भूमि–कृषिको बढ्दो व्यापारीकरण

समाचार

किसान नेताहरू भीमदत्त पन्त, तुलसीलाल अमात्य र बलदेव रामको स्मृति दिवसको अवसरमा प्रज्ञा प्रतिष्ठानमा भूमि–कृषि अधिकार आन्दोलनको वर्तमान परिवेश र भावी कार्यदिशा विषयक सम्वाद भएको छ । फरक पृष्ठभूमिका तीनै जना नेताहरु भूमिहीन, किसान र गरिबको पक्षमा निरन्तर आवाज बुलन्द गरिरहने सङ्घर्षशील स्वभावका थिए ।
कार्यक्रममा सामुदायिक आत्मनिर्भर सेवा केन्द्रका कार्यकारी निर्देशक जगत देउजाले तीनै जना नेताहरूले भूमि र कृषि आन्दोलनमा पु¥याउनु भएको योगदानको स्मरण गर्दै अहिलेको परिवेशमा भूमि र कृषि अधिकार अभियानमा सङ्लग्न अभियानकर्ता एवं अधिकारकर्मीहरूले सिक्नुपर्ने पाठहरूको विषय पनि स्मरण गराउनु भयो ।
आन्दोलनमा लामो अनुभव सङ्गाल्नु भएका डा.जगत बस्नेतले भूमि–कृषि आन्दोलनको वर्तमान परिवेश र भावी कार्यदिशा विषयमा कार्यपत्र प्रस्तुत गर्नुभएको थियो । भूमिको गैरकृषिकरण, कृषिको व्यापारीकरण, जमिनको सिमित व्यक्तिमा केन्द्रिकरण मुख्य समस्या भएको उहाँले औँल्याउँदै एकीकृत र सशक्त आन्दोलनको खाँचो औंल्याउनु भयो ।
राजनीतिक विश्लेषक एवं सविधानसभा सदस्य श्याम श्रेष्ठले कार्यपत्रमाथि टिप्पणी गर्दै सिमान्त जमिन भएका किसानको समस्यालाई कसरी हेर्ने भन्नेमा प्रष्टता हुनुपर्ने बताउनुभयो । हलिया, हरवा, चरवा, कमलरी र मुक्त कमैयालाई उचित जमिन उपलव्ध गराउने हो भने भूमि सुधारको आधा काम सम्पन्न हुने उहाँको धारणा
थियो ।
भूमि–कृषि अभियानका अध्येता विमलकुमार फुयालले समाजवाद उन्मुख अर्थ व्यवस्थामा समाजवाद उन्मुख भूमि व्यवस्थाको प्रस्तावना तयार गरी सोका लागि सबै मिलेर देखिने खालको आन्दोलन गरिनु जरुरी भइसकेको बताउनुभयो ।
नेपाल महिला एकता समाजका अध्यक्ष बिमला तामाङले शहरी भूमिहीनको समस्या जटिल हुँदै गएकाले यस विषयमा सरकारले सुन्ने गरी आन्दोलन गर्नु जरुरी रहेको बताउनुभयो । त्यस्तै, हलिया अगुवाले आन्दोलनलाई नयाँ गती दिन आवश्यक रहेको र चुनाव अघि नै दबाबमूलक आन्दोलन आवश्यक रहेको औंल्याउनु भयो ।
कार्यक्रमको अन्त्यमा राष्ट्रिय भूमि अधिकार मञ्च, नेपालको अध्यक्ष सरस्वती सुव्वाले किसान नेताहरूले भूमि तथा कृषि अधिकारको आन्दोलनमा पु¥याउनु भएको योगदानको स्मरण गर्दै नेपाल सरकारले नै किसान नेता र आन्दोलन तथा अभियानका अगुवाहरूलाई सम्झने गरी वर्षको एक दिन भूमि दिवस मनाउन माग गर्नुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *