आमनिर्वाचनको मिति घोषणा भएको छैन, स्वतन्त्र उम्मेदवारी दिनेको लाग्न थाल्यो लर्को

राजनीति समाचार

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले आगामी कात्तिक २७ गते र मेसिर ३ गते दुई चरणमा आमनिर्वाचन सम्पन्न गर्ने योजना बनाएका छन् । यस सम्बन्धमा प्रधानमन्त्री देउवाले गठबन्धनका अन्य नेताहरुसँग र निर्वाचन आयोगका आयुक्तहरुसँग छलफल गरेर असारको पहिलो साताभित्रैमा आमनिर्वाचनको मिति घोषणा गर्ने योजना प्रधानमन्त्री देउवाको रहेको छ ।

गत वैशाख ३० गते सम्पन्न भएको स्थानीय निर्वाचनको परिणामबाट उत्साहित बन्न पुगेका प्रधानमन्त्री देउवा सकेसम्म चाँडो आमनिर्वाचनको मिति घोषणा गर्ने पक्षमा छन् । मन्त्रिपरिषद्को विस्तार र मन्त्रीमा सहभागितालाई लिएर गठबन्धनका दलहरुमा विवाद चर्किन थालेपछि त्यो विवादले गठबन्धनमा नै असर पु¥याउन सक्ने सम्भावना देखिन थालेपछि प्रधानमन्त्री देउवा सकेसम्म चाँडो आमनिर्वाचनको मिति तय गर्ने पक्षमा पुगेका हुन् ।

आमनिर्वाचनको मिति निश्चित नहुँदै काठमाडौं महानगरमा स्वतन्त्र उम्मेदवार बालेन्द्र शाह यसैगरी धनगढी उपमहानगरपालिकामा गोपाल हमाल, जनकपुर उपमहानगरपालिकामा मनोज साह र धरान उपमहानगरपालिकामा हर्क साङपाङ विजयी भएको घटनाबाट सामाजिक क्षेत्रमा सक्रिय रहेका केही व्यक्तिहरुले काठमाडौंमा आगामी आमनिर्वाचनमा स्वतन्त्र उम्मेदवारी दिने घोषणा अहिलेबाट नै गर्न थालेका छन् ।

यस क्रममा जनता समाजवादी पार्टीको संघीय परिषद्का अध्यक्ष डा. बाबुराम भट्टराईकी छोरी मानुसी भट्टराईले आगामी आमनिर्वाचनमा काठमाडौंको क्षेत्र नं. ५ बाट उम्मेदवारी दिने घोषणा गरेकी छिन् । उनले स्वतन्त्र हैसियतबाट उम्मेदवारी दिने हुने कि जनता समाजवादीको तर्पmबाट उम्मेदवारी दिने हुन् यससम्बन्धमा भने स्पष्ट पारिसकेकी छैनन् ।

२०७४ सालमा सम्पन्न स्थानीय निर्वाचनमा विवेकसिल पार्टीको तर्पmबाट मेयर पदमा उम्मेदवारी दिएकी र २३ हजार ४ सय ४९ मत प्राप्त गरेकी रञ्जु दर्शना न्यौपानेले पनि काठमाडौंको ५ नम्बर क्षेत्रबाटै स्वतन्त्र हैसियतले उम्मेदवारी दिने भएकी छन् । नेकपा एमालेका नेता ईश्वर पोखरेलले विजय प्राप्त गरेको काठमाडौंको यो क्षेत्र नं. ५ मा विवेकसिल पार्टीको तर्पmबाट उज्ज्व थापाले उम्मेदवारी दिएका थिए ।

त्यसैगरी अहिले नेकपा एमालेको तर्पmबाट सांसद रहेका नेपाल प्रहरीका नायव महानिरीक्षक रमेश खरेलले पनि पुनः ५ नम्बर क्षेत्रबाटै अथवा एक नम्बर क्षेत्रबाट उम्मेदवारी दिने भएका छन् । केही समय अगाडिसम्म इटइजइअफका एकजना अभियान्ता पुष्कर बमले पनि अहिले नेपाली कांग्रेसका नेता प्रकाशमान सिंघले प्रतिनिधित्व गरिराखेको काठमाडौंको १ नम्बर क्षेत्रबाट उम्मेदवारी दिनेभएका छन् ।

सम्पन्न स्थानीय निर्वाचनमा स्वतन्त्र हैसियतबाट उम्मेदवारी दिएर १३ हजार ७ सय ७० को सम्मानजनक मत प्राप्त गर्न सफल भएका सुमन सायमीले काठमाडौंको क्षेत्र नं. ४ बाट उम्मेदवारी दिने भएका छन् । काठमाडौंको रत्नपार्कलाई प्रमुख थलो बनाएर सामाजिक अभियान्ताको भूमिका निर्वाह गर्दै आएका मुकुन्द घिमिरेले पनि काठमाडौंको क्षेत्र नं. ४ बाट उम्मेदवारी दिने भएका छन् ।

नेपाली कांग्रेसको प्रमुख भ्रातृ संगठन नेपाल विद्यार्थी संघको केन्द्रीय अध्यक्षको जिम्मेवारी सम्हालिसकेका नैनसिंह महरले पनि काठमाडौंको क्षेत्र नं. ५ बाट नै स्वतन्त्र उम्मेदवारी दिने घोषणा गरेका छन्

यसैगरी चितवनमा सामाजिक र स्वतन्त्र राजनीति कार्यमा सक्रिय रहेका अभियान्ताहरुले माओवादी केन्द्रका अध्यक्ष प्रचण्डसँग प्रतिस्पर्धा गर्ने गरी स्वतन्त्र उम्मेदवारी दिने तयारी गरिराखेका छन् ।

यसका लागि कुनै चर्चित तर राजनीतिक दलसँग सम्बन्धित नभएको व्यक्तिलाई प्रचण्डको प्रतिस्पर्धामा खडा गर्ने योजनामा अहिले चितवनका बुद्धिजीवीहरु सक्रिय रहेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *