चलचित्र विकास बोर्डको अध्यक्षका लागि १० जना उम्मेदवार छनोट, साउन ५ र ६ गते परीक्षा

राजनीति समाचार

काठमाडौं । सञ्चार तथा सूचना प्रविधि मन्त्रालय अन्तर्गत रहेको चलचित्र विकास बोर्डको नयाँ अध्यक्षका लागि १० जना उम्मेदवारको नाम छनोटमा परेको छ । मन्त्रालयले अध्यक्षका लागि इच्छुक र योग्य व्यक्तिहरुबाट आवेदन माग गरेपछि निवेदन दिएका मध्ये १० जनाको नाम छानेर सार्वजनिक गरेको हो ।

बोर्डको अध्यक्ष बन्नका लागि निवेदन पेश गर्नेहरुमा चलचित्र क्षेत्रका चर्चित अनुहारदेखि आक्कलझुक्कल देखिएकाहरु समेत रहेका छन् ।

दुइ वर्षको कार्यकाल रहने बोर्डको अध्यक्षमा अरुण कुमार प्रधान, दीपक श्रेष्ठ, नरेश कुमार पौड्याल, निर्मलराज ढकाल, भुवन केसी, मनिष पण्डित, सम्झना उप्रेती रौनियार, सुचित्रा श्रृष्ठ, सुशील कुमार पोखरेल र सुष्मा कार्कीले आकांक्षाका साथ निवेदन दिएका छन् ।

मन्त्रालयले तोकेकै मितिभित्रमा निवेदन परेपछि एक सूचना जारी गरी अन्तर्वार्ताको मिति र समय पनि निर्धारण गरेको छ । बोर्डको अध्यक्षमा दरखास्त दिनेमध्ये छनोट भएका उमेदवारको नाम सार्वजनिक गरेको मन्त्रालयले अन्तर्वार्ता लिने भएको छ ।

प्रधान, श्रेष्ठ र पौड्यालको अन्तर्वार्ता मिति साउन ५ गते तोकिएको छ भने उनीहरूलाई बिहान ७ देखि १० बजेसम्म अन्तर्वार्ताको समय तोकिएको छ ।

ढकाल, केसी, पण्डित र रौनियारलाई अन्तर्वार्ताका लागि ५ गते दिउँसो ४ बजेदेखि ८ बजेसम्म समय तोकिएको छ ।

बाँकी सुचित्रा श्रृष्ठ, सुशील कुमार पोखरेल र सुष्मा कार्कीको ६ गते शुक्रबार बिहान ७ देखि १० बजेसम्मका लागि समय निर्धारण गरिएको मन्त्रालयले सूचनामा उल्लेख गरेको छ ।

यसअघि बोर्डको अध्यक्ष रहेका चलचित्र निर्देशक दयाराम दाहालको कार्यकाल सकिएपछि नै आकाँक्षीहरु शक्ति केन्द्रको ढोकामा चाहारि रहेका छन् ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *