क कस्ले पाउँदैछन् तक्मा ?

समाचार

काठमाडौं । अबको ३३ दिनपछि संविधान दिवस । अर्थात असोज ३ गते संविधान दिवस मनाइँदैछ । त्यो अगाडि खेलोमेलो र खेतीपाती शुरु भएको छ विभूषण र तक्मा हत्याउने । तक्मा हत्याउने खेलोमा प्रधानमन्त्री,मन्त्रीदेखि उच्च पदस्थहरुकै बोलबोला छ । अहिले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयदेखि विभिन्न मन्त्रालय र निकायबाट आफ्नो निकटस्थहरुलाई तक्मा दिलाउने सिफारिस गृहमा पुगेको छ ।
त्यसरी तक्माको सिफारिस जानेमा प्रधानमन्त्री कार्यालयको दबाबमा २७ जनाको नाम गृहमा पुगेको छ । स्रोतका अनुसार त्यसरी गृहमा नाम पुगेका निजामतीतर्फका कर्मचारीहरुमा सहसचिव शंकर केसी,उपसचिव (उर्जा) मुकेश पाठक, प्रधानमन्त्रीका स्वकीय सचिव विरेन्द्र बहादुर थापा, स्वकीय उपसचिव तेजराज भण्डारी रहेका छन् । यस्तै सामान्य प्रशासनमा बसेर कर्मचारी सरुवामा चलखेल गर्दै आएका रबिन्द्रजंग थापाको नाम पनि गृहमा पुगेको छ । शिक्षाका उपसचिव विजयराज सुवेदी,पहिला गृहमै बसेर अहिले गाउँपालिकातिर पुगेका उपसचिव दिलिप बहादुर तमाङ,प्रधानमन्त्री देउवाको गाउँपालिकाको इञ्जिनियरको नाम गृहमा पुगेका छन् । उता स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको तर्फबाट यस वर्षको तक्माका लागि स्वास्थ्य मन्त्रीको पिएदेखि प्रशासनको चिल्ला घुम्ने कुर्सीमा बस्ने र मन्त्रीका आसेपासे सिफारिस भएका छन् । ९ जना सिफारिस भएकामा स्वास्थ्यमन्त्रीको निजी सचिवमा कार्यरत भक्त खड्कादेखि सिफारिसकर्ता सहसचिव मदन भुजेलले पदकका लागि आफ्नै नाम सिफारिस गरेर पठाएको गृह मन्त्रालयमा पठाएका छन् ।
परराष्ट्रमा बसेर लुट मच्चाएका राजदुत दुवसु क्षेत्रीका कृसु क्षेत्रीको नाम साहित्यकारको कोटाबाट सिफारिसमा परेको छ । उनी साहित्यकार कम, मन्त्री नारायण खड्काको नीजि सचिव भएका कारण नाम सिफारिसमा परेका हुन । यस्तै तक्मा थाप्ने पत्रकारको सूचीमा प्रधानमन्त्रीको नजिक खटिएका गोविन्द परियारसहित पाँच जनाको नाम सिफारिस हुँदा विभिन्न बैंकका सिइओ तथा अध्यक्ष ८ जना,समाजसेवी २० जनाको सूची गृहमा पुगेको छ । संविधान दिवसको अवसर पारेर सरकारले हरेक वर्ष राष्ट्रपतिबाट विभिन्न क्षेत्रमा योगदान पुर्याउने व्यक्तिलाइ विभूषित गर्दै आएको छ । सोही तक्मा थाप्नका लागि परोपकार प्रसूति तथा स्त्रीरोग अस्पतालका निर्देशक, अमिरबाबु श्रेष्ठ,भरतपुर अस्पतालका फिजिसियन, डा. प्रमोद पौडेल,सार्क क्षयरोग केन्द्रका, दिपक दाहाल,स्वास्थ्य तथा जनसंख्यामन्त्री भवानी प्रसाद खापुङका निजी सचिव, भक्त खड्का,स्वास्थ्य सेवा विभागका मेडिकल अधिकृत, निरञ्जन पन्त,कोशी अस्पतालका सातौं तहकी नर्सिङ अधिकृत, रम्बा सुब्बा,तेह्रथुम जिल्ला अस्पतालका हेल्थ असिस्टेन्ट, देउकुमार राई र पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानका कार्यालय सहयोगी, भोलानाथ शर्माको नाम सिफारिस भएको गृह स्रोतले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *