रुसलाई एक लाख सैनिक दिने उत्तर कोरियाको प्रस्ताव

देश/विदेश समाचार

काठमाडौँ । उत्तर कोरियाले रुसलाई एक लाख स्वयंसेवक लडाकु युक्रेनसँगको युद्धमा लड्नका लागि सहयोग गर्ने प्रस्ताव गरेको छ ।

रुसी सरकारी सञ्चारमाध्यमले यस्तो जानकारी दिएका हुन् । समाचारमा उल्लेख गरिएअनुसार उत्तर कोरियाका एक लाख स्वयंसेवक युद्धमा भाग लिन तयार छन् । रुसी सञ्चारमाध्यममा उत्तर कोरियाको सेनाको पनि प्रशंसा गरिएको छ । अमेरिकाले उच्च क्षमताको रकेट प्रणाली युक्रेनलाई दिने निणर्य गरेसँगै रुसी सञ्चारमाध्यमले यस्तो समाचार प्रकाशित गरेको हो ।

रुसी सेनाबारे जानकार इगोर कोरोट्चेन्कोले उत्तर कोरियाले युक्रेनको फासीवादविरुद्ध लड्न चाहन्छ भने उसको प्रस्ताव स्वीकार गर्नुपर्ने बताएका छन् । अमेरिकाको न्युयोर्कस्थित काउन्सिल फर फरेन रिलेसन्सका अनुसार उत्तर कोरियाको सेना विश्वको चौथो ठूलो सेना हो । उत्तर कोरियामा सक्रिय सैनिकको संख्या करिब १३ लाख छ । थप ६ लाख रिजर्भ सैनिकको रुपमा रहेका छन् । यद्यपि उत्तर कोरियाले पुरानो हतियार र प्रविधिबाट काम चलाउँदै आएको विश्लेषकहरुको भनाइ छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *