प्रचण्डको सहमतिले श्रेष्ठ र बाबुरामको चुनावी भविष्य अन्यौलमा

राजनीति समाचार

काठमाडौं । जनता समाजवादीको केन्द्रीय कार्यसमितिले आफूलाई र महेन्द्रराय यादवसहित लगभग एकदर्जन नेतालाई पार्टीबाट निष्काशन गरेपछि बाबुराम भट्टराईले नेपाल समाजवादी पार्टीको पुनर्गठन गर्दै आफू र महेन्द्र राय यादव अध्यक्ष हुनेगरी कार्यसमिति गठन गरेका छन् । यसरी नेपाल समाजवादीको नेतृत्वसँगै अध्यक्ष भट्टराईले आफ्नो पार्टी र माओवादी केन्द्रकाबीचमा एकीकरण गर्ने सहमति अध्यक्ष प्रचण्डसँग गरेका छन् ।

एकीकरणलाई लिएर माओवादी अध्यक्ष प्रचण्ड र नेपाल समाजवादीका अध्यक्ष भट्टराईकाबीचमा सहमति भएपनि आमनिर्वाचनपछि मात्र एकीकरणको प्रक्रिया टुङ्ग्याउने सहमति पनि यी र्दुइ अध्यक्षकाबीचमा भएको छ । र, आगामी आमनिर्वाचन भने जनाता समाजवादीको नेतृत्वमा पुगेका बाबुराम भट्टराईले माओवादी केन्द्रको चुनाव चिन्ह हँसियाँ हथौडाबाट नै लड्ने भएका छन् । माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड र नेपाल समाजवादीका अध्यक्ष भट्टराईबीचमा भएको यो सहमतिले तनाव भने माओवादी वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठलाई भएको छ ।

२०७४ सालको आमनिर्वाचनमा भट्टराईसँग नै पराजित भएको गोर्खाको २ नम्बर क्षेत्रबाट चुनाव लड्ने तयारी माओवादी नेता नारायणकाजी श्रेष्ठले गरिरहेका छन् । तर, अब अध्यक्ष प्रचण्ड र भट्टराईबीच सहमति भएपछि गोर्खाको क्षेत्र नं. २ नारायणकाजी श्रेष्ठले बाबुराम भट्टराईलाई छाड्नैपर्ने अवस्था आउनसक्दछ । किनभने २०७४ सालको आमनिर्वाचनमा कांग्रेसको समर्थनबाट यहिँ निर्वाचन क्षेत्रमा माओवादी नेता नारायणकाजी श्रेष्ठलाई बाबुराम भट्टराईले पराजित गरेका थिए ।

त्यसकारण अबको माओवादी केन्द्रको चुनाव चिन्ह हँसिया हथौडा लिएर आगामी आमनिर्वाचनमा भट्टराईको पहिलो प्राथमिकता गोर्खाको क्षेत्र नम्बर २ नै हुने निश्चित छ । भट्टराईको यो रोजाइप्रति माओवादी अध्यक्ष प्रचण्डले समर्थन जनाएको अवस्थामा माओवादीका वरिष्ठ उपाध्यक्ष नारायणकाजी क्षेष्ठले आफ्ना लागि अर्काे निर्वाचन क्षेत्र खोज्नुपर्ने हुन्छ । स्मरण रहोस् नारायणकाजी श्रेष्ठ अहिलेसम्म कुनै निर्वाचन जितेर संसद्मा पुगेका छैनन् । यसरी नायायणकाजी श्रेष्ठले आफ्नै जिल्लाका नेता बाबुराम भट्टराईबाट तनाव बढ्न थालेको छ ।

माओवादी केन्द्र र नेपाल समाजवादी पार्टी एकीकरण भएपछि पार्टीमा नारायणकाजी श्रेष्ठको वरियता पनि पछाडि जाने स्थिति छ । अहिले माओवादीको वरियतामा अध्यक्ष प्रचण्डपछि दोस्रो स्थानमा नायारणकाजी श्रेष्ठ रहेका छन् । माओवादी र नेपाल समाजवादी एकीकरण भएको अवस्थामा नारायणकाजी श्रेष्ठ बरियतामा तेस्रो स्थानमा पुग्ने र दोस्रो स्थानमा बाबुराम भट्टराई आउन सकिने देखिन्छ ।
यसैगरी माओवादी अध्यक्ष प्रचण्डको कारणले गठबन्धनको एउटा घटक राष्ट्रिय जनमोर्चाकोतर्फबाट संसदमा एकमात्र सदस्य रहेकी दुर्गा पौडेललाई तनाव उत्पन्न हुनसक्ने देखिएको छ ।

नेकपा एकता राष्ट्रिय अभियानका संयोजक वामदेव गौतमले आफ्नो पार्टीलाई गठबन्धनमा समावेश गरेर आगामी आमनिर्वाचनमा आफू गठबन्धनकोतर्फबाट माओवादीको चुनाव चिन्ह लिएर प्यूठानबाट लड्ने योजना सार्वजनिक गरेका छन् । उनले यो प्रस्ताव माओवादी अध्यक्ष समक्ष राखिसकेका छन् । र, प्युठान नपाए अन्य कुनै निर्वाचन क्षेत्रबाट चुनाव नलड्ने धम्की पनि नेता गौतमले दिएका छन् । अहिले प्यूठानबाट प्रतिनिधि सभामा नेकपा एमालेको तर्फबाट २०७४ सालको आमनिर्वाचनमा विजय भएर राष्ट्रिय जनमोर्चाकी उपाध्यक्ष दुर्गा पौडेलेले प्रतिनिधित्व गरिरहेकी छन् । यदि यो निर्वाचन क्षेत्र वामदेव गौतमलाई छाड्नुपर्ने अवस्था आएमा दुर्गा पौडेलको चुनावी भविष्य पनि अन्योलमा पर्न जाने देखिएको छ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *