छानबिन समितिले आज अर्थ मन्त्रालयका अधिकारीसँग बयान लिँदै

अर्थ/वाणिज्य समाचार

काठमाडौँ । निवर्तमान अर्थमन्त्री जनार्दन शर्मामाथि छानबिन गर्न गठित संसदीय विशेष समितिले आज अर्थ मन्त्रालयका अधिकारीहरू छलफल गर्ने भएको छ। बजेट निर्माणका क्रममा अनधिकृत व्यक्तिलाई मन्त्रालयमा लगेर करको दर हेरफेर गरेको विषयमा मन्त्रालयका कर्मचारीहरुसँग छलफल लिने तयारीमा रहेको समितिका सचिव सुरेन्द्र अर्यालले जानकारी दिएका छन्।

समितिले अर्थ सचिव मधु मरासनी, राजस्व सचिव कृष्णहरि पुष्कर, बजेट तथा राजस्व महाशाखाका सहसचिवहरु, भन्सार तथा आन्तरिक राजस्व विभागका महानिर्देशकहरुलाई बयानका लागि छुट्टाछुटै बोलाएको छ । अर्थ मन्त्रालयका अधिकारीहरुलाई तीन चरणमा समितिमा बोलाउने र बयान लिने समितिका एक सदस्यले जानकारी दिएका छन् ।

शुक्रबार मन्त्रालयले बजेट निर्माणसम्बन्धी कागाजात र सीसीटीभीको फुटेझ समितिलाई बुझाएको उनले बताए। त्यसमाथि आवश्यक छानबिन बाँकी छ। आज पाँचौँ दिन आज ११ बजे बैठक बस्दै छ। समितिलाई छानबिनका लागि १० दिनको समय तोकिएको छ । छानबिनमा सघाउने भन्दै जनार्दन शर्माले अर्थमन्त्रीबाट राजीनामा दिएका छन् । सभामुख अग्निप्रसाद सापकोटाले असार २२ गते ११ सदस्यीय संसदीय विशेष समिति गठन गरेका थिए ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *