रामचन्द्र बस्नेत
यो देशका लागि राजनीतिक स्थिरता ठूलो समस्या रहेको छ । मुलुक १०४ बर्ष लामो राणा शासन समाप्त भएर आधुनिक युगमा प्रवेश गरेदखि नै राजनीतिक अस्थिरतालाई भोग्दै आएको छ । संसदीय पद्दती हुदै गणतन्त्रमा आई पुग्दा पनि नेपाललाई राजनीतिक अस्थिरताको भुतले छाड्न सकेको छैन र बहुमत ल्याएको दलले पनि यो देशमा आफनो सरकार पाँच बर्ष टिकाउन सकेको छैन । दुई तिहाई बहुमतको कांगे्रसको पहिलो निर्वाचित सरकारलाई स्व.वी.पी. कोइरालाले १८ महिना भन्दा बढी टिकाउन सकेनन । यसैगरी केपी ओलीले पनि दुई तिहाई निकट बहुमतको सरकारलाई साढे तीन बर्ष भन्दा अगाडी लैजान सकेनन । ०४६ साल पछिको राजनीतिक अभ्यासमा नेपाली कागे्रंसले ०४८ र ०५६ सालमा सम्पन्न भएको दुईवटा आमचुनावमा बहुमत ल्याएको छ । तर सरकारभने एक पटक पनि ५ बर्ष टिकाउन सकेको छैन ।
यो राजनीतिक अस्थिरताबाट मुक्ति पाउनको लागि संबिधानमा नै पाँच बर्षे कार्यकाल समाप्त नभई संसद विघटन गर्न नपाउने प्रवधान राखियो । यसैगरी दुई वर्ष नपुगी सरकारका विरुद्धमा अविश्वासको प्रस्ताब ल्याउन नपाईने प्रावधान पनि सम्बिधानमा राखियो । तर पनि यो मुलुकमा स्थिर सरकार गठन हुन सकेको छैन । किनभने नेपालका राजनीतिक दलमा सहकार्य गरेर अगामी बढ्ने संस्कार र संस्कृति अहिलेसम्म देखिएन । संस्कार नै नभएपछि संविधानमा लेखेर मात्र केही नहुने रहेछ । नेपालको राजनीतिलाई अस्थिर गर्न अग्रगामी भनेर संविधानमा नै टाँसेको मिश्रित निर्वाचन प्रणालीले पनि महत्वपूर्ण भूमिका निर्वाह गरेको छ । समानुपातिक र प्रत्येक्ष मिश्रित निर्वाचित प्रणालीले कुनै दललाई बहुमत ल्याउन र राजनीतिलाई स्थिर हुन दिने देखिदैन । तर त्यो राजनीतिक अस्थिरताको फाईदा भने राजनीतिमा च्याखे बसेका दलले उठाउने स्थिति देखिन्छ र अहिले पनि त्यस्ता दलले च्याखेको फाईदा उठाई राखेको अबस्था छ । जबसम्म मुलुकले समानुपातिक निर्वाचन प्रणालीलाई पनि स्वीकारी रहन्छ तबसम्म कुनै दलले संसदमा बहुमत ल्याउन सक्दैन । कुनै पनि दलले बहुमतल्याउन नसक्ने र दलहरु पनि सहकार्य गरेर अगाडी बढ्न नसक्ने भएपछि राजनीतिक अस्थिरता त आउने नै देखिन्छ ।
तर राजनीतिमा अस्थिरता समाप्त भएन भने लोकतन्त्र पनि सफल हुन सक्दैन । नेपालमा यही भै राखेको छ । अझै राजनीतिक स्थिरता र सबै वर्ग, पेसा, समुदायको प्रतिनित्वको नाममा पुर्ण समानुपातिक निर्वाचन प्रणालीको वकालत समेत हुन थालेको छ । तर अहिलेको मिश्रित निर्वाचन प्रणालीको समानुपातिक तर्फलाई नेताहरुले आफ्ना स्वास्नी छोरा छोरीलाई प्रयो गरेको तितो अनुभव हामीले प्रसस्त बटुली सकेका छौ । त्यस कारण राजनीतिक अस्थिरताको समाधान पूर्ण समानुपातिक निर्वाचन प्रणाली होईन । यसले त राजनीतिमा थप विकृती जन्माउने काम मात्र गर्ने देखिन्छ । गर्दछ ।
अहिले राजनीतिक पद्दती र लोकतन्त्रलाई नै बदनाम गर्ने गरी अस्थिरता बढी राखेको छ । तर यसलाई कसैले पनि समस्या मानेको छैन । यसको विपरित राजनीतिको अस्थिरताको धमिलो पानीमा माछा मार्न सबै दलले तछाडमछाड गरी राखेका छन् । आफ्नो स्वार्थ जोडिएकै कारणले गर्दा राजनीतिक स्थिरता भन्दै पूर्ण समानुपातिक निर्वाचन प्रणालीको वकालत गर्न थालेका छन् । जब कि समानुपातिक निर्वाचन प्रणालीलाई यो दुनियाँको कुनै पनि लोकतान्त्रिक मुलुकले अहिलेसम्म अवलम्बन गरेका छैनन् ।
समानुपातिक सहितको मिश्रित निर्वाचन प्रणालीको कारण एकल दलले बहूमत ल्याउने सक्भावना अत्यन्त कम छ । यो स्थितिमा खेल्ने र फाईदा लिने मौका बीचमा दलले पाउने गर्दछन । जसरी अहिले संसदमा तेश्रो हैसियतको माओवादी केन्द्रले राजनीतिक फाईदा मात्र लिई राखेको छैन कि सरकारको नेतृत्व गरी राखेको कागें्रसलाई ब्याकमेलिङ समेत गरी राखेको छ । कुनै दलले बहुमत नल्याएको र संसद त्रिशंकु भएको अवस्थामा बदनाम हुने भनेको प्रजातन्त्रले र फाईदा उठाउने भनेको अवसरवादी दल र नेताले नै हो । तर नेपालमा संसदमा स्पष्ट बहुमत भएको दलले समेत पाँच वर्षसम्म किन संचालन गर्न सकिराखेका छैनन् भनेर अहिलेसम्म चासो राखेको र राजनीतिक अस्थिरताको कारण खोजेको देखिएको छैन ।
अवलम्बन गरेको निर्वाचन प्रणालीको कारण हत्तपत्त कुनै दलले बहुमत ल्याउने अवस्था छैन । यसैगरी दलहरुमा सहकार्य गरेर जाने संस्कार छैन । यो परिस्थितिमा प्रजातन्त्र वदनाम र असफल हुदा आश्चर्य मान्नु पर्ने भएन । नेपाली कांगे्रसले ०१७,०४८ र ०५६ सालमा सम्पन्न भएको आम निर्वाचनमा स्पष्ट बहुमत ल्याएको छ । ०१७ सालमा भएको पहिलो आम निर्वाचनमा त नेपाली कांगे्रसले दुई तिहाई सीटमा नै विजय हात पारेको थियो । तर बहुमतबाट बनेको कुनै पनि सरकारलाई कांगे्रसले टिकाउन सकेन । त्यस कारण बहुमत हुदैमा सरकार ५ बर्ष टिक्छ भन्ने आधार पनि छैन । बहुमत भएको दलको सरकार पनि पाँच बर्ष नटिक्ने र सहकार्य गर्ने संस्कार नै नभएको स्थिीतमा सरकार र राजनीतिले कसरी स्थायित्व प्राप्त गर्छ भन्ने प्रश्न उठनुलाई आश्चर्य मान्नुपर्दैन ।