कार्यदलले शुरु ग-यो आफ्नो काम : भागबण्डाको जिम्मेवारी भने झन् चुनौतीपूर्ण

राजनीति समाचार

काठमाडौं । यहि साउन २६ गते बसेको सत्तारुढ गठबन्धनको कार्यदल प्रत्यक्षतर्फको १६५ स्थानको भागबण्डा गर्ने आफ्नो जिम्मेवारीमा प्रवेश गरेको छ । गत साउन १९ गते बसेको मन्त्रीपरिषद्को बैठकले संघ र प्रदेशको निर्वाचन आगामी मंसिर ४ गते एकसात गर्ने निर्णय गरे लगत्तै साउन २० गते गठबन्धनका शीर्ष नेताले प्रदेश र संघको प्रत्यक्षतर्फको निर्वाचनमा आपसी तालमेल मिलाउन तथा सिट बाँटफाट गर्न ११ सदस्यीय कार्यदल गठन गरेको थियो ।

उक्त कार्यदल यहि साउन २६ गतेबाट आफ्नो जिम्मेवारीमा प्रवेश गरेको छ । पाँचदलले प्रत्यक्षतर्फको क्षेत्र भागबण्डा मिलाउन भनेर गठन गरेको कार्यदलले आफ्नो जिम्मेवारी शुरु गर्दा उता गठबन्धनमा प्रवेश गर्ने दलहरुको संख्या भने निरन्तर रुपमा बढ्दै गइरहेको छ । जनता समाजवादीबाट निष्काशित भएका बाबुराम भट्टराईले आफू र महेन्द्र राय यादव अध्यक्ष रहेको नेपाल समाजवादी पार्टी गठन गरेका छन् । र, आफू र महेन्द्र राय यादव मिलेर गठन गरेको यो पार्टीलाइ गठबन्धनमा सामेल गराउँन भट्टराई र यादवले प्रधानमन्त्री देउवासँग भेटेर अनुरोध गरेका छन् ।

यसैगरी नेकपा एमाले परित्याग गरेर आफ्नो नेतृत्वमा नेकपा एकीकरण राष्ट्रिय अभियान नामक पार्टी गठन गरेका वामदेव गौतमले पनि आफ्नो नेतृत्वको यो पार्टीलाई गठबन्धनमा समावेश गर्न प्रधानमन्त्ती देउवा र माओवादी अध्यक्ष प्रचण्डसँग अनुरोध गरेका छन् । यसैगरी महन्थ ठाकुर नेतृत्वको लोकतान्त्रिक समाजवादी पार्टी पनि गठबन्धनमा समावेश भएर आगामी मंसिर ४ गते हुने निर्वाचनमा संयुक्त रुपमा प्रस्तुत हुने भएको छ ।

गत साउन २६ गते बसेको कार्यदलको बैठकले सिट बाँडफाडको एजेण्डामा प्रवेश गर्दै अहिले कायम रहेको सिट संख्यालाई प्रमुख आधार मानेर संघिय संसद्को १६५ स्थान र प्रदेश सभाहरुको क्षेत्र भागबण्डा गर्ने सहमति भएको छ । यो सहमति अनुसार संघिय संसद्को १६५ स्थानको भागबण्डा भयो भने यसबाट सबभन्दा ठुलो राजनीतिक क्षति नेपाली कांग्रेसले व्यहोर्नुपर्ने हुन्छ ।

किनभने संघिय संसद्मा नेपाली कांग्रेसको ६३ जना सांसद रहेका छन् । र, कांग्रेसभन्दा १० सांसद मात्र कम माओवादी केन्द्रको रहेको छ । उता, नेपाली कांग्रेसले प्रत्यक्षतर्फको १६५ स्थानमा १०० स्थान पाउनु पर्ने दाबी गरिरहेको छ । तर, कार्यदलले गरेको सहमतिअनुसार सिट भागबण्डा गर्ने हो भने नेपाली कांग्रेसले प्रत्यक्षतर्फ बढिमा ७० सिट मात्र पाउने आउने देखिन्छ ।

यसैगरी यो सहमति अनुसार माओवादी केन्द्रको सिट संख्या बढ्ने सम्भावना रहेको छ । यसकारण नेपाली कांग्रेस अहिलेको सिटका आधारमा क्षेत्र तय गर्न भएको प्रारम्भिक सहमित मान्न सक्ने देखिदैन । र, यहिकारणबाट गठबन्धनमा विवाद उत्पन्न हुने सम्भावना रहेको छ ।

यसरी गठबन्धनमा रहेका पाँचदलललाई प्रत्यक्षतर्फको सिट बाँडफाडको समस्या भइरहँदा गठबन्धनमा नेपाल समाजवादी नेकपा एकीकरण राष्ट्रिय अभियान र लोकतान्त्रिक समाजवादी समावेश हुँदा थप समस्या र चुनौती उत्पन्न हुने देखिएको छ । यसरी संघिय संसदको १६५ भागबण्डा मिलाउन कार्यदललाई ठुलो चुनौती हुने स्थिति छ भने गठबन्धनका शीर्ष नेता विजय हुने वातावरण बनाउनु कार्यदलका लागि अर्काे चुनौती हुने अवस्था छ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *