गठबन्धनलाई प्रत्यक्ष सिट भागबण्डा नै ठूलो चुनौती : विद्रोह र अन्तरर्घात ठूलो भुकम्प हुने स्थिति

राजनीति समाचार

काठमाडौं । आगामी मंसिर ४ गते हुने आम निर्वाचन हुदैँछ । संघीय सांसदको १६५ स्थानमा प्रत्यक्ष मतदानबाट हुने निर्वाचनप्रति सबै दलको बढि चासो रहेको छ । गठबन्धनमार्फत प्रत्यक्षतर्फको उक्त स्थानहरुमा बढि विजय प्राप्त गर्ने उद्देश्यका साथ सरकारमा रहेका पाँचदलिय गठबन्धनले बनाएर चुनावमा उत्रने भएका छन् । गठबन्धन बनाएर प्रत्यक्षतर्फको निर्वाचनमा उत्रन सरकारमा रहेका सबै दलहरु सहमत भएपनि प्रत्यक्षतर्फको १६५ स्थानको भागबण्डामा भने ठुलो चुनौती र समस्या उत्पन्न हुने देखिएको छ ।

यो समस्या र चुनौतीलाई समाधान गर्न गत साउन २३ गते बसेको गठबन्धनका शीर्ष नेताहरुले ११ सदस्यीय कार्यदल गठन गरेका छन् । यो कार्यदलले संयोजकमा नेपाली कांग्रेसका नेता कृष्ण सिटौला तय गरेको छ । र, यहि साउन २६ गते प्रत्यक्षतर्फको १६५ सिटको भागबण्डाका लागि पहिलो बैठक बसेको छ ।  प्रत्यक्षतर्फको १६५ स्थानमा गठबन्धनको नेतृत्व गरिहेको नेपाली कांग्रेसले ६० प्रतिशत अर्थात १०० स्थानमा दाबी गरेको छ । नेपाली कांग्रेसले सके बहुमत ल्याउने नभए सबैभन्दा ठुलो दल हुने योजनाअनुसार प्रत्यक्षतर्फ ६० प्रतिशत सिटमा दाबी गरेको हो ।

यसैगरी समग्रमा दोस्रो ठुलो दल र कम्युनिष्ट कित्तातर्फ सबभन्दा ठूलो दल हुने योजना बनाएको माओवादी केन्द्रले प्रत्यक्षतर्फ ५० स्थानमा दाबी गर्दै आएको छ । यसैगरी कांग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन आफूले निर्णायक भूमिका निर्वाह गरेको भन्दै एकीकृत समाजवादीले २५ सिटमा दाबी गरेको छ । यसरी गठबन्धनका तीन दलले प्रत्यक्षतर्फ १७५ सिटमा दाबी गरेका छन् । जबकी प्रतिनिधि सभामा प्रत्यक्षतर्फबाट जम्मा १६५ जना निर्वाचित भएर आउँछन् । उता, गठबन्धनका अन्य दुइ दल जनता समाजवादी र राष्ट्रिय जनमोर्चाले यस सम्बन्धमा आफ्नो मूख खोलेका छैनन् ।

जनतासमाजवादीबाट निष्काशित भएका बाबुराम भट्टराईले पनि आफ्नो नेतृत्वमा हालै निर्वाचन आयोगमा दर्ता भएको नेपाल समाजवादी पार्टीलाई गठबन्धनमा सामेल गराउन प्रधानमन्त्री तथा गठबन्धनका संयोजक शेरबहादुर देउवासँग भेटेर अनुरोध गरीसकेका छन् । त्यसैगरी बामदेव गौतमले पनि आफ्नो नेतृत्वमा गठन भएको नेकपा एकीकरण राष्ट्रिय अभियान पार्टीलाई पनि गठबन्धनमा समावेश गर्न अनुरोध गरेका छन् ।

नागरिकतासम्बन्धी अध्यादेश अगाडी बढेपछि महन्थ ठाकुरको नेतृत्वको लोकतान्त्रिक समाजवादी पार्टी पनि सरकार र गठबन्धनमा सामेल हुने भएको छ । यसरी अहिले नै आठवटा राजनीतिक दल गठबन्धनमा सामेल हुने भएका छन् । यी सबै दलको स्वार्थ र लक्ष्य भनेको गठबन्धनमार्फत कम्तीमा आफ्नो पार्टीका शीर्ष नेताहरुले प्रत्यक्षतर्फको निर्वाचनमा विजय प्राप्त गर्नु रहेको छ । तर, गठबन्धनमा सामेल हुने यी दलहरुलाई प्रत्यक्षतर्फको १६५ स्थान भागभण्डा गर्न ठूलो समस्या र चुनौती हुने देखिएको छ । र, भागबण्डा मिल्न नसकेको अवस्थामा गठबन्धनमा सामेल सबै दलहरुमा विद्रोह अन्तरघात चर्किने र त्यो विद्रोह नै पार्टीका शीर्ष नेताहरुलाई चपेतामा लिने सम्भावना बलियो देखिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *