काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साहले प्रधानमन्त्री देउवालाई भेटे

राजनीति समाचार

काठमाडौं । गत बैशाख ३० गतेको स्थानीय निकायको निर्वाचनमा काठमाडौं महानगरपालिकाको लौरो चुनाव चिन्ह लिएर स्वतन्त्र उम्मेदवारीमा मेयरमा विजयी भएका बालेन्द्र साहले पछिल्लो समय विशिष्ट व्यक्तिहरुसँगको भेटघाटलाई तीब्रता दिउका छन् ।

मतगणना भइरहेका बेला मेयरमा जित्ने पक्का भएपछि नेकपा ९एमाले०का अध्यक्ष केपी शर्मा ओलीलाई सुटुक्क भेटेका बालेन्द्र र ओलीको तस्वीर मंगलबार अचानक सामाजिक सञ्जालमा भाइरल भएपछि उनले बुधबार प्रधानमन्त्री शेरबहादुर देउवालाई पनि भेटेका छन् ।

प्रधानमन्त्रीको सचिवालयले दिएको जानकारीअनुसार केहीबेरअघि प्रधानमन्त्री निवास बालुवाटारमा भेटवार्ता भएको हो ।

उक्त भेटका अवसरमा आफूलाई महानगरपालिकाको सफल मेयर बनाउन सबै राजनीतिक दलको साथ रहेको बताउँदै बालेन्द्रले पार्टीको तर्फबाट पहल लिन आग्रह गरेका थिए । जवाफमा प्रधानमन्त्री देउवाले पनि साहले महानगरपालिकावासीको तर्फबाट चमत्कारिक मत ल्याएकाले काम पनि त्यसरी नै गर्न सुझाएका थिए ।

“तपाईंले चमत्कार गर्नुभयो, म खुसी छु र पाँच वर्षको कार्यकालमा हाम्रो पूर्ण समर्थन हुनेछ, मलाई चौबीसैघण्टा सम्झन सक्नुहुनेछ,” देउवाले साहलाई भनेको बताइएको छ ।

देउवाले केन्द्र र प्रदेश सरकार साथमा रहेकाले जनताका समस्या समाधानका लागि सहयोग गर्ने प्रतिवद्धता पनि जनाएका थिए ।

सोमबार मेयरको पदभार ग्रहण गरेपछि साहले प्रधानसेनापति प्रभुराम शर्मालाई जंगी अड्डामै गएर भेटेका थिए भने ओलीसँगको भेटलाई उनले गोप्य राखेका थिए ।

एमालेकै कार्यकर्ताहरुबाट ओलीसँगको भेटको तस्वीर सार्वजनिक भएपछि उनका बारेमा विभिन्न अड्कलबाजी काटिएको थियो ।

सामाजिक सञ्जाल प्रयोगकर्ताहरुले उनको आलोचना गर्न थालेपछि त्यसलाई मत्थर पार्ने प्रयास स्वरुप साहले नेपाली कांग्रेसका पनि प्रमुख र देशको कार्यकारी प्रधानमन्त्री देउवासँग भेटघाट गरेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *