अर्थ मन्त्रालयमा मध्यराती प्रवेश गर्ने व्यक्ति भारतीय नागरिक रहेको खुलासा

राजनीति समाचार

काठमाडौं । आगामी आर्थिक वर्ष २०७९ ८० को बजेट निर्माणको अन्तिम चरणमा जेठ १४ गते मध्यराती अर्थ मन्त्रालयमा प्रवेश गर्ने व्यक्ति भारतीय नागरिक समेत रहेको खुलेको छ । मध्यरातमा मन्त्रालयमा प्रवेश गरी बजेटमा करको दर हेरफेर गर्ने व्यक्तिहरुमा पूर्व नायब सुब्बा रघुनाथ घिमिरे र अर्का भारतीय नागरिक उपेन्द्र हेरावत रहेको रहस्य खुलेको हो ।

विशेष श्रोतले दिएको जानकारी अनुसार बजेट निर्माणको अन्तिम चरणमा रहेका बेला उनीहरु मन्त्रालयमा प्रवेश गरी करिब ७ सय ५० वस्तुको कर परिवर्तनमा संलग्न भएका थिए । घिमिरे २०७५ सालमा दिर्घराज मैनाली राजस्व अनुसन्धान विभागको महानिर्देशक हुँदा आफ्नो कार्यकाल १० वर्ष बाँकी छँदै नासुबाट राजीनामा दिएर व्यापारिक घराना चौधरी ग्रुपसँग नजिकिएका व्यक्ति हुन् भने पेशाले लेखा परीक्षक रहेका भारतीय नागरिक हेरावत पनि चौधरी ग्रुपकै लेखापरिक्षणमा संलग्न रहेका छन् ।

चौधरी ग्रुपकै निर्देशनमा उनीहरु मन्त्रालयमा करका दर हेरफेर गर्न पुगेको विशेष श्रोतको दाबी रहेको छ ।

बजेट निर्माणको अन्तिम चरणमा अनधिकृत रुपमा शंकास्पद व्यक्तिलाई प्रवेश दिएको भन्दै केही समय अगाडि देखि अर्थमन्त्री जनार्दन शर्माको तीब्र विरोध भइरहेको थियो ।

उनको विरोधमा सडकदेखि सदनसम्म तातेको थियो । सत्ता पक्षकै नेताहरुले पनि उनी विरुद्ध चर्को विरोध गरिरहेका थिए ।

पछिल्लो समय उक्त समयको सीसीटिभी फुटेजको माग भइरहेको थियो । तर मन्त्रालयले १३ दिनमै फुटेज डिलेट भएको बताएपछि उनको झन् चर्को विरोध भएको थियो । यही दबाबकाबीच शर्माले बुृधबार पदबाट राजीनामा दिइसकेका छन् ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *