जहाँ चेपाङ त्यहाँ चिउरी

समाचार

चेपाङ समुदायमा चेलीलाई विवाहमा चिउरीको रुख उपहार वा दाइजो दिइन्छ भन्ने सुनेको थिएँ । त्यसैले चिउरी भनेको चेपाङको संस्कृती हो भन्नेसम्म मेरो वुझाई थियो । यस बारेमा केही जान्ने रहर थियो । यस पटक यो अवसर मिल्यो । मकवानपुरको राक्सीराङका केही चेपाङहरुसँग साक्षात्कार र केही स्थानमा पुग्ने मौका मिल्यो । यूवा चेपाङहरुले संस्कृति र चिउरी जोगाउन गरेका कामहरु वारेमा छलफल गर्ने मौका मिल्यो । देव चेपाङ, आर्यन प्रजा र कामना प्रजासँग अन्तरक्रिया गर्न पाइयो । अनी राक्सीराङको देवीटार जाने मौका पनि मिल्यो ।
चिउरी र चेली
पहिला पहिला नजिकै छोरी चेलीलाइ विवहा गरि दिने चलन रहेछ । अनी विवहामा चिउरीको रुख दाइजो दिइन्थ्यो । त्यो रुख भएको जमिन माइती कैं हुने तर रुख चाँही चेलीको हुने । सामान्य रुपमा हेर्दा झगडा पर्ला जस्तो लाग्छ । जमिन एउटाको रुख अर्कोको हुँदा । रुखको फल टिप्न जाँदा जमिनमा भएको अन्य बाली कुल्चन पुगिँदो हो । रुखको छहारीले जमिनमा अन्न पात फस्टाउँन दिदैन होला भन्ने मेरो मनमा शंका उव्जीयो र त्यही प्रश्न गरें । हुन्न त्यस्तो त भन्ने उत्तर आयो । रुख हरियो हुँदा मात्र हैन रे रुख सुके पछि पनि त्यसको हक चेली वा चेलीका सन्तान कैं हुन्छ रे । मैले सोचे जस्तो दुविधा परेर अहिलेसम्म झगडा परेको सुनेको छैनरे ।
चेपाङ समुदायमा चिउरीलाई दुहुना गाई भैंसीको पर्यायवाचीको रुपमा हेरिने गरिँदो रहेछ । चिउरी फलवाट दुध आउँछ, वियाँवाट घिउ । गाई भैंसीले भन्दा थप उपहार चिउरीको पातबाट दुना टपरी वनाइन्छ रे । हरेक घरले १०, १५ वटा चिउरीको वोटको हुर्काएको हुन्थ्यो रे । तर अहिले यो क्रम घटेको छ ।
अरु रुखको पात झर्दा चिउरीको पात पलाउँछ । अर्थात धेरै वनस्पतीहरुको फाल्गुण देखि चैत्रसम्म सवै पात झर्ने गर्दछ । त्यो बेलामा उराठ लाग्दो वातावरण देखिन्छ तर चिउरीको भने साउन भदौमा पात झर्छ । फागुन चैत्रमा त नयाँ पालुवा आइसकेको हुन्छ । त्यसैले “चेपाङ गाउँ सदावहार हरियाली” भन्ने उक्ती नैं रहेछ । चिउरी लगाएको चेपाङ गाउँमा कहिल्यै पनि हरियाली हराउँदैन भन्ने कुरा यथार्थ रहेछ । एक वयष्क चिउरीको वोटले ६,७ क्यून्टल फल दिने गर्दछ । चिउरीको फूलको कारण मौरी पालन पनि फष्टाएको पाइन्छ ।
खोसियो चेपाङको खोरिया
परापूर्वकाल देखि चेपाङहरुले खोरिया खन्ने गर्दथ्ये त्यहाँ चिउरी लगाउँथे । जिविका चलाउँथे । उनीहरुलाई त्यो जमिन दर्ता गर्नु पर्छ भन्ने लागेन वा थाहा नैं भएन । तर आधुनिक राज्य सत्ताले खोरिया क्षेत्र लालपुर्जा नभएको राष्ट्रिय वन प्रमाणित गरिदियो । उनीहरुसँग लालपुर्जा थिएन । त्यो आवश्यक पनि परेन । खोरिया प्रयोग गरेकै थिए । अन्य जातका टाढावाढाले त्यस्ता जमिन विभिन्न तरिका अपनाएर नीजि वनाए होलान् तर चेपाङहरुलाइ त्यतातिरको मेसो भएन वा वास्ता गरेनन् । आफुले उपयोग गरेको जग्गा चेपाङवाट खोसियो । राज्यले त्यो जग्गा संरक्षण गर्ने हैसियत वा क्षमता त थिएन । अनी दियो चेपाङलाई नैं कवुलियती वनको नाममा । यस विषयमा यूवा चेपाङहरुको गुनासो रहेछ राज्यसत्तासँग ।
चेपाङ र चिउरीको परम्परागत सम्वन्ध भए पनि पछिल्लो अवस्थामा त्यसमा केही फरकपन आउन थालेको छ । यसले केही चेपाङ यूवाहरुलाई पिरोलेछ । ती यूवाहरुले “चेपाङ चिउरी यूवा क्लब” गठन गरे । चिउरीको थप प्रवद्र्धन गर्ने अनी त्यसको प्रशोधनवाट विभिन्न परिकार वनाउने सोच विकास गरिरहेका छन् । होम स्टे पनि सुरु गर्न थालेका छन् । त्यहाँ स्थानीय परिकारहरु उपलव्ध गराउने गरिएको छ । अरिंगालको परिकारसमेत पस्कने गरिएको छ । यी काममा राष्ट्रिय जनवकालत मञ्च नेपालले सहयोग तथा सहजीकरण गरिरहेको छ ।
युवा चेपाङको सक्रियता
चेपाङ चिउरी यूवा क्लबका अध्यक्ष याकुब प्रजा हुनुहुन्छ । १ वर्ष भित्रै झण्डै २ सय जनाले क्लवको सदस्य लिइसकेका छन् । उनीहरुको अगुवाईमा चिउरी शिविर समेत सञ्चालन गरिसकेछन् । राक्सीराङ गाउँपालिकाको ४ स्थानमा यो शिविर सञ्चालन गरेर चिउरी प्रवद्र्धन अभियानमा लागेका छन् । चिउरी प्रवद्र्धन दिलोज्यान लगाएर काम गरिरहेका छन् ।
राक्सीराङका अधिकांश मानिसहरु इसाई धर्मालम्वी रहेछन् । त्यहाँको छलफलमा जय मसि भन्ने शव्द हरेकको मुखवाट निस्कने गर्दछ । किन सवै इसाई भए भनी खोतल्दा, २०१५ सालतिरको कुरो सुनाउने गर्दछन् । त्यो वेलामा न्यूजिल्याण्डका नागरिक रस्कोली यो स्थानमा आएछन् । १७ वर्ष त्यही वसेछन् । उनले चेपाङ भाषामा नैं विद्यावारिधी गरे । चेपाङ भित्र रहेका विसंगतीलाई परिवर्तन गर्ने कोसिस गरेछन् । सधैं जाँड रक्सीमा लठ्ठिने चेपाङलाई त्यस लतबाट छुटाउन सित्तैमा चिया खान सिकाएछन् । उनीहरुको दुखका साथी भएछन् । उनैको प्रभावमा परेर ती विदेशीको धर्मनैं अँगालेका रहेछन् । पछिल्ला पुस्ताका अधिकांशका नाम पनि उतैको प्रभाव परेको देखिन्छ । रमिशा, एनोशा, डेनिस जस्ता नाम धेरै सुन्न पाइयो । अनौठो लाग्दो अर्को कुरा रस्कोलीले चिया खान सिकाएर जाँड रक्सीको लत हटाउने कोशिस थिए । त्यो वेलामा राम्रै प्रभाव पनि परेछ तर अहिले चिया हैन कोकाकोला, डियू र पेप्सीको लत वसेको जस्तो देखिन्छ । अनी यूवाहरु अहिले भनिरहेका छन् “कोकाकोला जस्ता वाह्य पेय पदार्थ नखाउँ यस्ले हानी गर्दछ वरु जाँड खाउँ रक्सी हैन हैं”।
परम्परा देखि नैं जहाँ चेपाङ त्यहाँ चिउरी अनी जहाँ चिउरी त्यहाँ चेपाङ भन्ने देखिन्छ तर पछिल्लो अवधीमा चिउरी विनाको चेपाङ हुने हो की भन्ने लाग्न थालेको छ । चिउरी प्रतिको आकर्षण घट्दै गएको छ । चिउरी हरियालीको लागि मात्र हुनु भएन । अनी जीविकाको लागि मात्र पनि हुनु भएन । त्यती मात्र हैन, हामी जस्ता वाहिरियालाई रमाइलो हेर्न लेख लेख्न मात्र पनि हुनु भएन । चिउरीवाट स्थानीय वासिन्दाको जीवनस्तर उकास्ने काम हुनु प¥यो । यसमा व्यवसायीकरण गर्न जरुरी छ । चिउरीको फल तथा पातहरुको प्रशोधन गर्नु आवश्यक छ । घिउ वनाउने त्यसवाट अन्य सामाग्रीहरु तयार गर्ने, आवश्यक परेमा वाइन वनाउने काम पनि गर्नु पर्दछ । कोकाकोला गाउँगाउँ विक्री हुन्छ । कसैको रोकटोक छैन । जुन स्वास्थ्यको लागि फाइदाजनक छैन त्यसको प्रवद्र्धन भएकैं छ । तर चिउरीवाट वनेको जाम, वाइन व्राण्डिङ गरेर वेच्न अनेक झन्झट सिर्जना गरिन्छ । यता तिर ध्यान दिन जरुरी हुन्छ । यसका लागि चिउरीको संरक्षण, वृक्षारोपण पनि उत्तीकै आवश्यक हुन्छ । यसैलाई भजाएर पर्यटन विकास गर्न सकिन्छ । चिउरी सहितको कृषिमा आधारित पर्यटन विकास अर्को तरिका हुनसक्छ । यसका लागि सवै निकायहरुको उत्प्रेरण सहितको सहकार्य आवश्यक हुन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *