प्रचण्डको समाजवादीले राजनीतिमा हलचल गठबन्धनको भविष्य अन्योलमा

समाचार

काठमाडौं । तीन दिने भारत भ्रमणमा फर्किएको लगत्तै सरकारको एउटा घटक माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले प्रमुख प्रतिपक्ष नेकपा एमालेलाई अलग राखेर अन्य कम्युनिष्ट शक्तिलाई एक ठाउँमा ल्याएर समाजवादी केन्द्र गठन गर्ने योजनालाई तीव्रता दिएका छन् । माओवादी अध्यक्ष प्रचण्डले कम्युनिष्ट पार्टीहरुका बीचमा बन्ने समाजवादी केन्द्र मार्फत् नै आगामी संघीय र प्रदेश निर्वाचन एउटै चुनाव चिन्हबाट लड्ने योजना पनि अगाडि सारेका छन् । यस सम्बन्धमा माओवादी नेता वर्षमान पुनले संघीय संसदका लागि प्रत्यक्ष तर्फबाट हुने १६५ स्थानमा नै समाजवादी केन्द्रमा आवद्ध रहेका कम्युनिष्ट दलहरुले एउटै चुनाव चिन्हबाट लड्ने दाबी समेत गरेका छन् । माओवादी अध्यक्ष दाहालले अगाडि सारेको कम्युनष्टि दलहरुलाई एक ठाउँमा ल्याएर समाजवादी केन्द्र गठन गर्ने योजना प्रति माओवादीका अतिरिक्त सरकारको अर्को घटक एकीकृत समाजवादी उत्साहका साथ सहभागी हुन थालेका छन् । सरकारमा रहेका माओवादी, एकीकृत समाजवादीका अतिरिक्त निर्वाचन आयोगमा दर्ता प्रक्रियामा रहेका बाबुराम भट्टराई नेतृत्वको नेपाल समाजवादी र वामदेव गौतम नेतृत्वको नेकपा एकीकरण राष्ट्रिय अभियान माओवादी अध्यक्ष प्रचण्डले अगाडि सारेको समाजवादी केन्द्रमा सामेल हुने भएका छन् ।
यस सम्बन्धमा माओवादी अध्यक्ष प्रचण्ड, माओवादी नेता नारायण काजी श्रेष्ठ, एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपाल, नेता झलनाथ खनाल यसैगरी अहिले स्वतन्त्र हैसियतमा रहेका बाबुराम भट्टराई र नेकपा एकीकरण राष्ट्रिय अभियानका संयोजक वामदेव गौतमका बीचमा पटकपटक वार्ता भएको छ । यी कम्युनिष्ट शीर्ष नेताहरुका बीचमा आगामी संघीय र प्रदेश निर्वाचनमा समाजवादी केन्द्र मार्फत् लड्ने सहमति बनिसकेको छ । सरकारका दुई घटक माओवादी केन्द्र र एकीकृत समाजवादीका शीर्ष नेताहरुले आगामी संघीय र प्रदेश निर्वाचन समाजवादी केन्द्र मार्फत् लड्ने गरी गृहकार्यलाई अगाडि बढाई रहँदा नेपाली कांग्रेसको नेतृत्वमा कायम रहेको अहिलेको गठबन्धन के हुन्छ भन्ने प्रश्नले जवाफ पाउन सकेको छैन । र, यो मामिलामा माओवादी अध्यक्ष प्रचण्डदेखि एकीकृत समाजवादीका अध्यक्ष माधव नेपाल समेत पन्छिँदै आएका छन् । कतिपय राजनीतिक विश्लेषकले नेपाली कांग्रेस माथि दवाव बढाउनका लागि माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले यो रणनीति अख्तियार गरेको टिप्पणी गरेका छन् ।
सम्पन्न स्थानीय निर्वाचनको परिणामबाट उत्साहित बन्न पुगेको नेपाली कांग्रेस अब हुने संघीय र प्रदेश निर्वाचनमा एकल बहुमत ल्याउने गरी रणनीति बनाउन लागि परिराखेको छ । यही कारणले गर्दा नेपाली कांग्रेसले संघीय संसदको प्रत्यक्ष तर्फको १६५ सिट मध्ये १०० सिटमा उम्मेदवारी दिने गरी आपसमा बहस अगाडि बढाई राखेको छ । नेपाली कांग्रेसले १६५ मध्ये प्रत्यक्ष तर्फको १०० स्थानमा उम्मेदवारी दिने गरी बढाएको गृहकार्य प्रति गठबन्धनका नेताहरु झलनाथ खनाल र नारायणकाजी श्रेष्ठले चर्को विरोध गर्ने आफूहरु नेपाली कांग्रेसको भ¥याङको रुपमा मात्र उपयोग नहुने भन्ने टिप्पणी गरेर कांग्रेसलाई सचेत गराउने तथा चेतावनी दिने काम गरी राखेका छन् । उता सम्पन्न स्थानीय निर्वाचनको परिणामबाट उत्साहित बन्न पुगेको नेपाली कांग्रेसको नेतृत्व अहिलेको अवस्था आफ लागि एकदमै अनुकूल भएको निष्कर्ष निकाल्दै बहुमत ल्याउने गरी चुनावी मैदानमा उत्रने रणनीति बनाई राखेको छ । गठबन्धन अन्य घटक आफ्नो साख र सहयोगबाट राजनीतिक फाइदा लिन संयुक्त रुपमा चुनावी मैदानमा उत्रन थालेको निष्कर्ष निकाल्दै यही कमजोरीलाई आफ्नो विजयको प्रमुख आधार मानेर कांग्रेस अगाडि बढिराखेको छ ।
तर वर्तमान सरकारको एउटा प्रमुख घटक माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले एमाले बाहेकका सबै कम्युनिष्ट शक्तिलाई एक ठाउँमा ल्याएर चुनावी मैदानमा उत्रने योजना अगाडि सारेपछि अहिले सरकार संचालन गरी राखेको पाँच दलिय गठबन्धनमा अन्योल उत्पन्न हुन गएको छ । माओवादी अध्यक्ष प्रचण्डको यो योजना प्रति गठबन्धन र संसद भन्दा बाहिर रहेका कम्युनिष्ट पार्टीहरुले कुनै प्रतिक्रिया व्यक्त गरेका छैनन् भने सरकारकै एउटा घटक राष्ट्रिय जनमोर्चाले पनि यस सम्बन्धमा अहिलेसम्म केही बोलेको छैन र समाजवादी केन्द्र गठन गर्न लागि परिराखेका कम्युनिष्ट नेताहरुले पनि यो मामिलामा राष्ट्रिय जनमोर्चालाई महत्व दिएको देखिएको छैन ।
जे भएपनि सरकारमै रहेका माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड र एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालले कम्युनिष्ट शक्तिहरुलाई एक ठाउँमा ल्याएर समाजवादी केन्द्र गठन गर्ने र त्यही केन्द्र मार्फत् चुनाव लड्ने योजन र रणनीतिको कारण अहिले गठबन्धन र सरकारको नेतृत्व गरी राखेको नेपाली कांग्रेसमा आकास्मिक रुपमा गम्भीर अन्योल उत्पन्न हुन पुगेको छ । यदि प्रचण्डको यो प्रस्ताव अनुसार सरकारमार रहेका कम्युनिष्ट पार्टीहरु पनि यो गठबन्धनलाई परित्याग गरेर कम्युनिष्ट शक्ति एक ठाउँमा आएर गठन हुने समावादी केन्द्र मार्फत् चुनाव लडेको स्थितिमा आम निर्वाचन पछि पनि सरकारको नेतृत्व गर्ने कांग्रेस र प्रधानमन्त्री देउवाको योजना भताभुंग हुन जाने छ । माओवादी अध्यक्ष प्रचण्डले कम्युनिष्ट शक्तिहरुलाई एक ठाउँमा ल्याएर समाजवादी केन्द्र गठन गर्ने र त्यही केन्द्र मार्फत् चुनाव लड्ने योजना कुन प्रयोजनले अगाडि सारेका हुन् भन्ने स्पष्ट नभएपनि समाजवादी केन्द्र मार्फत् कम्युनिष्ट दलहरु चुनावी मैदानमा उत्रँदा त्यसको सिधा फाईदा नेकपा एमालेलाई पुग्ने अवस्था आउन सक्ने देखिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *