नेपाल अर्थतन्त्र लामो समयदेखि रिसेसनको अवस्थामा छ । अर्थतन्त्रमा हुने चक्रलाई नेपालको अर्थतन्त्रले समेत चुनौती दिएको देख्न सकिन्छ । अर्थात नेपालको अर्थतन्त्र लामो समयदेखि रिसेसनमै छ । यसको अर्थ नेपालको अर्थतन्त्र पुनः सुधार हुनसक्ने अवस्था अहिलेको नेपालको आर्थिक क्रियाकलापलाई मूल्यांकन गर्दा कुनै पनि स्थितिबाट देख्न सकिएको छैन । मुलुकको अर्थतन्त्रलाई समृद्ध बनाउन र रिसेसनबाट पिकमा लैजान आर्थिक क्रियाकलाप र अर्थव्यवस्था चलायमान हुनुपर्दछ । आयातित वस्तु र यसबाट सिर्जित करबाट चलायमान बनाइएको अर्थतन्त्रले मुलुकलाई समृद्ध बनाउन सक्दैन भन्ने कुरा नेतृत्वले बुझेको हुनुपर्दछ । तर पनि भ्रष्टाचार र बेथितीको दलदलमा फसेको नेपालको अर्थतन्त्रको अवस्थालाई बुझेर नेतृत्वले अर्थतन्त्रको ट्रयाकलाई परिवर्तन गर्न अपरिहार्य छ ।
नेपालले ठूला आयोजना र विकास निर्माणमा तत्कालै लगानी गरेर अर्थतन्त्रको ट्रयाक र व्यवस्थामा परिवर्तन ल्याउन सक्दैन् । यसका निमित्त क्रमशै साना लघुउद्यमहरुलाई प्राथमिकता दिने र लगानी गरेर अर्थतन्त्रमा एउटा जग बसाउन जरुरी देखिएको छ । तत्काल ठूला लगानी गर्न सरकार, व्यवसायी तथा जनतासँग ठूलो लगानी नभएपनि लघुउद्यमहरु गरेर, यसलाई प्राथमिकतामा राखेर आन्तरिक उत्पादनका निमित्त जग बसाल्न सकिन्छ । मुलुकमा अधिकाशं जग्गा जमिन बाँझै रहने, स्थानीय श्रमशक्ति बाहिर जाने, शिक्षित वर्गहरुले नेपाल छाड्ने प्रवृत्ति यही आयात र रेमिट्यान्सले सिर्जना गरेको छ । अब रेमिट्यान्स पठाउने श्रमशक्तिलाई नेपालमै उद्यम गर्न प्राथमिकता दिनुपर्दछ । नेपाली व्यवसायलाई एउटा आकर्षणको रुपमा सिर्जना गर्नुपर्दछ । जटिल र झन्झटिला कानूनी प्रक्रिया, सार्वजनिक सेवामा देखिएको बेथिती र भ्रष्टाचारले भएगरेका उद्यमीहरुलाई पनि रुष्ट बनाउने काम गरेको छ ।
वास्तवमा भन्ने हो भने अब अर्थतन्त्रमा सुधार ल्याउन आर्थिक क्रान्ति नै गर्नुपर्ने देखिन्छ । यसको अर्थ आर्थिक क्रान्तिको सुरुवात नै लघु उद्यम देखिएको छ र हुन जरुरी पनि छ । अर्थतन्त्र गलत ट्रयाकमा गइरहेको सबैले अनुभव गरेतापनि त्यसलाई सुधार गर्ने र बाटोमा ल्याउन कसैले पहल र प्रयत्न गरेनन् । मुलुकको सार्वजनिक तथा चालु खर्च उच्च हुने, आन्तरिक आय नभएका कारण आयातित वस्तुको भन्सार महसुल र मुअकलाई मुलुकको आय बनाउने, अर्थतन्त्र सुधारमा ध्यान नदिई उद्यमलाई प्राथमिकतामा नराख्ने जस्ता विविध कारणले गर्दा लामो समयदेखि नेपालको अर्थतन्त्रमा यस्तो खराब स्थिति आएको हो ।
अबको बाटो भनेको अर्थतन्त्रको व्यवस्थालाई सही दिशामा ल्याउनुका निमित्त आर्थिक क्रान्तिको पहिलो कदमको रुपमा लघु उद्यमलाई प्राथमिकतामा राखेर अगाडि बढ्नु सबैभन्दा उत्कृष्ट उपाय हो । सानो लगानीमा गर्न सकिने लघु उद्यमलाई व्यापक बनाएर श्रमशक्तिलाई व्यस्त बनाउन सक्ने हो भने यसले उत्पादन गर्ने वस्तु तथा सेवा नेपाली जनताले उपभोग गर्न पाउने अवस्था हुन्छ । यस्तो अवस्थामा आयात घट्दै जाने र मुलुकको पुँजी मुलुकमै रहने, निर्यात बढ्दै वैदेशिक आम्दानी बढ्दै जाने तथा पुँजी बढ्दै गएर ठूला उद्योग तथा कलकारखानामा लगानी गर्न सक्ने परिस्थिति सिर्जना गर्न सकिन्छ । साना लघु उद्यमलाई प्राथमिकतामा राखेर नै ठूला आयोजना, उद्योग, कलकारखानाका लागि जग तयार गर्न सकिन्छ भन्ने अवगत हुन जरुरी छ ।
आर्थिक रुपमा कमजोर रहेको नेपालको परिस्थितिलाई हेरेर लघु उद्यममा ठूलो क्रान्ति ल्याई अर्थतन्त्र सुधार गर्न नेतृत्वले ध्यान दिन जरुरी छ । परनिर्भताले सिर्जना गरेको ठूलो मुद्रास्फितीका कारण अहिले किसानले उब्जनी गरेको खाद्यान्नको विक्री तथा खेतीले खान लगाउन तथा स्वास्थ्य उपचार गर्न नसक्ने स्थिति छ । अर्थात् नेपालमा कृषि तथा विविध पेशामा संलग्न भएर पनि खान लगाउन नसक्ने स्थिति बनेपछि वैदेशिक रोजगार नै विकल्प बन्ने गरेको छ । यस्तो अवस्था सिर्जना गर्नुको प्रमुख कारण नै परनिर्भरता र आयात हो ।
अब यो दुष्चक्र तोडेर केही समय कठिनाई भएतापनि लघुउद्यम, कृषि तथा पर्यटनलाई नेपालको प्रमुख आयस्रोत बनाउँदै अगाडि बढ्नुपर्ने देखिन्छ । केही समय तथा वर्षका लागि नेपाली जनताले कठिनाई भोग्नु परेपनि दीर्घकालीन रुपमा नेपाली जनताले यस्तो कमजोर आर्थिक अवस्था र बढ्दो मुद्रास्फितीबाट गुज्रनुपर्ने हुँदैन । परनिर्भताले सिर्जना गरेको कमजोर आर्थिक अवस्थामा सुधार ल्याउन सर्वप्रथम लघुउद्यमलाई क्रमशै प्राथमिकता दिँदै लैजाने, स्वदेशी उत्पादनको उपभोगलाई प्राथमिकतामा राख्ने र परनिर्भरता घटाउँदै लैजाने काम गर्नुपर्छ । यसका निमित्त सरकार र सरकारी निकायले त्यसैअनुरुपको कानून, नीति नियम निर्माण गरी अगाडि बढनुपर्दछ । नेपालमा अर्थतन्त्र सुधार गर्ने र मुलुक समृद्ध बनाउने काम अझै पनि थालनी हुन सकेको छैन । केवल अर्थतन्त्रलाई अझ बढी परनिर्भता बनाउने काम अर्थ नीति र बजेटले गर्दै आएको थियो ।
निष्कर्षमा भन्नुपर्दा मुलुकको अर्थव्यवस्था यति कमजोर भइसकेको छ कि अब जनताले उपभोग्य सामाग्रीहरु नपाउने अवस्था सिर्जना भइसकेको छ । परनिर्भरताले नै नेपालमा उत्पादनको अवस्थालाई शून्य अवस्थामा पु¥याएको छ । अहिले मुलुकमा उत्पादन नहुने र नेपालले उपभोग्य सामान आयात गर्न नसक्ने अवस्था बन्दै गएको छ । यसले नेपालको अर्थतन्त्रलाई श्रीलंकाकै अर्थतन्त्रको रुपमा इंकित गरेको छ । भ्रष्ट प्रवृत्तिको अन्त्य गर्दै उद्यमशीलतालाई प्राथमिकतामा राखेर लघु उद्यम सञ्चालन गर्न सकेमा नेपालको अर्थतन्त्रले लय लिने थियो । अब परनिर्भतालाई घटाउँदै स्वनिर्भरतामा ध्यान दिन अनिवार्य छ । यसो गर्न सकेमा मात्रै श्रमशक्ति नेपालमै बस्ने, मुलुकले सार्थकता पाउने र समृद्धीको बाटो लम्किने आशा गर्न सकिन्छ । सरकारले अब आर्थिक क्रान्तिको योजना ल्याएर लघु उद्यमलाई प्राथमिकतामा राखी काम गर्न सकेमा मात्र मुलुक आर्थिक रुपमा सही दिशामा जान विश्वास गर्न सकिन्छ ।