भारतीय हेपाहा नीतिका कारण प्रचण्डले पाएनन् मोदीको भेट

राजनीति समाचार

काठमाडौं । गत साताको शुक्रबार माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँगको आफ्नो सम्बन्धलाई थप बलियो बनाउन भनेर उत्साहका साथ दिल्ली प्रस्थान गरेका थिए ।

भारतमा सत्ताको नेतृत्व गरिरहेको भारतीय जनता पार्टीका अध्यक्ष जेपी नड्डाको निमन्त्रणामा सत्तारुढ गठबन्धनको एउटा प्रमुख घटक माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड दिल्ली प्रस्थान गरेका थिए । प्रधानमन्त्री शेरबहादुर देउवाकी पत्नी उपचारका लागि भनेर दिल्ली बसिराखेको अवस्थामा माओवादी अध्यक्ष प्रचण्डको त्यो दिल्ली भ्रमणलाई थप उत्साहका साथ लिइएको थियो ।

आगामी मंसिरमा हुने आमनिर्वाचनपछि नेपाली कांग्रेस र माओवादी केन्द्रले आलोपालो सरकारको नेतृत्व गर्ने चर्चा भइरहँदा र कांग्रेसको तर्पmबाट डा. आरजु देउवाले सरकारको नेतृत्व गर्ने सम्भावना भएको अवस्थामा माओवादी अध्यक्ष प्रचण्डको यो भ्रमणलाई काठमाडौंको राजनीतिक क्षेत्रले उच्च महत्व दिएको थियो।

तर, काठमाडौंबाट उड्दानै गत आइतवार बिहान भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग बिहानको लञ्चमा भेटवार्ता हुने कार्यक्रम तय गरिएको थियो ।

तर, आतवार बिहान भेटघाट हुन नसकेपछि भाजपाका अध्यक्ष जेपी नड्डाले दिएको दिवा भोजपछि भारतीय प्रधानमन्त्री मोदीसँग भेट हुने खबर माओवादी अध्यक्ष प्रचण्डलाई आएको थियो ।

तर, तीन दिनको बसाइमा पनि माओवादी अध्यक्ष प्रचण्डले भारतीय प्रधानमन्त्री मोदीसँग भेट गर्ने अवसर नपाई गत आइतवार स्वदेश फर्किएका थिए । नेपालको सत्तारुढ एउटा पार्टीका अध्यक्ष प्रचण्डले तीन दिनको बसाइमा पनि भारतका प्रधानमन्त्री मोदीसँग भेटवार्ता गर्न पाएनन् ।

यसैगरी गत अप्रिलको सुरुमा नै दिल्लीस्थित नेपाली राजदूतको जिम्मेवारी सम्हालेका शंकरराज शर्माले अहिलेसम्म भारतका विदेश मन्त्री यस जय शंकर र विदेश सचिव विनय मोहन क्वात्रासँग अहिलेसम्म भेटघाट गर्ने अवसर प्राप्त गर्न सकेका छैनन् ।

दिल्ली पुगेर राजदूतको जिम्मेवारी सम्हालेलगत्तै शंकर शर्माले भारतीय विदेश मन्त्री र विदेश सचिवसँग भेटका लागि समय मागेर लेखेको पत्रको जवाफ समेत दिल्लीस्थित नेपाली दूतावासले प्राप्त गर्न सकेको छैन ।

यता काठमाडौंमा भने भारतीय राजदूतको जिम्मेवारी सम्हालेको एक महिनापनि नपुग्दै नविन श्रीवास्तवले राष्ट्रपति, प्रधानमन्त्री, विदेश मन्त्रीलगायत सबै मन्त्री र सत्तारुढ गठबन्धनका शीर्ष नेताहरु पुष्पकमल दाहाल, माधवकुमार नेपाल, उपेन्द्र यादव तथा प्रमुख प्रतिपक्षी नेकपा एमालेका अध्यक्ष केपी ओलीसँग भेटवार्ता सम्पन्न गरिसकेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *