कमल थापा अलपत्र बन्दै

समाचार

काठमाडौं । राप्रपाले जिल्लामा स्थान दिँदा पनि कमल थापालाई सुख छैन । किनकि राप्रपा मकवानपुरले दीपक सिंहलाई मकवानपुर क्षेत्र नं. २ बाट उम्मेद्वार बनाउने भएको छ । सिंह स्थानीय तहको निर्वाचनमा हेटौंडा उपमहानगरपालिकाको मेयर पदका प्रत्यासी थिए । त्यहाँ सत्ता गठबन्धनबाट एकीकृत समाजवादीकी उम्मेद्वारले चुनाव जितेकी हुन् । कमल थापाले ओलीजस्तो राष्ट्रवादी र महान नेता अरु कोही छैनन् भनि चाकडी गराएर पाउने भनेको निर्वाचन क्षेत्र कुन हो ? जबकी ओलीको व्यक्तिगत स्वार्थ राप्रपालाई लिएर झापा ५ मा चुनाव जित्ने हो ।
राप्रपा दुई समूहबिचमा समेत एकमत छैन । कमल थापाको चुनाव चिन्ह तीर हो भने राजेन्द्र लिङ्देनको चुनाव चिन्ह हलो हो । राजनीतिक एजेण्डा र इस्यु भनेको राप्रपाले हिन्दु सनातन धर्म, राष्ट्रिय स्वाभिमान र आत्म गौरवलाई बनाउँदै गर्दा लोकतन्त्र, गणतन्त्र तथा संघीयताको खारेजी भन्न सकेको छैन । संघीयता, लोकतन्त्र, गणतन्त्रभित्र संवैधानिक राजालाई राष्ट्रिय एकताको प्रतिक ठानेको लिङदेन समूह र थापा समूहका बिचमा राजतन्त्रको बारेमा विवाद छ । थापाले भन्ने गरेका छन् राजतन्त्रले देशको भलो नगर्ने भएर त्यो तन्त्र परित्याग गरेको हो । पहिला राप्रपा एक हुँदा कमल थापाले राजाबाट पैसा लिएका थिए । मेचीकाली कलश जात्रा पनि गरेकै थिए । थापालाई त्यो समय ज्ञानेन्द्रप्रति विश्वास थियो । आज ज्ञानेन्द्रलाई आफ्नै बन्द व्यापार चलाउन भ्याईनभ्याई छ । साथ दिन परे संघीय गणतन्त्र, धर्मनिरपेक्षताको विरोधी केपी ओलीलाई दिन सक्छन् । दलहरुको हैसियत स्थानीय तहमा प्राप्त जनमतले देखाएको छ । राप्रपाभन्दा राप्रपा नेपाल खिएको शक्ति हो । कमल थापालाई पार्टीको महाधिवेशनबाट कार्यकर्ताले पत्याएनन् । कार्यकर्ताले नपत्याएपछि कमल थापामा धैर्यता देखिएन । पार्टी फुटाए, अहिले एमालेका केपी ओलीलाई राष्ट्रवादी महान नेता भन्दैमा टिकट पाउने र चुनाव जित्ने धरातल छैन । यस्तो बेलामा कमल थापाहरु अलपत्र पर्नु कुनै नौलो भने होइन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *