कौडीको भाउमा सरकारी जग्गा कब्जा राज्यको नेतृत्व नै बाधक

समाचार

काठमाडौं । सरकारी र सार्वजनिक जग्गाहरु व्यापारी तथा पहुँचवालाबाट जोगाउनै सकस पर्ने स्थिती देखिदैंछ । शासकदेखि प्रशासकसम्मलाई मिलाएर व्यापारीहरुले कौडीको भाउमा सरकारी जग्गा हड्पने श्रृंखला जारी छ ।
चाहे यति समूहले हत्याएको गोकर्ण रिसोर्ट होस वा चन्द्रागिरी हिल्स,नर्भिक अस्पताल होस वा भाटभेटनीका भवनहरु । वा किन नहोस पूर्वमन्त्री टेकबहादुर गुरुङले कौडीको भाउमा हत्याएको भृकुटीमण्डपको सरकारी जग्गा । माधव कुमार नेपाल प्रधानमन्त्री र दिपक बोहरा वन मन्त्री हुँदा चन्द्रागिरीको डाँडा नै चन्द्र ढकालले हात पारे । सामुदायीक वन क्षेत्रको ३६ हेक्टर जमिन अर्थात ७ सय ९ रोपनी जग्गा प्रयोग गरेबापत ढकाल सहितको व्यापारीक घरानाले कति भाडा कति तिरेका होलान् ? प्रति रोपनी प्रति महिना २१ रुपैयाँमा वन क्षेत्रको उक्त जग्गामा चन्द्रागिरी हिल्स केवलकार, रेष्टुरेन्ट देखि नक्कली भालेश्वरको मन्दिर समेत ढकालको समुहले सञ्चालन गरेको छ । ३६ हेक्टर राष्ट्रिय प्रयोग गर्न दिए बापत सरकारले जम्मा प्रतिवर्ष १ लाख ८० हजार रुपैयाँ मात्रै बुझ्दै आएको छ । ४० वर्षसम्म यसरी नै ढकाल समुहले चन्द्रागिरीमा धन्दा चलाउने छ । तत्कालिन वन मन्त्री दीपक बोहोराले २०६७ सालमा मन्त्रिपरिषदबाट पास गराएका थिए । मन्त्रिपरिषदले नै निर्णय गराएपछि २०७० वैशाख २१ गते तत्कालिन काठमाण्डु फन पार्क प्रा.ली (हाल चन्द्रागिरी हिल्स) र वन विभागबीच सामुदायीक वनमा होटल, केवलकार र मन्दिर समेत सञ्चालन गर्ने सम्झौता भएको हो । राजनीतिक पहुँचको आधारमा भएको यो एउटा ठूलो लुट धन्दा यतिमै सकिँदैन बालाजु औद्योगिक क्षेत्रको १३ रोपनी क्षेत्रफलमा फैलिएको सरकारी जग्गा कौडीको भाउमा सुह्रिदराज घिमिरेले भोग चलन गर्दै आएका छन । २०६७ असार ३ गते घिमिरेको स्वामित्व रहेको कन्टिनेन्टल कम्पोनेन्ट सर्भिसेज प्राली र बालाजु औद्योगिक क्षेत्रभित्र रहेको उक्त जग्गा भाडामा लिने दिने सम्झौता भएका थियो । घिमिरेले भने प्रति रोपनी प्रतिवर्ष ५ हजार ६८ रुपैया ६३ पैसामा हत्याए ।
यस्तै समाज कल्याण परिषद् भृकुटीमण्डप सञ्चालन कार्यालयको जग्गा तथा भवन काठमाडौं फन पार्कले कौडीको भाउमा ४० बर्षलाई उपयोग गर्ने गरी सम्झौता भएको छ । झण्डै ६४ रोपनी क्षेत्रफलमा ओगटेको जग्गा पूर्वमन्त्री टेकबहादुर गुरुङलाई कौडीको भाउमा दिइएको छ । फन पार्कले २०५७ सालदेखि उक्त जग्गा भाडामा हात पारेको छ ।
भृकुटीमण्डपको जग्गा फन पार्कले चार वर्षका लागि २०५७ सालमा मासिक ४ लाख ७५ हजार रुपियाँ, २०६१ सालमा पाँच वर्षका लागि मासिक २ लाख २ हजार ४ सय रुपियाँ र २०६९ सालमा १५ वर्षसम्मका लागि मासिक ५ लाख ५५ हजार रुपियाँमा भाडामा लिएको सम्झौता पत्रमा भेटिन्छ । जब कि, भृकुटीमण्डप सञ्चालन कार्यालयलाई ३ रोपनीमा फैलिएको तरकारी बजारले मात्रै मासिक ९ लाख ९० हजार रुपियाँ बुझाउँछ भने ३० रोपनी क्षेत्रफलमा फैलिएको निम्न व्यापार संघद्वारा सञ्चालित खुला बजारले समेत मासिक ७ लाख रुपियाँ भाडा बुझाउँछ । यी तथ्यहरूले गर्दा फन पार्कलाई जग्गा बहालमा दिँदा व्यापक आर्थिक अनियमितता भएको सोझै अड्कल बुझ्न कठिन छैन ।
यस्तै बसन्त चौधरीको नर्भिक अस्पतालले १५ बर्षदेखि कौडीको भाउमा सरकारी जग्गाको उपयोग गरिरहेको छ । देशकै राजधानी काठमाडौंमा एउटा सानो सटरको भाडा नै मासिक ३० हजार हाराहारी पर्दछ तर थापाथलीजस्तो ठाउँमा बसन्त चौधरीले एक रोपनीमाथि जग्गा बार्षिक ३७ हजार ९८९ रुपैंयामा उपयोगग गरिरहेको भेटिएको छ । यस्को हिसाब निकाल्ने हो भने मासिक भाडादर ३१६५ रुपैंया हाराहारी पर्दछ । यसरी राज्यलाई तल पार्ने गरी कर्मचारीहरुबाट सम्झौता गर्न लगाएर उस्ले १५ बर्षदेखि यो जग्गाको उपयोग गरिरहेको भेटिएको हो । चौधरीको नर्भिक अस्पतालले आजभन्दा १४ बर्ष अघि ०६५ वैशाख २९ गतेदेखि उक्त जग्गा उपयोग गर्न थालेको छ । थापाथलीमा रहेको किता नम्बर २०८५को क्षेत्रफल १–८–१–१मा रहेको कागजात भेटिन्छ । उता बालुवाटारको जग्गा काण्डमा मुछिएका अर्काे बदनाम व्यापारी मिन बहादुर गुरुङले जहाँ सरकारी जग्गा भेट्छन त्यही भाटभेटनी स्टोर खोलेर सरकारी जग्गा मिच्ने काम गर्दै आएका छन् । दिपक मलहोत्राले कौडीको भाउमा हडपेको एयरपोर्टको जग्गाको भाडा समेत तिरेका छैनन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *