टिपरभित्रै १७ वर्षीया किशोरीमाथि बलात्कार, चालक पक्राउ

समाचार

काठमाडौं । गाउँबाट एउटा टिपरमा लिफ्ट मागेर काठमाडौं आइरहेकी एउटी १७ वर्षीया किशोरीमाथि सोही टिपरका चालकले थानकोटमा बलात्कार गरेका छन् । बलात्कारी टिपर चालक ३२ वर्षीय ज्ञानबहादुर नेपालीलाई प्रहरीले पक्राउ गरिसकेको छ । उनी दोलखाको गौरीशंकर गाउँपालिका ८ का स्थायी वासिन्दा हुन् ।

घटना शुक्रवार राति करिब १० बजेको हो । प्रहरी परिसर, काठमाडौंका प्रहरी उपरीक्षक दिनेशराज मैनालीका अनुसार चन्द्रागिरि नगरपालिका–७ थानकोटस्थित नेपाल आयल निगमको डिपो जाने बाटो छेउमा रा १ ख २७३४ नम्बरको टिपरलाई पार्किङ गरी किशोरीमाथि बलात्कार गरेको आरोप नेपालीमाथि छ ।

१७ वर्षीया ती किशोरी काठमाडौंमै कलेज पढ्छिन् । त्यस दिन उनी गाउँबाट सोही टिपर चढेर काठमाडौं आएकी थिइन् । थानकोट पुगेपछि चालक नेपालीले ‘तेल सकियो हाल्न जाऊँ, पछि गौशाला पुर्‍याइदिन्छु’ भनेका थिए । किशोरी गौशालामा डेरा गरी बस्छिन् । तेल हाल्ने बहानामा उनले थानकोटको डिपो जाने बाटोको छेउमा टिपर पार्किङ गरेका थिए । टिपर पार्किङ गरेछि उनले सहचालकलाई गाडीको टायर जाँच गर्नु भन्ने बहाना बनाएर गाडीबाट पठाए । सहचालक बाहिर गएपछि चालक नेपालीले टिपरको ढोका बन्द गरी किशोरीमाथि बलात्कार गरेको प्रहरी उपरीक्षक मैनालीको भनाइ छ ।

बलात्कार गरेपछि चालक टिपर छाडेर भागेका थिए । बलात्कार गरेको खबर पाएपछि प्रहरी वृत्त थानकोटबाट प्रहरी नायब उपरीक्षक डिल्ली नारायण पाण्डेयको कमाण्डमा टोली खटिएर पीडित किशोरीको उद्धार गरेको थियो । पीडित किशोरीको उद्धार गरी स्वास्थ्य परीक्षणका लागि प्रसूति गृह, थानकोटमा पठाइएको थियो । त्यसपछि चालकको खोजी गर्दा शनिबार बिहान साढे ३ बजे काठमाडौं महानगरपालिका–१४, कलंकीमा फेला पारी प्रहरीले नेपालीलाई पक्राउ गरेको थियो ।

पक्राउ परेका नेपालीलाई काठमाडौं जिल्ला अदालतमा पेस गरिएको छ । उनीमाथि अदालतले मुलुकी फौजदारी संहिता २०७४ को करणी सम्बन्धी कसुरमा थप अनुसन्धान गर्न पाँच दिन हिरासतमा राख्न अनुमति दिएको छ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *