संघ र प्रदेश निर्वाचनमा डन र धन हावी

समाचार

काठमाडौं । जुत्ता चाट्नेको अगाडि जुत्ता खियाउनेको केही जोर चल्दैन ! यस्तै देखियो यस पटकको संघीय र प्रतिनिधि सभाको निर्वाचनका लागि चयन भएका उम्मेद्धारहरु हेर्दा । घनश्याम भुसाल,भीम रावल,मिनेन्द्र रिजालहरु टिकट नपाएर रुदैं हिड्नु पर्ने तर हिजोमात्र काँग्रेस,एमाले,माओवादी बनेकाहरुले पार्टीबाट टिकट फुत्काइएको देखिएको छन् । पार्टीकै लागि जीवन र जवानी अर्पण गरेकाहरु टिकट नपाएर स्वतन्त्र उठ्नुपर्ने तर धन र डनका आडमा अनेकन काण्ड र फण्डामा डामिएकाले यस पटक टिकट पाउन सफल भएका छन् ।
यस पटक काँग्रेसबाट डलर अर्वपति विनोद चौधरीले नवलपरासी (बर्दघाट सुस्ता पश्चिम) १ बाट प्रतिनिधिसभा सदस्यको लागि उम्मेदवारी दर्ता गराएका छन् । उसो त उनी यस अघि ०६४ को संविधानसभा चुनावमा एमालेबाट समानुपातिक सभासद् बनेका थिए । एमालेबाट टिकट नपाएपछि भनौं वा ओलीको रोजाइमा नपरे पछि ०७४ मा भने कांग्रेसबाट समानुपातिक सांसद बने । यस्तै अर्काे ठेकेदार इन्द्रबहादुर बानियाल मकवानपुर क्षेत्र नम्बर २(ख) बाट लड्दै छन् । अहिलेका राज्यमन्त्री उमेश श्रेष्ठ चितवन क्षेत्र नम्बर २ बाट, मेगा बैंकका मालिक बालकृष्ण सिवाकोटी दोलखाबाट प्रतिनिधिसभामा प्रत्यक्ष लड्नका लागि टिकट पाएका छन् । अर्काे बदनाम ठेकेदार विक्रम पाण्डे फेरि पनि राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)बाट चितवन क्षेत्र नम्बर ३ बाट भिड्दै छन् । पूर्व मन्त्री किसान श्रेष्ठ तनहुँबाट बारा झरेका छन् । कान्छाराम तामाङ,सुमन विक्रम पाण्डेदेखि बैंकर झपट बोहोरा, माछापुच्छ्रे बैंकका साहुजी वीरेन्द्र प्रसाद महत्तो,ठेकेदार मोहन आचार्य चुनावमा भिड्दैछन् । यस्तै बदनाम व्यवसायी भनेर चिनिएका र अकुतमा डामिएका राजेन्द्र बजगाईँले कांग्रेसका तर्फबाट गोरखा क्षेत्र नम्बर १ बाट लड्नेमा छन् । प्रतिनिधिसभा निर्वाचनका लागि देशभरबाट २ हजार ५०२ जनाले मनोनयन दर्ता गराएकामध्ये अधिकांश भ्रष्टाचार र जघन्य अपराधमा अदालतमा मुद्दा विचाराधीन रहेका व्यक्तिहरू पनि उम्मेदवार बन्नुले हाम्रो निर्वाचन प्रणालीले संशय पैदा गरेका छ । जस्तो आठ सुरक्षाकर्मीसहित अढाई वर्षीय एक बालक हत्याको प्रमुख अभियुक्तका रूपमा जेल जीवन भोगिरहेका रेशम चौधरी नागरिक उन्मुक्ति पार्टीबाट उम्मद्धार बनेका छन् । यस अघि उनले कैलाली १ बाट चुनाव जितेका थिए । बालुवाटारको ११२ रोपनी सरकारी जग्गा हिनामिनामा डामिएर विजय गच्छदार,भ्रष्टाचार मुद्धामा डामिएका गोेविन्दराज जोशी,भ्रष्टाचार मुद्धा खेपिरहेका टेकबहादुर गुरुङ, रातो पासपोर्ट दुरुपयोग मुद्दामा विवादित बनेका एमाले नेता नारदमुनि रानाथारुले पनि कैलाली ५ बाट उम्मेद्धार बनेका छन् ।
धन भएका र विभिन्न मुद्धामा डामिएका व्यक्ति उम्मेद्धार बन्ने सिलसिलामै प्रभु ग्रुपका मालिक देवी भट्टचनले नेपाली कांग्रेस पार्टी बाट प्रत्येक्ष टिकट नपाएपछि समानुपातिकमा समेत आफू अनुकूल नम्बरमा जनजाति कोटामा सिफारिसमा नपरेपछि पार्टी फेरेका छन् । नेपाली कांग्रेस परित्याग नगरिकन रातारात नेकपा एमाले पार्टी बाट समानुपातिकमा जनजाति तर्फबाट एक नम्बरमा नाम सिफारिस गर्न सफल भएपछि अहिले भट्टचन समेत चर्चाको शिखरमा छन् । नेपालको राजनीति बिस्तारै नेताहरुको हातबाट खोसिएर डन,गुण्डादेखि बदनाम व्यापारीहरुको हातमा पुग्दैछ । यिनै व्यक्ति सांसद मन्त्री बन्ने र आफू अनुकुलको नीति नियम बनाउने हुँदा यस्तो व्यवस्था र प्रक्रिया कसरी रोक्ने ? चासो र चिन्ताको बिषय बन्न पुगेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *