सभापति देउवालाई कांग्रेसको चुनावी प्रतिवेदन बुझाइयो

राजनीति समाचार

काठमाडौं । नेपाली कांग्रेसको स्थानीय तह केन्द्रीय निर्वाचन परिचालन समिति अन्तर्गतको अनुगमन, मूल्यांकन तथा सुपरिवेक्षण उपसमितिले सभापति शेरबहादुर देउवालाई बुझाइएको छ । कांग्रेस केन्द्रीय सदस्य एवम् उपसमितिका संयोजक प्रदीप पौडेलले विहीबार उक्त प्रतिवेदन पार्टी सभापति र उपसभापति तथा निर्वाचन परिचालन समितिका संयोजक पूर्णबहादुर खड्कालाई छुट्टाछुट्टै रुपमा प्रतिवेदन बुझाएका हुन् ।

प्रतिवेदनमा गत वैशाख ३० गते सम्पन्न स्थानीय निर्वाचनमा कांग्रेसको मुख्य प्राप्ति र निष्कर्ष समेटिएको छ । जसमा वडागतरुपमा मत विश्लेषण गर्दा मत र पद दुवैमा कांग्रेस पहिलो भएको छ । कांग्रेसले ७५२ मध्ये ३२९ पालिका १८८ अध्यक्ष र १४१ प्रमुखको नेतृत्व हात पारेको छ । ३ सय पालिकामा १९० उपाध्यक्ष र ११० उपप्रमुख कांग्रेसले प्रतिवेदनमा उल्लेख छ । कांग्रेसले अहिलेसम्म १६६५ वडाध्यक्ष जितेको छ ।

कांग्रेसका वडा अध्यक्षका उमेदवारले पाएको मत ३८ लाख ८३ हजार १३८ रहेको छ । प्रदेशगत रुपमा पनि कांग्रेस पहिलो दल बनेको छ । सातै प्रदेशमा पहिलो भएको कांग्रेस बागमती र कर्णालीमा एमालेभन्दा दोब्बर बढी पालिका प्रमुख जित्न सफल भएको छ । ०७४ मा भएको स्थानीय निर्वाचनभन्दा यस पटक मत र पद दुबैमा काँग्रेसले प्रगति गरेको निष्कर्ष निकालिएको छ ।

७४ मा जितेको २६६ पालिका मध्ये यस पटक १४० मा कांग्रेसको नेतृत्व दोहोरिएको छ । विगतमा जितेको १२५ पालिकाको नेतृत्व भने कांंग्रेसले गुमाएको छ । यस्तै उसले ०७४ मा नजितेको १८९ पालिका जित दर्ता गराएको छ । २०७४ र २०७९ मा दुवैमा पराजित वा उम्मेदवारी नदिएको स्थानीय तहको संख्या २९८ रहेको पौडेलको प्रतिवेदनमा उल्लेख छ ।

यस्तै ७५३ स्थानीय तह मध्ये ३२४ पालिकामा गठबन्धन भएका प्रतिवेदनमा उल्लेख छ । कांग्रेसले गठबन्धन साथमा २०९ मा उम्मेदवारी दिएकोमा १२८ पालिका प्रमुख जितेको छ । यसैबीच नेपाली कांग्रेसले सत्ता गठबन्धनमा रहेका दलहरुभित्र असन्तुष्टि र आकांक्षा एकैपटक उत्पन्न भएको बताएको छ। निर्वाचन अनुगमन, मूल्यांकन तथा सुपरिवेक्षण उपसमितिले बुझाएको प्रतिवेदनमा स्थानीय तह निर्वाचनको परिणमलाई लिएर गठबन्धन दलभित्र असन्तुष्टि पैदा भएको उल्लेख छ।

उक्त प्रतिवेदनमा टिकट वितरणमा सुधार गर्नुपर्ने उल्लेख छ। टिकट वितरण विधानले निर्दिष्ट गरेको समयमा हुनुपर्ने। वैधानिक व्यवस्थालाई पूर्ण रुपमा कार्यान्वयन गर्दै लोकप्रियता र न्यायको सिद्धान्त स्थापित हुनेगरि परिमार्जन गर्दै अगाडी बढनुपर्ने,ुप्रतिवेदनमा भनिएको छ।

कतिपय वडामा कांग्रेसको क्रियाशील सदस्य संख्या जति पनि मत नआएकोले सदस्यता नविकरण र नयाँ वितरणमा ध्यान दिन पनि प्रतिवेदनमा सुझाइएको छ। चुनावमा कांग्रेसको नारा लोकप्रिय नभएको भन्दै सुधार गर्नुपर्ने पनि प्रतिवेदनमा उल्लेख छ।

कांग्रेसले सबैभन्दा धेरै स्थानीय तहको प्रमुख जितेको जिल्ला डोटी भएको बताएको छ। डोटीमा ९ स्थानीय तह मध्य ७ मा आफ्नो पार्टीले प्रमुख पदमा जितेको उल्लेख गरेको छ। यस्तै दार्चुला र रुकुम पूर्वका स्थानीय तह मध्य कुनै पनि कांग्रेसले जित्न नसकेको कांग्रेसले बताएको छ। मुस्ताङ र डोल्पामा एकरएक स्थानीय तहमा मात्रै कांग्रेसले जितेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *