धेरै समय पछि दोलखाको सामुदायिक वनको अभ्यासलाई स्थलगत रुपमा हेर्ने र छलफल गर्ने मौका मिल्यो । जिल्ला र पालिका स्तरमा सामुदायिक वन अभियानका वारेमा चर्चा परिचर्चामा धेरथोर सहभागीता हुने र वुद्धि लडाउने मौका मिलेको थियो । यी यस्ता छलफलहरुमा वुद्धि लगाइन्छ मनकै कुरा नआउन पनि सक्दछन् । तर कुनै एक सामुदायिक वन केन्द्रीत स्थलगत छलफलले उर्जा दिने गर्दछ । धेरै समय पछि यो चाहाना यस पटक भोग्न पाइयो ।
भीमेश्वर नगरपालिका वडा नं. ९ मा रहेको शंखदेवी सामुदायिक वन उपभोक्ता समूहका उपभोक्ताहरुसँग छलफल गर्ने मौका मिल्यो । सदरमुकाम चरिकोटवाट पश्चिम तर्फ करिव २० किलोमिटरको दुरीमा यो सामुदायिक वन रहेको छ । लामोसाँगु जिरी सडकसँगै जोडिएको सामुदायिक वन मछिनो प्रशोधनको काम भएको भेटिन्छ ।
२२७ घरधुरीले ३०१ हेक्टर वनको जिम्मा लिएका रहेछन् । यो सामुदायिक वन लगायतका अन्य केही सामुदायिक वन क्षेत्रमा धसिंगरे धेरै नैं पाइदो रहेछ । त्यही भएर धसिंगरे प्रशोधनको काम एक प्राइभेट कम्पनीले गरेको रहेछ । उपभोक्ताहरुले संकलन गर्ने, प्रशोधन केन्द्रले खरिद गर्ने अनी सो वापतको केही रकम समूहमा पनि जाने गरी संचालन गरेको रहेछ । उपभोक्ताले धसिंगरेको पात संकलन गरे वापत प्रति केजी रु. १५ प्राप्त गर्दछन् । सम्वन्धीत समूहले पनि केही अंश पाउने व्यवस्था रहेछ । पछिलो अवधीमा धसिंगरेको पात प्रयाप्त उपलव्ध हुन छाड्यो । यसको खेती गर्ने अहिलेसम्म कतै चलन भएको पाइन नत वृक्षारोपण नैं गर्ने गरिएको छ । जथाभावी संकलनको कारणले धसिंगरेको नियमित संकलन तथा उपलव्ध हुन सकेन । जस्को कारण प्रशोधन केन्द्र पनि संकटमा पर्न गयो ।
कतै धसिंगरे भन्ने गरिन्छ भने यसलाई मछिनो भन्ने चलन पनि छ । कतै कतै यसलाई पटपटे पनि भनिन्छ । यसलाई प्रशोधन गरी तेल निकालिन्छ । सो तेल विदेश निकासी हुने गर्दछ । विगतमा यो प्रजातीको वनस्पती धेरै वनमा नैं पाइन्थ्यो । त्यही सोचले डिस्टीलर प्लान्ट पनि राखियो । तर यसको संकलन गर्दा तरिका नमिलेर पनि हुनसक्छ कच्चा पदार्थको मात्रा घट्न थाल्यो । यसको उपाय खोज्न थालियो । एक अनुसन्धान परियोजना तर्जुमा भएको रहेछ । धसिंगरे प्रशोधनका काम गर्ने हिमालयन वायो ट्रेड र साउथ एसिया इन्सीच्यूट अफ एडभान्स स्टडिजको संयूक्त सहकार्यमा अनुसन्धान परियोजना सुरु भएको रहेछ ।
भीमेश्वर नगरपालिका वडा नं. ९ मा रहेको शंखदेवी सामुदायिक वनमा रहेको नर्सरी धसिंगरेको विरुवा उत्पादनकोे लागि प्रयोग गरिएको रहेछ । टनेल भित्र तयार विरुवा उत्पादनका अनेक अभ्यासहरु भैरहेकोे छ । हरेक महिना धसिंगरेको कलमी तयार गर्ने, कुनै रुटिङ्ग होर्रमोन समेत प्रयोग गरेर राख्ने, कुनै जरा सहितको राख्ने कुनै काटेका टुक्रावाट विरुवा तयार गर्ने अभ्यास भैरहेको छ । जुन तरिकावाट राम्रो विरुवा तयार हुन्छ त्यसैका आधारमा धेरै विरुवा तयार गर्ने र सामुदायिक वन क्षेत्रमा वृक्षारोपण गर्ने सोच छ । त्यसै गरी निजि जग्गामा समेत खेती गर्न सकिने अवस्था सिर्जना गर्ने परियोजनाको अवधारणा रहेको छ । यसका उपभोक्ताहरु पनि उत्साहित भएको पाइएको छ ।
धसिंगरेको विरुवा तयार गर्ने तथा खेती समेतलाई प्रवद्र्धन गर्ने र तेल उत्पादनमा वृद्धि गरी सम्वन्धीत उपभोक्ताको आर्थिक समृद्धिमा समेत टेवा पु¥याउने सोचका साथ सुरु भएको यो परियोजनका अनुसन्धानकर्ता सुशान्त आचार्यका अनुसार धसिंगरेको विरुवा उत्पादनसम्वन्धी अहिलेसम्म कंहीकतै अनुसन्धान नभएको कुरा वताउनु हुन्छ । उहाँका अनुसार यो अभ्यासले हामीले सोचेको नतिजा आउन पनि सक्छ वा पूरै असफल पनि हुनसक्छ । तथापी यो अनुसन्धानले हामीलाई मात्र होइन अरु स्थानका लागि पनि सहयोग पुग्ने विश्वास रहेको वताउनु हुन्छ ।
यो अनुसन्धान परियोजना सञ्चालन भैरहँदा समूहको संस्थागत विकासमा आधारित क्रियाकलापहरु पनि सञ्चालन भैरहेका छन् । सामुदायिक वनको प्रक्रिया केन्द्रीत कामहरु भएका छन् । उपभोक्ताको सशक्तिकरण, सुशासनका अभ्यास, टोल भेला, साधारण सभा जस्ता गतिविधिहरु पनि सँगसंगै भएकाले संस्थागत विकासमा टेवा पुग्ने विश्वास शंखदेवी सामुदायिक वन उपभोक्ता समूहका अध्यक्ष गणेश तमांगको रहेको छ ।
यस सामुदायिक वनका उपभोक्ताको जीविकाको एक साधान सामुदायिक वन भएको छ । वन स्रोत त्यतीकै खेर गएको छ । त्यसलाई सदुपयोग गर्नका लागि उपभोक्ताहरु टोल स्तरमा जम्मा भएर छलफल गर्न थालेका छन् । सुशासनमा अहिलेको अवस्था विश्लेषण गर्दै नयाँ स्वरुप निर्माणका लागि छलफल गरिरहेका छन् । धसिंगरे नैं यस समूहको विशेष पहिचान भएको हुनाले यसमा थप प्रभावकारी काम गर्ने अठोट व्यक्त गर्न थालेका छन् । समूहलाई सुशासन सहितको व्यवस्थीत गर्ने अनी वनमा खेर गएका स्रोतहरुको सदुपयोग गर्ने विषयमा छलफल भैरहेको छ । यस सन्दर्भमा वन सम्वन्धी नयाँ कानून वन ऐन २०७६ का वारेमा जानकारीमूलक छलफल भएको छ ।
धसिंगरेको अनुसन्धानले के नतिजा देला भविष्यको पोल्टामा नैं छाडौं । तर सामुदायिक वनले सम्पादन गर्ने नियमित कामहरु निरन्तरता दिन आवश्यक छ । विभिन्न प्रकोप समेतका कारणले नियमित हुनु पर्ने साधारण सभाहरु हुन सकेका छैनन् । टोलगत रुपमा छलफल र योजना तर्जुमा सहित साधारण सभा गर्ने परम्परा पुन सुचारु गर्न आरम्भ भएको छ । नयाँ वन ऐनका प्रावधानहरु समूहमा लागु गर्ने कोशिस भएको छ । समूहको गन्तव्य निर्धारण गर्ने र सो प्राप्तीको योजना सामुहिक रुपमा तयार गर्ने काम भैरहेको छ । यो अभ्यासले सामुदायिक वनलाई प्रभावकारी वनाउन योगदान पुग्ने देखिन्छ । उपभोक्ताको समृद्धिका लागि वन स्रोतको समुचित वा दिगो व्यवस्थापनको अवधारणा लागु गर्न उपभोक्ताहरु संस्थागत रुपमा तयार भैरहेका छन् । सामुदायिक वन अभियानमा ३ पक्षहरु हुने गर्दछन् । उपभोक्ता, वन र विधान कार्ययोजना । यी ३ वटै पक्षमा पनि सवै भन्दा महत्वपूर्ण उपभोक्ताहरु हुन् । उनीहरुको सुझवुझले मात्र विधान कार्ययोजना वनाउने, कार्यान्वयन गर्ने अनी वनलाई व्यवस्थीत गर्न सक्दछन् । त्यो मार्गमा शंखदेवी सामुदायिक वन संस्थागत रुपमा दत्तचित्त भएर लागिरहेको छ । यो समूह संस्थागत रुपमा व्यवस्थीत हुँदै धसिंगरे उत्पादन, प्रशोधनमा नेपालकैं अग्रणी र अनुकरणीय वन्न सकोस् शुभकामना ।