गठबन्धनको भविष्य माथि प्रश्न आगामी कर्तिक २७ गते आम निर्वाचन

समाचार

काठमाडौं । स्थानीय निर्वाचनको परिणाम आएपछि नेपालको राजनीतिक क्षेत्रमा विभिन्न प्रकारको खिचडी पाक्न थालेको छ । यस क्रममा सबभन्दा पहिले सरकारमा सहभागी भएको एकीकृत समाजवादीले सरकारमा रहेका आफ्ना मन्त्रीहरु हेरफेर गर्ने निर्णय गर्दै यो प्रस्ताव प्रधानमन्त्री शेरबहादुर देउवा समक्ष पु¥याएको थियो । तर प्रधानमन्त्री देउवाले संसदका विभिन्न समितिमा दफावार छलफल समाप्त नभएको भन्दै एकीकृत समाजवादीको प्रस्ताव अनुसार एस समाजवादीका मन्त्री तत्काल हेरफेर गर्न अस्वीकार गरेका छन् । प्रधानमन्त्री देउवाको यो असहमति प्रति एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालले कुनै प्रतिक्रिया सार्वजनिक रुपमा व्यक्त गरेका छैनन् । एकीकृत समाजवादीका वरिष्ठ नेता झलनाथ खनालले भने प्रधानमन्त्री देउवाको यो कदम प्रति चर्को असहमति जनाउँदै मन्त्री हेरफेर गर्ने लगायतका सबै निर्णय गर्ने सार्वभौम अधिकार दलमा निहित रहेको टिप्पणी गर्दै प्रधानमन्त्री देउवाले आफ्नो पार्टीले गरेको निर्णय अनुसार मन्त्रिपरिषद हेरफेर नगर्नुलाई गठबन्धनको औचित्य माथि नै प्रश्न चिन्ह खडा गर्ने कदम भनेर आलोचना गरेका छन् ।
प्रधानमन्त्री देउवा सम्पन्न स्थानीय निर्वाचनको परिणामबाट उत्साहित भएर आगामी कार्तिक २७ गते एकै चरणमा आम निर्वाचन गर्ने योजनामा अगाडि बढिराखेका छन् । यस सम्बन्धमा अन्तिम छलफल प्रधानमन्त्री देउवाले २०७९÷०८० को वार्षिक बजेट संसदबाट अनुमोदन भएपछि निर्वाचन आयोगका आयुक्त तथा प्रमुख आयुक्तसँग र गठबन्धनका अन्य घटकका नेताहरुसँग छलफल गर्ने भएका छन् । तर प्रधानमन्त्री देउवा र माओवादी केन्द्रका अध्यक्ष बीचमा आगामी आम निर्वाचन र प्रदेश निर्वाचनका सम्बन्धमा छलफल भई सकेको संकेत माओवादी अध्यक्ष प्रचण्डले व्यक्त गरेका छन् । माओवादी अध्यक्ष प्रचण्डले आगामी कार्तिक २७ गते आम निर्वाचन र प्रदेश निर्वाचन एक साथ हुन सक्ने भनेर यस सम्बन्धमा आफू र प्रधानमन्त्रीका बीचमा छलफल भएको संकेत गरेका छन् । सम्पन्न स्थानीय निर्वाचन पछि गठबन्धनमा सामेल एकीकृत समाजवादी लगायतका अन्य केही दल मन्त्री परिवर्तन गर्ने गृहकार्यमा लागि रहँदा अहिले मुलुकको राजनीतिमा वाम गठबन्धन की वाम – लोकतान्त्रिक गठबन्धन भन्ने बहस पनि बढ्न थालेको छ । नेपाली कांग्रेससँगै माओवादी केन्द्रका कतिपय नेता वाम र कांग्रेस गठबन्धनलाई निरन्तरता दिनु पर्ने भनिरहँदा नेकपा एमालेका शीर्ष नेताहरुले भने अहिले वाम गठबन्धनको गृहकार्य गरी राखेका छन् । यो मामिलामा एकीकृत समाजवादीका वरिष्ठ नेता झलनाथ खनालले आजको आवश्यकता वाम गठबन्धन भन्ने टिप्पणी गरेर मुलुकको राजनीतिमा ठूलै हलचल उ्रत्पन्न गरी दिएका छन् । यसरी आउनै लागेको आम निर्वाचनलाई ध्यानमा राखेर गठबन्धनको संरचनाका सम्बन्धमा राजनीतिक कित्तामा छलफल हुन थाल्दा गत सोमबार एकीकृत समाजवादीका वरिष्ठ नेता नारायणकाजी श्रेष्ठ, एमालेका अध्यक्ष केपी ओलीलाई भेट्न उनकै निवास बालकोट पुगेका छन् । एमाले अध्यक्ष ओली र माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठका बीचमा लगभग दुई घण्टा लामो भेटवार्तालाई राजनीतिक क्षेत्रले ठूलो महत्व दिएको छ । उता प्रधानमन्त्री देउवा भने अहिलेको राजनीतिक घटना क्रमले आफूले नेतृत्व गरेको सरकार अल्पमतमा पर्न सक्ने विश्लेषण गर्दै लोकतान्त्रिक समाजवादीलाई समेत सरकारमा ल्याउने गृहकार्य गरी राखेका छन् । सरकारकै एउटा घटक जनता समाजवादी भने विभाजनको संघारमा नै पुगेको छ । जनता समाजवादीको बाबुराम भट्टराई पक्षले अध्यक्ष उपेन्द्र यादव समक्ष तीन सुत्रीय माग राखेर पार्टी विभाजनको ढोका खुलेको छ । संविधान अनुसार पार्टी विभाजन गर्नका लागि चालिस प्रतिशत सांसद र चालिस प्रतिशत नै केन्द्रिय सदस्य आवश्यकता पर्दछ । चालिस प्रतिशत सांसद लिएर बाबुराम भट्टराई जनता समाजवादीबाट बाहिरिँदा देउवाले नेतृत्व गरेको वर्तमान सरकार अल्पमतमा पर्न सक्ने सम्भावना देखेर नै प्रधानमन्त्री देउवाले लोकतान्त्रिक समाजवादीलाई सरकारमा सामेल गर्न लागेका हुन् भनिन्छ ।
निर्वाचनको मिति तोकिएपछि मुलुकको राजनीतिले नयाँ कोर्स लिने र यही कारणले गर्दा आफूले नेतृत्व गरी राखेको सरकार माथि राजनीतिक संकट नआउने विश्लेषण गरेर प्रधानमन्त्री देउवा सकेसम्म आम निर्वाचनको मिति तोक्ने पक्षमा छन् । गठबन्धनका अन्य दलहरु पनि आगामी मंसीर १० गते भित्र नै आम निर्वाचन हुनुपर्ने पक्षमा देखिएका छन् । उता प्रमुख प्रतिपक्ष नेकपा एमाले पनि आगामी कार्तिकको अ्िन्तम साता अथवा मंसीरको पहिलो साता आम निर्वाचन र प्रदेश निर्वाचन हुन सक्ने आकलन गरेर चुनावको तयारीमा लाग्न थालेको छ । चुनावको मिति तय हुनै लाग्दा आगामी आम निर्वाचनसम्म गठबन्धनले निरन्तरता पाउँछ की पाउँदैन भन्ने प्रश्न भने जवाफ पाउन सकेको छैन । किनभने प्रमुख प्रतिपक्ष नेकपा एमालेको प्राथमिकतामा आगामी आम निर्वाचनको तयारीसँगै वर्तमान गठबन्धन भत्काउनु पनि रहेको छ । यसैगरी सम्पन्न स्थानीय निर्वाचनको परिणाम पछि एकीकृत समाजवादी पनि गठबन्धन मार्फत् नै आम निर्वाचनमा जान उत्साहित अवस्थामा छैन । गठबन्धनको अर्को घटक जनता समाजवादी पनि गठबन्धन मार्फत् नै चुनावमा जाने तयारीमा लागेको देखिँदैन । स्मरण रहोस् जनता समाजवादीले जनकपुर र उपमहानगर विराटनगर महानगरमा आफ्नो पार्टीका तर्फका उम्मेदवारलाई नेपाली कांग्रेसले घात गरेको आरोप अहिले पनि लगाई राखेको छ । आम निर्वाचनको मिति घोषणा नहुँदासम्म नेपालको राजनीतिमा के कस्तो खिचडी पाक्छ भन्ने उत्सुकताको विषय भएको बताइन्छ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *