिला दुई तिहाई ल्याएको एमाले अहिले दोस्रो दलमा खुम्चिन पुगेको छ । केपी ओलीले विभिन्न आयोजनादेखि प्रोजेक्टको कामको उद्घाटन गर्ने भ्रष्टाचारीलाई प्राथमिकता दिने, चोर फटाहालाई कार्यकर्ता बनाउने, सुकुम्बासी जनताको उठीबास गराउने काम गरेका थिए । प्रत्येक जिल्ला, प्रदेशमा सम्पर्क मञ्च, सम्पर्क कमिटी, जिल्ला कमिटी, प्रदेश कमिटीजस्ता ठाउँमा केपी ओलीका बिचौलिया हावी भएपछि एमालेले पराजय भोग्नुपरेको छ । एमाले सबैभन्दा ठूलो पार्टी भएपछि ९ महिनासम्म संसद अवरोध गरेर संसद चल्न दिएको थिएन । अहिले स्थानीय चुनाव सम्पन्न भएपछि निस्वार्थ रुपमा संसद खुला गरेको छ । यसले नेपाली जनतालाई ढाँट्ने र छल्ने काम एमाले पार्टीले गरेको देखिन्छ । तर एमालेका कार्यकर्ता इमान्दार भएको हिसाबले दोस्रो स्थान हात पारेको छ भने आगामी दिनमा एमालेले गरेका गल्ती, कमिकमजोरी सच्याउने काम गरेन भने तेस्रो स्थानमा नजाला भन्न सकिँदैन ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *